५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

धार्मिक सहिष्णुताको पाठशाला

सहिष्णु छन् नेपाली। जहाँ मन्दिर, त्यहाँ चैत्य। शिवसँगै पद्मसंभव। मिलेर बसेका हिन्दु र बौद्धमार्गी। हलेसी त झन् त्रिधार्मिक संगम। जसले हिन्दु, बौद्धमार्गी र किरातीलाई एउटै सूत्रमा बाँधेको छ।

हिन्दुका भगवान शिव, बौद्धमार्गीका गुरु पद्मसंभव र किराती पुर्खा रैछाकुलेसँग जोडिएको हलेसी। महादेवस्थान–४ खोटाङको भूमि। धार्मिक सहिष्णुताको नमुना पाठशाला। मनोकामना पूरा हुने विश्वासमा बर्सेनि हजारौं तीर्थालु त्यहाँ पुग्छन्। पूजापाठ गर्छन्। ध्यानमा बस्छन्। 
भौगोलिक विकटताले केही वर्षअघिसम्म सजिलो थिएन हलेसी यात्रा। अचेल काठमाडौंबाट हलेसीसम्मै गाडी चल्छन्। बनेपा–बर्दिबास सडकको खुर्कोट खण्डबाट मध्यपहाडी लोकमार्ग छिचोलेर घुर्मी हुँदै। 
हामी पनि ०७० फागुन २० गते त्यो पुण्यभूमि पुग्यौं। 
...
पूर्वका पशुपतिनाथ हलेसीबारे सानैमा सुनेको थिएँ। धेरै पछि थाहा पाइयो, हलेसी त्रिधार्मिक केन्द्र पो रहेछ। साथीहरू रञ्जन राजभण्डारी, गोपाल श्रेष्ठ र म हलेसी बसपार्क पुग्यौं। काठमाडौंबाट जीप चढेर त्यहाँ पुग्न १० घन्टा लाग्यो। 
दुरीका हिसाबले काठमाडौंदेखि पोखराभन्दा अलिकति मात्रै बढी रहेछ हलेसी। काठमाडौं–हलेसी २१६ किमि। चाबहिलबाट बिहान ५ बजे छुटेको टाटा सुमोले हामीलाई हलेसीमा ओराल्दा दिउँसो ३ बजेको थियो। 
बाटो कतैकतै कच्ची छ। पक्की बनेपछि ७–८ घन्टामा पुग्न सकिएला! काम हुँदैछ। योजनाअनुसार सडक पक्की हुने समय तीन वर्ष। त्यसपछि हलेसीमा तीर्थालुको भीड थेगिनसक्नु हुन्छ। 
हामी गुफा हेर्न हतारियौं। बसपार्क बजार छिचोल्यौं। घोडेटो दायाँ–बायाँ स–साना गेष्टहाउस। पसलबाहिर नाङ्लामा खुर्सानी र बदाम। हलेसीको कोसेली। सरासर गुफातर्फ मोडियौं। गुफा प्रवेशद्वारमा गणेश मन्दिर र मारातिका गुम्बा। छेउमा धुपबत्ती बेच्ने पसलहरू। 
पुजारी खलकका गोपाल गिरीले हामीलाई गुफा घुमाए। हलेसीको क्षेत्रफल २६ रोपनी। हलेसी क्षेत्रमा मुख्य दुई ठूला गुफा छन्। हलेश्वर र बसाहा नाउँका। हामी पहिला हलेश्वर छिर्यौं। चट्टाने पहरामा अजंगको गुफा। सिँढीबाट ओर्लेर जानुपर्ने। गुफाको एक छेउमा बौद्धमार्गी पूजापाठ गरिरहेका। अर्को छेउमा हिन्दु। 
जुत्ता फुकालेर भित्र पस्यौं। गिरीले हामीलाई हलेश्वर महादेव मूर्ति चिनाए। चुन ढुंगाले बनेको शिवलिंग। हामीसँग फूल–अक्षता केही थिएन। हात जोड्यौं। भगवानलाई मनफूल चढायौं। 
त्यहाँ थुपै्र प्राकृतिक मूर्ति छन्। गणेश, कुमार र पार्वतीका। अग्ला मूर्ति द्वारपालका। एउटा सानो र ठूलो मूर्ति देखाउँदै गिरीले भने, ‘छोरा नहुनेहरू यहाँ ढोग्छन्।' सन्तानेश्वर भन्ने थाहा पाउनेबित्तिकै रञ्जन दाइले ढुंगामा ढोगे। ‘लौ तपाईंले छोरै पाउनुहुन्छ,' गोपाल दाइ र मैले जिस्कायौं। 
