४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

‘मुम्बईमा जम्न सपनामात्रै काफी हुँदैन'

नवलपरासीको रामनगरबाट १५ वर्षअघि मुम्बई पुग्दा राम पाण्डेलाई बलिउडको कुनै मतलब थिएन। एउटा घर र एउटा मोटरसाइकलको सपना बोकेर मुम्बई पुगेका उनले त्यहाँ बाँच्नका लागि अनेक थोक गरे। संघर्षकै क्रममा एक सिरियल निर्देशकको घरमा काम गर्न पुगेका उनले ‘जस्सी जैसी कोही नही', ‘कुमकुम', ‘जाने भी दे यारा', ‘हिना' जस्ता २०–२५ सिरियलमा सहायक निर्देशक बन्ने मौका पाए। त्यसैगरी दूरदर्शनको ‘स्त्री तेरी कहानी' र जीटीभीको ‘तुम्हारी दिशा'मा केही समय स्वतन्त्र निर्देशन गरे। स्टार प्लसबाट प्रशारण हुने ‘ये रिश्ता क्या कहलाता है'का निर्देशक पाण्डे केही दिनअघि नेपाल आएका थिए। उनीसँग धनबहादुर खड्काले गरेको अन्तरंग कुराकानी 
कति वर्षपछि काठमाडौँ आइयो?
ठ्याक्कै २० वर्षपछि आएँ। स्कुल पढ्दाताका एकचोटि आएको थिएँ।
एक्कासि काठमाडौँ आउनुको कारण?
मैले काम गरिरहेको टेलिभिजन स्टार प्लसले बैंककमा एउटा शो राखेको छ। टेलिभिजनका ३० जना त्यो शोका लागि जानुपर्ने भयो। मैले निर्देशन गरिरहेको सिरियल ‘ये रिश्ता क्या कहलाता है'को केही भाग बैंककमै सुटिङ पनि गर्नुपर्नेछ। त्यसैले पासपोर्ट बनाउन नेपाल आएको हुँ।
तपाईंले भारतमा काम गर्नुभएको धेरै समय भयो। प्रतिष्ठित टेलिभिजनमा आबद्ध पनि हुनुहुन्छ। उतैको नागरिकता लिएर पासपोर्ट बनाउन पाउनुहुन्थ्यो होला नि!
मेरो टेलिभिजन र कम्पनीले पहल गरिदिन्छु पनि भनेको थियो। कर्मभूमि जहाँ भए पनि जन्माउने आमालाई भुल्न सकिँदैन। जन्माउने हुर्काउने आमा नेपा हो। आमाको गुन तिर्न सकिँदैन। असल छोराले आवश्यक परेको ठाउँमा आमाको नाम राख्न सक्नुपर्छ। यसकारण मैले आफ्नै देशको पोसपोर्ट लिने सोच बनाएँ।
पहिलो पल्ट मुम्बईको रंगिन दुनियाँमा भविष्य खोज्न पुग्नुभएको थियो वा अरू नै उद्देश्यले?
पहिलो पल्ट मुम्बई जाँदा मसँग सपना थिएन। रहर थियो, ठूलो शहर हेर्ने। त्यहाँ चार महिना घुम्दा यता एसएलसीको रिजल्ट आएर साथीहरू पढ्न थालिसकेछन्। त्यसपछि म विकल्पहीन भएर दोस्रो पटक मुम्बई पुगेँ। डायरी मेन्टेन गर्ने मेरो सानैदेखिको बानी हो। आजभन्दा करिब १५ वर्षअघि मुम्बई जाँदा मसँग एउटा सपना रहेछ, एउटा घर र मोटरसाइकल किन्न पुग्ने पैसा कमाउने। सायद यही उद्देश्य थियो।
त्यो घर र मोटरसाइकलको सपना पूरा गर्न सुरुमा कहाँ काम गर्नुभयो?
होटल लाइनमा काम गरेँ। महिनाको सात/आठ हजार पाउने गरी। किचकिचे साहू, थोरै तलब, धेरै दुःख भएपछि एक ठाउँ छाड्दै अर्काे ठाउँ जाँदै गरेको थिएँ। यही अवस्थामा एक पटक सहायक म्यानेजरको भ्याकेन्सी पछ्याउँदै हैदराबादको एउटा होटलमा पुगेँ। निकै भलादमी र वेल एजुकेटेड लाग्ने ती म्यानेजरले इन्टरभ्यू लिइसकेपछि मैले उनलाई सोधेँ, ‘कति वर्ष भयो हजुरले काम थालेको र तलब कति छ?' उनले होटल लाइनमा १३ वर्षदेखि काम गरिरहेको तलब ४५ हजार रहेको सानका साथ भने। मैले सोचेँ, होटल लाइन काम छैन। तेह्र वर्षपछि पनि जम्मा तलब ४५ हजार। इन्टरभ्यूको रिजल्ट नै नसुनी त्यहाँबाट हिँडेँ।
कसरी पुगियो यो रंगिन संसारमा?
