७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

लहैलहैमा उठाएको ब्याटले सन्तुष्टि

नेपाली राष्ट्रिय क्रिकेट टोलीले बंगलादेशमा ट्वान्टी–२० विश्वकप खेलिरहँदा काठमाडौंमा पूर्व कप्तान विनोद दासमा जति उत्साह थियो। त्यतिनै उनले चित्तागोङको मैदान ‘मिस' गरिरहेका थिए।लगातार एक दशकसम्म राष्ट्रिय टोलीको अभिन्न हिस्सा बनेर पछिल्लो समय नेतृत्व लिएका विनोद क्रिकेटले ऐतिहासिक उपलब्धी हासिल गरेको क्षण गुमाउदा चुकचुकाउनु बाहेक अर्को विकल्प थिएन्। तर विनोद त्यही खेलाडी हुन्, जोसँग नेपालले उमेर समूहमा माथिल्लो स्त्तरमा हात पारेको सफलताको अनुभव छ। यही सफलताले नेपाललाई विश्व क्रिकेटको बाटो देखाएको थियो। 
विनोद दास भन्ने बित्तिकै धेरैले क्रिकेट सम्झन्छन्। साँच्चिकै उनी छोटो समयमै क्रिकेट खेलेरै चर्चित बनेका हुन्। जतिबेला उनी सिद्धिविनायक बोर्डिङ स्कुल कलैया स्कुल पढ्थे। सिनियर क्लासका दाइहरु क्रिकेट खेलेको देखेरै उनी खेल देखेपछि आकर्षित भएको बताउँछन्। 
बाराको कलैया जन्मेका उनी क्रिकेट थालेको एक वर्षपछि नै यू–१९ मा खेल्न शुरु गरे। उनी भन्छन्, ‘१२ वर्षको छँदै म क्रिकेट सिकेको हुँ। ५ कक्षामा हुँदा मलाई सिनियर दाइहरु क्रिकेट खेलाउन लैजान्थे।' विस्तारै क्रिकेटप्रतिको मोह बढ्दै गयो। फुर्सदको समय पाउँदा साथ साथीहरु जम्मा पारेर ब्याटिङ गर्न थाल्थे। लहैलहैमा क्रिकेट क्लव पनि बनाए। ‘भिनिक्स क्रिकेट क्लव' बनाएर क्रिकेटको संस्थागत शुरुवात पनि गरेको उनी बिर्सेका छैनन्। संगठित कलैया क्रिकेट क्लव पनि थियो। 
दासलाई जुनियर भएर धेरै समय खेल्नु परेन्। क्रिकेट ब्याट समाएको एकदशक पुग्दा नपुग्दै उनी राष्ट्रिय टिमको कप्तान बनिसकेका थिए। सन् १९९७ मा पहिलो पटक यू–१९ बाट अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेका विनोद त्यसको दुई वर्षपछि नेपाली यू–१९ टिमकै कप्तान बने। राष्ट्रिय टिममा पर्दा उनले एसएलसी पनि दिएका थिएनन्। एसएलसी पास भएपछि कलैया राजाराम कलेजमा आइकम भर्ना भए। लगातार क्रिकेटका कारण दुई वर्ष पढाइमा थप ध्यान दिन सकेनन्। 
ब्याचलर पढ्न उनी काठमाडौं आए। ह्वाइट हाउसमा कलेजमा भर्ना भए। पढाई र खेल सँगै लैजान भने गाह्रो परेको थियो। लगातार क्रिकेट प्रतियोगिता भएकोले चार सेमेस्टर परीक्षा दिन सकेनन्। बिबिए भर्ना भएका उनी फेरि बिएलएएस तिर लागे। स्नातक तह सकिसकेका उनी एमबिए गर्ने सोचमा रहेका छन्। सञ्चार माध्यममा छाउन थालेपछि सबैले चिन्न थाल्दा विनोदलाई यसले निकै सन्तृष्टि प्रदान गर्योस।
२००५ देखि ४ वर्ष राष्ट्रिय टोलीका कप्तान बने। सबै समय क्रिकेटमा बिताएका उनी दुई वर्षदेखि खेल्न सकेका छैनन्। युएइमा एसिसी ट्रफी एलिट खेलमा विनोदको घुँडामा चोट लागेको थियो। 
उनको खेलप्रतिको रुचिमा घरपरिवारले सघाएको बताउँछन्। उनले भने, ‘घरबाट कहिल्यै अस्विकृत चाँहि भएन। नखेल कहिल्यै भन्नुभएन। कलैया जस्तो सानो ठाउँबाट आउनु नै मेरा लागि ठूलो थियो।' उनीसँगैका साथी कोही फुटबल खेल्थे, कोही घरमै बस्थे। उनी भने दैनिक ३,४ घण्टा निरन्तर क्रिकेट अभ्यासमा रहन्थे। 
सुरुमै यू–१९ बाट खेल्नुलाई जीवनको अविस्मरणीय क्षण मान्छन्। नेपालले पाकिस्तान, बंगालादेश जस्ता देशलाई पहिलो पटक हराउदा विनोद नै कप्तान थिए। अहिले बंगलादेशमा विश्वकप क्रिकेटमा आफू खेल्न नसकेपनि उनी यसलाई ठूलो उपलब्धि मान्छन्। ‘पाकिस्तानको टिमलाई हरायौं। यो सबैभन्दा ठूलो उपलब्धि हो। हामीले क्रिकेटमा गरेको मेहनत संसारलाई देखाउन पायौं। अझै अगाडि बढ्नु छ।'
अबका दिन कसरी बित्छन्? भन्छन्, ‘हेरौं, क्रिकेटमा जीवन छ। म क्रिकेटबाट टाढा हुन सक्दिन। भोलि पनि म क्रिकेटमै रहन्छु। क्रिकेटबाट टाढा हुन अब गाह्रो छ।'

प्रकाशित: १४ चैत्र २०७० २२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App