छोरा पाएपछि हलेश्वर आउनेको संख्या ठूलो भएको गिरीले सुनाए। हलेसी दर्शनले दुःखबाट मुक्ति मिल्ने, पदोन्नति हुने, खडेरीबाट बचिने, सन्तान लाभ हुने र निरोगी हुने जनविश्वास छ।
गुफामा हामीले चमेराका आवाज सुन्यौं। शान्त गुफा। बाहिरिन मन मानेन। फोटा खिचिरहेको थिएँ। कसैले कोट्यायो, ‘हाम्रो पनि खिचिदिनूस् न।'
यसो फर्केको त वासुदेव कार्की रहेछन्। हामी आएकै जीपका यात्रु। सिन्धुलीको बितिजोर गाविस, हर्कपुरका बासिन्दा। काठमाडौंका साना व्यापारी। उनको समूहमा ५ जना थिए। सबैका तस्बिर खिचिदिएँ। 
उनीहरू प्राकृतिक पशुपतिनाथ हेर्न आएका। ‘यसरी मोटरमा आउन पाइएला जस्तो लागेकै थिएन,' कार्की फुरुंग बने, ‘बाउबाजेलाई हलेसी दर्शन गरेर फर्कन ६ दिन लाग्थ्यो।' 
त्यहाँ विदेशी पनि भेटिए। ताइवानी नागरिक। बौद्धमार्गी। उनीहरू धर्मद्वार, जन्मद्वार र पापद्वार पस्न थाले। धर्मात्मामात्रै छिर्छन् रे। गोपाल दाइ सजिलै छिरे। हामीले प्रयासै गरेनौं। जतिले प्रयास गरे कोही अड्केनन्। सबै धर्मात्मा! जिउको ‘एंगल' मिलाए मोटा हुन् या दुब्ला, सजिलै छिर्छन्। 
गुफामा सिँढी चढेपछि पार्वतीको मूर्ति भएनेर पुगिन्छ। महादेवभन्दा पार्वती मोटी! पार्वतीलाई बौद्धमार्गी आयु कलश मान्छन् भने हलेश्वर महादेवलाई धर्मपाला (गुफारक्षक) का रूपमा पुज्छन्। मूर्ति तिनै हुन् तर धर्मपिच्छे फरक नाउँ। 
हामी हलेश्वर गुफाबाट बाहिरियौं। त्यसको सय मिटर पश्चिममा बसाहा गुफा छ। हलेश्वरभन्दा लामो र विशाल। मुखमै बसाहा। भित्तामा फुक्दा शंखध्वनि निक्लिन्छ। आमासँग बत्तीको व्यापारमा बसेकी शुष्मा परियारले ढुंगामा फुकिन्, दुरुस्तै शंखको आवाज निक्लियो। 
भित्ताभरि थरीथरीका आकृति। गुरु पद्मसंभव र शिवसँग सम्बन्धित। गाइका थुन। कमलको फूल, गणेश, कुमार आदि। करिब दुई सय मिटरभित्र पुगेपछि माथि खुला आकाश देखिन्छ। त्यहाँ माथिबाट डोरीमा तल झर्ने र्या प्लिङ खेल्न मिल्छ। 
हलेश्वरमा निःशुल्क प्रवेश पाइन्छ। बसाहामा १० रुपैयाँको टिकट काट्नुपर्छ। दुवै गुफा भएको पर्वतलाई बौद्धमार्गी अवलोकितेश्वर पर्वत मान्छन्। बसाहा अघिल्तिरको बज्रपाणी र उत्तरपट्टिको मञ्जुश्री पर्वत। ती डाँडा बौद्ध मन्त्रसहितका ध्वजापताकाले झिलिमिली छन्। 
गुफामा शिवरात्रि, रामनवमी, बालाचतुर्दशी, तीज, उभौली र उधौलीमा मेला लाग्छ। 
हामी गुफा घुमेर बासको खोजीमा लाग्यौं। हलेसीमा पानीको दुःख छ। काठमाडौंमा संस्कृति पढाउने प्राध्यापक हरि श्रेष्ठले रोयल होटलमा बस्नु भनेका थिए। हलेसीकै ठूलो होटल रोयल प्याक भइसकेछ। हामी सौरभ गिरीको डुङदेलो रिसोर्टमा बस्यौं। शौचालय जडित कोठाको १२ सय रुपैयाँ तिरेर।