मुम्बईमा मैले चार वर्ष उपलब्धिविहीन बिताइसकेको थिएँ। घरमै केही गर्छु भन्ने सोचेर टिकट पनि काटेँ। घर फर्किने तीन दिनअघि चिनजानका एकजना दाइले ‘एक जना सिरियल निर्देशकलाई घरमा काम गर्ने सहायक चाहिएको छ, ट्राई गरी हेर' भन्नुभयो। मैले सोचेँ, तीन वर्ष फेरि प्रयास गर्छु। मेहनत पनि कडा गर्छु। जितेन्द्रकुमार नामका ती निर्देशकले मेरो कामलाई मन पराएर सिरियल निर्देशनमा सहायक बनाए। छ महिनामा मुख्य सहायक निर्देशक भएँ। मैले एउटा बाटो भेटाएको थिएँ। मुम्बईको गति यति तेज छ कि बाटो भेटेपछि कुद्न सकिएन भने पछि परेको पर्यै। भइन्छ। मैले उनलाई छाडिदिएँ। अरू प्रतिभावान् निर्देशकको सहायक भएर काम गर्दै गएँ। काम सिकेपछि आफैँ निर्देशन गर्न थालेको हुँ।
मुम्बईको त्यो रफ्तार समात्न तपाईंको प्रतिभा या मेहनत, केले बढी काम गर्‍या छ?
दुइटैले। मेहनत पनि बुद्धि पुर्यांएर गरेमात्रै काम लाग्छ। मैले बढी मेहनत गरेको छु। सहायक निर्देशकका रूपमा बिताएका तीन वर्ष (जसलाई म जीवनकै अनमोल वर्ष भन्छु) मा मैले धेरै कुरा सिकेँ, कति चाहिने र कति चाहिँदै नचाहिने। निर्देशनका लागि आवश्यक कुरामात्र होइन, ड्राइभिङ, कलेज, अंग्रेजी कक्षा, कुकिङ र अरू पनि। हिन्दी भाषामा पर्फेक्ट हुनका लागि कोठाको भित्ताभरि मात्रै होइन, ओछ्यानमा पनि पत्रिका ओछ्याउँथेँ।
नेपालीलाई हेर्न दृष्टिकोण त्यहाँ त्यति राम्रो छैन भन्ने सुनिन्छ। सुरुमा नेपाली लवजका कारण हेपिनुपरेको थियो?
मलाई यी कुरा पहिल्यै थाहा थियो। त्यसैले सुटिङमा जानुअघि स्त्रि्कप्ट १० पटक पढ्थेँ, लवज ठ्याक्कै मिल्यो कि मिलेन भनेर अभ्यास गर्थें। त्यसैले म आफैँले नभनेसम्म कसैले मलाई नेपाली भन्ने पत्तो पाउँदैनथ्यो। मैले सुरुमै देखेको थिएँ, सहायकहरूले कलाकार र निर्देशकपछि मात्रै चिया पिउन पाउने र कुर्सीमा बसेको भए पनि उठ्नुपर्ने। त्यसकारण मैले निर्देशक नबनुञ्जेल कुर्सीमा नबस्ने र चिया नखाने निर्णय नै गरेँ। यो लाइनमा लागेको तीन वर्ष कुर्सीमा बसिनँ र सुटिङमा चिया खाइनँ।
मुम्बईलाई सपनाको शहर भन्छन्। धेरै नेपाली कलाकार बलिउडमा जम्ने सपना पनि देख्छन् तर अधिकांशको सपना खेर जान्छ। किन हो?
तपाईं सपना देख्नुहोस्, मुम्बई पूरा गर्छ। परिस्थितिलाई क्यास गर्न सक्ने हो भने सबैभन्दा बाँच्न सजिलो शहर पनि मुम्बई हो। तर, हामी योजनाविहीन सपना देख्छौँ। सदा चमत्कारको मात्रै आशा गर्छाैं। धेरै नेपाली कलाकार आउनुहुन्छ, कतिसँग म पनि भेट्छु। तर, हाम्रो आधारभूत समस्या भनेकै हिन्दी भाषाको स्पष्ट उच्चारण गर्न नजान्नु हो, त्यसपछि लुक्स। यी कमजोरीलाई सुधार्न नलागेर काम चलाउन खोज्दा सपना पूरा हुँदैन। मुम्बईमा जम्न सपनामात्रै काफी हुँदैन।
टेक्निकल फिल्डमा त धेरै नेपाली छन् है?
