पात्ले गाउँमा ९० घर छन्। ८५ घर गुरुङका। बाँकी गिरीका। गाउँमा चैत १८ देखि २६ गतेसम्म पात्ले महोत्सव हुँदैछ। त्यही मेसोमा प्राविधिक शिक्षालय स्थापना गर्न यज्ञ गरिँदैछ।
गाउँलेले पात्ले भञ्ज्याङको बौद्ध गुम्बा र सल्ला रूख आकर्षक बनाएका छन्। रूख रंगाइएको छ भने गुम्बादेखि लामागुरु हुँदै टोड्केचुली पुग्ने बाटोमा सिँढी बनाइएको छ।
पात्ले प्लास्टिक निषेधित गाउँ। घर आँगन सफा छन्। गाउँ प्रवेश गर्न सात सय मिटर गोरेटो र ढुंगा बिछ्याएर सिँढी बनाइएको छ। ढुंगाले छाइएको घरमा रातो माटो पोतिएको छ। पाहुनालाई हाँसेर स्वागत् गर्छन गाउँले।
पात्लेमा ०६५ सालदेखि होमस्टे सुरु गरियो। त्यहाँ पुग्न मोटरमा एक घन्टा लाग्छ। धादिङबेसीबाट हिँडेर जाने हो भने साढे दुई घन्टा लाग्छ। गल्छी हुँदै केउरिनी पुगेर पाँच घन्टा पदयात्रा गरे पनि हुन्छ।
धादिङबेसीबाट जाँदा अरुण खोला किनारै किनार पानीको कलकल आवाज र पाइलैपिच्छे छाँगाबाट छङछङ बग्ने संगीतमय फोहराले बाटो काटेको पत्तै पाइन्न। पानीघट्ट, चरा, वनजंगल र फूलले यात्रा अविस्मरणीय बन्छ।
गाउँका सात तले चमेरे गुफा, लामागुरु गुम्बा, टोड्के चुली र तुप्चेडाँडा प्रख्यात छन्। त्यस्तै २२ मिटर लम्बाइको चमेरे ओडार, ऐतिहासिक पैसा तथा हतियार पाइने नारनडाँडा, शंखादेवी मन्दिर, बौद्ध गुम्बा, रघुनाथ चुली, लिफ्टिङ प्रोजेक्ट पर्यटकीय आकर्षण हुन्।
गुफामा पर्यटक बढ्दै गएपछि होमस्टे परिकल्पना गरिएको। होमस्टे दर्ता प्रक्रियामा छ। ६ घरमा यो सुविधा छ। प्रत्येक घरमा ६ जना बस्न मिल्छ।
खाल्टे–७ मा नाकढुंगा गुफा छ। होमस्टेबाट एक घन्टामा त्यहाँ पुगिन्छ। गुफाका प्रत्येक तलामा शिव पार्वतीका मूर्ति, देवदेवी र मादल तथा बाजाका आकृति छन्। सबै तला घुम्न दुई घन्टा लाग्छ।
गुफाको भित्तामा चमेरा झुन्डिएका देखिन्छन्। गुफा प्रवेश गर्न साहसिक मुटु चाहिन्छ। एकैपटक ५/७ जनाभन्दा बढी जाँदा अक्सिजन कम हुन्छ। टर्च लाइट बोक्नुपर्छ।
मध्य भागमा पुगेपछि चढ्ने ठाउँ साँघुरो र चिप्लो छ। सावधानीपूर्वक हिँड्नुपर्छ। गुफा प्रवेश गर्ने कपडा छुट्टै भए राम्रो।
गुम्बा पुग्न पनि एक घन्टा लाग्छ। त्यहाँ लामागुरु पद्मसंभवको चित्र छ। ढुंगामा भोटे भाषामा मन्त्र लेखिएको छ। नजिकै झुमाले नुहाउने कुमारी धारा।
पात्लेको अर्को रमणीय ठाउँ टोड्के चुली। गुम्बाबाट लामागुरुदेखि एक घन्टामा टोड्के चुली। टोड्के आफैंमा खाल्टे भ्युटावर हो। त्यहाँबाट गणेश, मनास्लु, लाङटाङ, माछापुच्छे्र, निलगिरी, धौलागिरी, अन्नपूर्णलगायत हिमशृंखला देखिन्छ। गाउँबाट दुई घन्टा लाग्छ त्यहाँ पुग्न। त्यहाँबाट सूर्योदय देखिन्छ।
बस्तीमा गुरुङ समुदायको कौरा, चुड्का, मारुनी, सोरठी, घाटुनाच हेर्ने सुविधा छ। देउराली गाउँमा मगरको घाटु, फ्याक्सेमा नेवारको टाकटुके र लाखे, काउलेमा तामाङको घोडचढी, पतेनिमा बाहुनको भजन र डाँडागाउँमा बाहुनबाजा छ।
गाउँको शंखादेवी माविमा प्राविधिक शिक्षालय बनाउने उद्देश्यले महोत्सव र महायज्ञ गर्न लागिएको हो। २०१७ सालमा खुलेको विद्यालय ०६८ मा मावि बन्यो। विद्यालयका १८ शिक्षकमा ३ प्रावि शिक्षकमात्र सरकारी दरबन्दीका। बाँकी १५ जनालाई निजी स्रोतमा वार्षिक १८ लाख तलब अभिभावकले सोधभर्ना गर्नुपर्ने प्रधानाध्यापक नेमबहादुर गुरुङले बताए।
त्यहाँ सेमिनार हलसहित रोधी घर निर्माण सुरु भएको छ। दिउँसो हलमा कार्यक्रम, साँझ होमस्टेमा बास। होमस्टे सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर गुरुङका अनुसार त्यहीँ सूचना केन्द्र खोलिनेछ।
अरूबेला पनि पात्लेमा सांस्कृतिक कार्यक्रम हेर्न पाइन्छ। तर, पात्ले महोत्सव राम्रो अवसर हो। फर्कंदा गाउँबाट कोसेली भाँग्रो, गलबन्दी जस्ता हातबुना सामग्री र मौसमअनुसार तरकारी, उखु र सख्खर ल्याउन सकिन्छ।
कसरी पुग्ने
काठमाडौंबाट धादिङबेसीसम्म ८५ किलोमिटर कालोपत्रे र धादिङबेसीदेखि पात्लेसम्म साढे ९ किलोमिटर ग्राभेल सडक। काठमाडौं–धादिङ बससेवाबाट धादिङबेसी पुगेपछि खाल्टे रुटमा चल्ने बस, ट्रक, जीप चढ्ने। पृथ्वी राजमार्गको गल्छीबाट डुमि्रचौर, कल्लेरी, पोखरीगाउँ सुनौला बजार हुँदै पनि पात्ले पुग्न सकिन्छ।
होमस्टे प्याकेज
नेपालीका लागि एक राते प्याकेज मूल्य १,३३५ रुपैयाँ। प्याकेजमा स्वागत, बिदाई, सुकुटी वा साँधेको गुन्द्रुक, भटमाससँग कोदोको रक्सी, लोकल कुखुराको मासुसहित बेलुका र बिहानको खाना एवं बास सुविधा हुन्छ। भरिया र सांस्कृतिक कार्यक्रमको थप शुल्क तिर्नुपर्छ।
प्रकाशित: १४ चैत्र २०७० २१:२३ शुक्रबार