मध्यम खालका होटल/लज छन्। हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष कुलदीप गिरीका अनुसार ५ सयजना एकैपटक रात बिताउन सक्छन्। होटल रोयल, डुङदेलो रिसोर्ट, शिवदर्शन गेष्ट हाउस, अनिता होटल, जगत होटल, हरि राई होटल, बस्नेत होटल आदिमा। केही धर्मशाला पनि छन्। 
हलेसीको ख्याति बढ्दो छ। तीर्थालु बढ्दै जाँदा होटल/रेस्टुँराजस्ता पूर्वाधार थपिँदै जान्छन्। हलेश्वर महादेवको कथा रोचक छ। उहिल्यै बृकासुर (भस्मासुर) राक्षसले कठोर तपस्या गर्योन। बृकासुरले ‘मैले जसको टाउकामा हात राख्छु त्यो भस्म होस्' भन्ने वरदान माग्यो। महादेवले तथास्तु भनिदिए। 
बरदान पाएपछि बृकासुरले महादेवलाई नै भस्म गर्न खोज्यो। महादेव भाग्दैभाग्दै हलेसी आइपुगे। गुफामा लुके। बसाहा गुफाको मुखमा भगवान विष्णु पार्वतीको रूप धारण गरी बसे। राक्षसलाई पार्वतीले भनिन्, ‘महादेवलाई मैले त्यागिदिएँ, अब तिमीसँग बिहे गर्छु।'
बृकासुर मख्ख पर्यो । उनले गाँजा र भाङ दिइन्। गाँजा र खुसीले मातेपछि दुवै नाच्न थाले। पार्वतीले भनिन्, ‘म नाच्दा जे जे गर्छु, तिमी पनि त्यसै गर्नू।' उनी आफ्नो खुट्टाबाट माथि–माथि छुँदै नाचिन्। र, टाउकामा हात राखिन्। बृकासुरले त्यसै गर्योि। जब उसले टाउकोमा हात राख्यो, आफैं भस्म भयो।
त्यति बेलैदेखि गुफामा महादेवको बास भएको मान्यता छ। 
किराती हलेसीलाई पितृका रूपमा पुज्छन्। हलेसी जाँदा मोबाइलमा एकपछि अर्को म्यासेज आइरहेको थियो। कृषिविज्ञ मदन राईले हिन्दु, बुद्ध र किरातीका जानकारहरूको नम्बर पठाए। प्रत्यक्ष भेट भइनसकेका र फेसबुकले जुराएका मित्र मदन दाइलाई धन्यवाद। 
किरातीको कथा बुझ्न हामी पत्रकार टिवन राईको स्टेशनरी पसल पुग्यौं। टिवनका अनुसार किरातीका आदि पुर्खा रैछाकुले हलेसी गुफामा बसेका थिए। रैछाकुलेका विभिन्न नाम छन्, खोक्चिलीपा, हेत्छाकुप्पा आदि। गुफा आउनुअघि उनी तुवाचुङ डाँडामा बस्थे। हलेसीबाट उत्तरपूर्व दिक्तेल जाने दिशामा दुई घन्टा हिँडाइमा तुवाचुङ पुगिन्छ। 
रैछाकुलेका दुई दिदी थिए तयामा र खियामा। एक दिन गिठा भ्यागुर खाएपछि रैछाकुले मात्यो। उठ्दै उठेन। दिदीहरूले सम्झे, भाइ मर्यो।। उनीहरू विरक्तिए। तयामा तराई लागिन् भने खियामा हिमालतिर। 
जब रैछाकुले ब्युँझिए। दिदी नदेख्दा विरक्तिए । ओरालो झरे। हलेसी गुफा आइपुगे। त्यहीँ बस्न थाले। ठूलो भएपछि उनले दिदीको खोजी गरे। एउटा भाले कुखुरालाई लेकमा पठाए। बाहिरबाट फर्केर दिदीबहिनी तुवाचुङमा कपास खेती गरी बसेछन्। कपडा बुन्न थालेछन्।