हुनुहुन्छ। मेरो तीन सय जनाको युनिटमा मसहित पाँच जना नेपाली महŒवपूर्ण भूमिकामा छौँ। फिल्म ‘रावण'को एडिट नेपालीले गरेका हुन्। क्यामरामा पनि राम्रो गरिरहेका नेपाली छन्।
बलिउडका ठूला कलाकारसँग तपाईंको कत्तिको उठबस छ?
कार्यक्रम र सुटिङमा भेटघाट हुन्छ। तर, त्यस्तो उठबस छैन। बलिउड ठूलो भीड हो। हामी सबै आफ्नै भीडमा हराइरहेका छौँ। ‘अप्वाइन्टमेन्ट'मा चल्ने ती जिन्दगीहरूमा तपाईंले भनेजस्तो उठबस सम्भव पनि छैन।
टेलिभिजनकर्मीलाई फिल्मकर्मीले हेर्ने व्यवहार कस्तो हुन्छ?
पहिलेको भन्दा अहिले निकै राम्रो छ। फिल्मको प्रमोसनका लागि टेलिभिजन शोको सहारा लिनुपर्ने भएकाले पनि टेलिभिजनकर्मीलाई मान्छन्। टेलिसिरियलका कलाकार/निर्देशकले फिल्ममा पनि कमाल देखाउन थालेका छन्। यसले गर्दा अहिले हेयभावले हेर्दैनन्।
तपाईंको यो सिरियल १५ सय भाग पुगिसक्यो। अझै कति लम्ब्याउने?
दर्शकले हेरुञ्जेल लम्बिन्छ। किनभने, स्टार प्लसको टीआरपीमा अहिले पनि अग्रस्थानमा रहिरहेकाले अझै धेरै लम्बिने सम्भावना छ। मैले राम्रा अफर छाड्नुको कारण पनि योभन्दा लोकप्रिय सिरियल पाउन मुस्किल हुन्छ भनेर हो। यहाँको इतिहासमा १८ सय भागको सिरियलको रेकर्ड छ। म कम्तीमा दुई हजार भाग पुर्या एर त्यो रेकर्ड तोड्न चाहन्छु। कमसे कम सबैभन्दा धेरै भाग देखाइएको सिरियलको निर्देशक नेपाली हो भन्ने त होस्।
तपाईं यसरी बाहिर हिँड्दा निर्देशनको जिम्मा कसले सम्हाल्छ?
मेरा छ जना असिस्टेन्ट छन्। यतिबेला अरू तीन जना निर्देशक बाहिरबाट हायर गरिएका छन्।
सिरियलमा त्यस्तो भव्यता देखिन्छ। सुटिङ सेट कति महँगो छ?
फिल्मसिटीमा दुई करोड भारतीय रुपैयाँमा बनेको यसको सेट छ।
फिल्म निर्देशनतिर पनि लाग्ने सोच छैन?
अफरहरू आइरहेका छन्। दुइटा स्क्रिप्ट नेपाल बसाइमा पढ्नका लागि बोेकेरै ल्याएको छु। तर, हिन्दी फिल्म निर्देशन गर्नुअघि दुइटा जति डेली शो भएका नेपाली टेलिसिरियल र फिल्म निर्देशन गर्ने सोच छ।
टेलिसिरियलको कन्सेप्ट पनि छ कि?
नकारात्मक कुरा नभएको पारिवारिक ड्रामाको कन्सेप्ट पनि बनाएको छु।
नेपाली फिल्म निर्देशन गर्ने तत्काल अफर आयो भने गर्न भ्याउनुहुन्छ त?
अस्ति भर्खर पनि स्त्रि्कप्ट लिएर एक जना मुम्बई पुग्नुभएको थियो। तर, समय अभावका कारण सकिएन। उताको सेड्युल मिलाएर गर्न सकिन्छ कि भने ट्राई गरिरहेको छु।
आर्थिक उपलब्धि पनि राम्रै हासिल भइरहेको होला?
दुइटा फ्ल्याट किनेको छु। गाडी छ। राम्रोसँग बाँचेको छु।

प्रकाशित: १५ चैत्र २०७० ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App