ल्यान्डस्केप तथा पोट्रेट चित्र बनाउने बान्तवाले ६ वर्षयता क्यानभासमा घोडा कुदाउन थालेका हुन्। स्विडेनबाट नेपाल घुम्न आएकी क्रिस्टिनाले घोडाका आकृतिहरु हेर्दै भनिन्, ‘मलाई यो चित्र मन पर्यो। उनी धेरै पीडामा भएजस्ता देखिन्छिन्। उनले फ्रिडम खोजिरहेकी छिन्।' क्यानभासमा पोतिएका गाढा रङले आकर्षित भएको उनले बताइन्। भनिन्, ‘तर, मेरो देशमा महिलाको अवस्था चित्रमा देखाइएजस्ता छैनन्।'
घोडा बनाइरहँदा आफूलाई सन्तुष्ट महसुस गर्छन् सञ्जय। ‘हिनहिनाइरहेका घोडा बनाउँदा म आफै उडिरहेको, कुदिरहेको भान हुन्छ,' उनले भने। सञ्जयले एक्रेलिक माध्यममा गाढा रङलाई प्राथमिकता दिएका छन्।
क्यानभासले संघर्ष र सौन्दर्यको मिलनमा सृष्टिको शास्वत खोजको प्रयत्न गरेको कला समीक्षक तीर्थ निरौलाले बताउँछन्। सञ्जयको जीवनका भाका उकुसमुकुस हुँदै क्याभासमा सशक्त पोखिएको उनको टिप्पणी छ। कडा र उज्याला रङले चित्रमा सुन्दरता थपेको उनी बुझाउँछन्।
दौडिरहेका घोडाका बथान, ज्यामितीय आकारका मठमन्दिर र युवतीलाई फरक–फरक रङ दिएका छन् उनले। दुई वर्षमै पोलियोले खुट्टाको शक्ति गुम्यो। जतिबेला उनी स्कुल पढ्थे, भ्यागुतोजस्तै उफ्रेर पढ्न जान्थे। साथीहरु उनको नक्कल गर्दै गिज्याउँथे। ड्रोइङ, चित्र बनाउँथे। त्यो पनि साथीहरुले पचाएनन्।
नारायण गोपालको निधन भएको बेला उनी कक्षा १० मा पढ्दै थिए। त्यसबेला कागजमा नारायण गोपालको पोट्रेट उतारे। बल्ल साथीहरुले ‘वाह! कस्तो राम्रो चित्र' भने। स्कुलका हेडसर लालकुमार राईले निकै प्रशंसा गरे। त्यो प्रशंसा उनका लागि हौसला बन्यो। ती गिज्याउने साथीहरुले ‘मलाई पनि चित्र बनाइदेऊ' भन्न थाले।
उदयपुर बसाहाका सञ्जयले कला र समाजशास्त्रमा स्नातकोत्तर सकिसकेका छन्। उच्च शिक्षाका लागि राजधानी छिरेका उनले ह्विलचियरमा बसेर निकै संघर्षपछि कलामा निखार ल्याउँदैछन्।
उनलाई दुःख लाग्छ, काठमाडौंका ग्यालरीहरु अपांगमैत्री छैनन्। प्रदर्शनी गरिएको तीन तलामा ह्विलचियर पुर्याउन चारजनाको सहयोग चाहिन्छ। नेपालीलाई लक्षित गरी चित्रको मूल्य कम राखिएको उनी बताउँछन्। प्रदर्शनी शुक्रबारसम्म चल्नेछ।
प्रकाशित: १० चैत्र २०७० २२:४७ सोमबार