भालेसँगै उनीहरू गुफा आए। माइती र चेलीको पुनर्मिलन भयो। त्यो खुसीयालीमा उनीहरूले मुन्धुम गाउँदै ढोल झ्याम्टा बजाएर साकेला सिली नाचे। त्यही समयदेखि साकेला नाच्न सुरु भएको मानिन्छ। उभौली र उधौलीमा ओखलढुंगा, सोलु, भोजपुर, उदयपुर र खोटाङका किराती हलेसीमा नाच्छन्। 
बिहान खाना खाईवरी हामी तुवाचुङ लाग्यौं। घमाइलो दिन। परपर हिमाल देखिए। डाँडामा तानढुंगा। तयामा र खियामाले कपडा बुनेको ढुंगा। रमाइलो डाँडा। 
हलेसी प्रतिष्ठानले गुफा नजिकै किरात संग्रहालय बनाउँदैछ। संग्रहालयअगाडि किराती राजा यलम्बरको मूर्ति राख्ने योजना सुनाए टिवनले। खुशी लाग्यो। 
टिवन हलेसी गाइड बुक लेख्दैछन्। त्यसले यात्रुलाई सजिलो बनाउनेछ। हलेसी तीर्थबारे जानकारी दिने सूचना केन्द्र बनाउन पनि ढिलाइ गर्नु हुँदैन। गुफा आइपुग्नेलाई तुवाचुङ उकाल्न सके दुई रात सजिलै हलेसी क्षेत्रमा बिताउँछन्। सामान्यतः हिन्दु हलेसीमा एक रात बसेर फर्कन्छन्। ध्यानमा बस्नेहरू धेरै समय बिताउँछन्। 
...
त्रिधार्मिक संगम भएकाले हलेसीको महŒव बढी छ। धर्मावलम्बी मिलेर बसेका छन्। ‘हामी मिलेर आएका छौं,' मारातिका गुम्बाका प्रमुख खेन्पो कर्म वाङचुक शेर्पा भन्छन् ‘हामीबीच विवाद छैन। आ–आफ्नै ढंगले पूजापाठ गर्छौं।'
हलेसी तीर्थ परम्परा सत्य युगदेखि सुरु भएको राधेश्याम भट्टराईको तीर्थ काव्य ‘हलेसी'मा उल्लेख छ। सत्य युगमा विष्णुले हलेसी दर्शन गरेका थिए। हिन्दु, बौद्धमार्गी र किरात गुरु हलेसी घुमिसकेका छन्। 
किराती राजा शङखो हाङ, लेलिम हाङ, खाम्सो हाङ, बौद्ध गुरु पद्मसंभव, भुटानी राजा जिग्मे सिङे वाङचुक र हिन्दुका शंकराचार्य जयेन्द्र सरस्वती, स्वामी रामानन्द गिरी, मिर्चैया बाबालगायतले हलेसी दर्शन गरेका थिए। 
साँच्चै हलेसीले मन चोर्छ। म फेरि त्यहाँ जानेछु, परिवारका साथमा। 

यातायात
काठमाडौंदेखि बनेपा–बर्दिबास सडकको खुर्कोट खण्डबाट मध्य पहाडी लोकमार्ग हुँदै घुर्मीबाट हलेसी पुग्न २१६ किमि। काठमाडौंको चाबहिल र कोटेश्वरबाट जीप छुट्छन्। जीपमा १० घन्टा। 
खर्च
६ हजार रुपैयाँ। यति रकमले काठमाडौं–हलेसी–काठमाडौं जीप भाडा तिर्न, दुई रात हलेसीमा बस्न, बिहान, दिउँसो र बेलुका खाना खान पुग्छ। कोसेलीलाई थप रकम चाहिन्छ। 
के–के लैजाने 
टिसर्ट, हाफ पाइन्ट, स्पोर्टस् शु, पातलो ज्याकेट, टावल, चप्पल, ट्र्याक सुट, सनक्रिम, क्याप, कालो चस्मा, क्यामेरा, टर्च लाइट, दूरबीन, पानी बोतल जीवनजल, चकलेट आदि। 
कोसेली
हलेसी बजारमा मस्याङ, भट्मास, खुर्सानी, बदाम, गुन्द्रुक, मास किन्न पाइन्छ। सुन्तला, नासपाती, कागती र निबुवा पाइन्छ। महादेव, पद्मसंभव र रैछाकुले झल्काउने कला आवश्यक छ।

प्रकाशित: १४ चैत्र २०७० २१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App