बारा– प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अञ्चल र जिल्ला प्रहरी प्रमुखलाई पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्नको खोजी गर्न निर्देशन दिएका छन्।
बाराका पत्रकारले साहका हत्यारालाई तत्काल पक्राउ गन माग गरेपछि आइजिपी अर्यालले नारायणी अञ्चल प्रहरी प्रमुख सर्वेन्द्र खनाल र बारा जिल्ला प्रहरी प्रमुख ईश्वरबाबु कार्कीलाई हत्याराबारे अनुसन्धान गर्न निर्देशन दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय बारामा शनिबार आयोजित भेटघाट कार्यक्रममा पत्रकारले साहका हत्यारा खुलेआम हिँडिरहेकाले अहिले पनि त्रास कायमै रहेको जानकारी दिएका थिए। सम्पर्कबाहिर रहेको भन्दै हत्यारालाई पक्राउ गर्न प्रहरीले आनाकानी गरिरहेको पत्रकारहरूको गुनासो थियो।
२०६४ असोज १८ गते बाराको पिपरा बजारबाट अपहरण गरी पत्रकार साहको हत्या गरिएको थियो। अपहरणको एक महिनापछि बारा टाँगिया बस्तीनजिकै जंगलमा गाडिएको अवस्थामा उनको शव फेला परेको थियो।
साहको हत्यामा नेकपा माओवादीका तत्कालीन जिल्ला सेक्रेटरी लालबहादुर चौधरी तथा कुन्दन फौजदार, हरेराम पटेललगायत चारजना संलग्नता रहेको प्रहरी अनुसन्धानमा खुलेपछि मुद्दा दायर गरिएको थियो।
प्रकाशित: १५ चैत्र २०७० ०८:४३ शनिबार





