६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

'उ'मय देश (वक्रासन)

करिब तीन वर्षअघि सुशील कोइरालालाई पहिलोपटक भेटेको थिएँ मैले। कांग्रेसका नेविसंघलगायत भ्रातृ संगठनहरूमाथि विघटनको तरबार चलाएर उनी विजयी मुद्रामा बूढो लोकतान्त्रिक हाँसो हाँसिरहेका थिए। पुरानो लोकतान्त्रिक पार्टीको बूढो लोकतान्त्रिक हाँसो! तर, सुशीलविरोधी गुटका निम्ति त्यो हाँसो अलोकतान्त्रिक अट्टहास थियो।ठीक त्यही बेला मैले उनलाई भेटेको थिएँ। कुनै उत्सुकताले परिचालित भएर म उनलाई भेट्न गएको थिइनँ। अन्तरवार्ता गर्नुथ्यो। किनभने, जागिर खानुथ्यो। त्यतिबेला म 'सत्य सही सूचना' भन्ने तिर्पट साप्ताहिकमा काम गर्थें। देशमा सत्य र असत्यको, सही र गलतको भेद समाप्त भएको युगौँ भइसकेको थियो। त्यसैले हाम्रो पत्रिका त्यति बिक्दैनथ्यो। नबिके पनि चलिरहेको थियो। (समयमा तलब पाइँदैनथ्यो भन्दै आङ कन्याएर छारो उडाउनु अर्थहीन छ।) 
र, यसरी जागिरे कर्मकाण्ड पूरा गर्न म सुशीलदाकहाँ पुगेको थिएँ। 
पहिलो प्रश्नले नै अनिष्ट निम्त्यायो। 
मैले सोधेको थिएँ, 'कांग्रेसजस्तो पुरानो लोकतान्त्रिक पार्टीको सभापति भएर तपाईंले यस्तो अलोकतान्त्रिक काम गर्न सुहाउँछ?' 
सुशीलदा कड्किए, 'तपाईं उ कुरा गर्ने?'
'के कुरा गर्ने?' मैले बुझिनँ। 
'ठूला कुरा गर्ने? सात सालको उमा तपाईं कहाँ हुनुहुन्थ्यो?' 
'सात सालको केमा?' 
'सात सालको क्रान्तिमा?' 
म छत्तीस सालमा जन्मेको मान्छे। सात सालमा कहाँ थिए भन्नु अब? रातिराति राणाविरोधी पर्चा छर्दै थिएँ भन्नु? अथवा, मातापिताको दैहिक मिलनपश्चात्को कुनै सम्भावनामा थिएँ भन्नु? 
म 'कन्फ्युजन'को त्यो तहमा थिएँ, जहाँ सारा कन्फ्युजन समाप्त भएर जम्माजम्मी एउटा विशाल कन्फ्युजनमात्रै बाँकी रहन्छ। 
'उ भएर उ बुझ्नुपर्दैन? जथाभावी उ गर्ने?' सुशीलदा बम्किए। 
'के भएर के बुझ्नुपर्दैन? जथाभावी के गर्ने?' म उनीसँग सम्वाद कायम गर्नै सकिरहेको थिइनँ। 
'पत्रकार भएर इतिहास बुझ्नुपर्दैन? जथाभावी प्रश्न गर्ने?' उनले आफ्ना 'उ' हरूका अर्थ खुलाइदिए। 
त्यसपछि त्यो अन्तरवार्ता दुर्घटित भयो। र, हताहत भयो मेरो जागिर। 
०००
आज सुशील कोइराला प्रधानमन्त्री छन्। (म पनि जागिरे छु कतै।) 
उनको निष्ठा र इमानदारीबाट कायल छ देश। उनको साधारण जीवनशैली सर्वत्र प्रशंसित छ। यदि बहुराष्ट्रिय कम्पनीले सरलताको व्यापार गर्न सक्थ्यो भने उसले सुशीलदालाई साधारण जीवनशैलीको सद्भावना दूत बनाउँथ्यो होला। 
अहिले नेपाली राजनीति सम्पूर्णमा 'उ'मय भएको छ। प्रधानमन्त्रीका 'उ' आलाप र रागले सारा वातावरण प्रतिध्वनित भएको छ। 'उ' भनेको थेगोमात्र होइन, वाणी–त्रुटिमात्रै होइन। यो अस्पष्टताको प्रतीक पनि हो। 'उ' उद्देश्यविहीनता, महŒवाकांक्षाहीनता, 'भिजनलेसनेस'को प्रतिविम्ब पनि हो। 
सुशीलदा वाक्यपिच्छे 'उ' भन्छन्। र, दुनियाँलाई मिलाएर बुझ्ने सुविधा उपलब्ध गराइदिन्छन्। उनको 'उ'ले पारिदिने ठूलठूला भ्वाङ टाल्न उनका शुभचिन्तक र आसेपासेलाई पनि साह्रै कठिन हुन्छ। 
केही उदाहरण प्रस्तुत गरूँ होला। 
उनले एउटा कार्यक्रममा भने– 'भारत हाम्रो 'उ' हो।' 
अब बुझ्नु के? 
भारत हाम्रो को हो? भारत हाम्रो के हो? मित्र हो? शत्रु हो? छिमेकी हो? परचक्री हो? प्रेमी हो? निन्दक हो? 
त्यही कार्यक्रममा उनले भनेका थिए– 'भारतले हामीलाई सुरुदेखि नै 'उ' गरिरहेको छ।' 
के गरिरहेको छ? 
प्रेम गरिरहेको छ? बलात्कार गरिरहेको छ? सहयोग गरिरहेको छ? भरथेग गरिरहेको छ? शोषण गरिरहेको छ? अपमान गरिरहेको छ? 
सुशीलदाको 'उ' अत्यन्त बहुअर्थदायी छ। जसले जसरी जे बुझे पनि हुन्छ। 
अर्काे उदाहरणः उनले आफ्नो सरकारका मन्त्रीहरूलाई भनिदिए– 'हनिमुनमा 'उ' गर्नुपर्छ।' 
'हनिमुन'मा के गर्नुपर्छ या के गरिन्छ? त्यो सबैलाई थाहा छ। झन् मन्त्रीहरूलाई थाहा नहुने कुरै भएन। 
हिजोआज पुलिस गुन्डाहरूलाई भटाभट समातिरहेको छ। र, छोडिरहेको पनि छ। समात्नु, छोड्नु/फेरि समात्नु, फेरि छोड्नुको अन्त्यहीन शृंखला सुरु भएको छ। यसमा पनि सुशीलदाको 'उ'को हात छ। 
उनले गृहमन्त्रीलाई भनिदिए रे, 'गुन्डाहरूलाई 'उ' गर्नुस्। 
गृहमन्त्रीले केही बुझेनन् र मिलाएर बुझ्ने सुविधा उपयोग गरे। यसै पनि उनी घनघोर उपयोगितावादी हुन्। 
अनि उनले पुलिसलाई आदेश दिए, 'गुन्डाहरूलाई समात्नु अनि छोड्नु।' 
०००
'उ'धारी प्रधानमन्त्रीले हाँकेको 'उ'मय देशमा नयाँ संविधान पनि 'उ'मय बन्ला भन्ने भय छ। नयाँ संविधानका धारा यस्ता भए भने...
–नेपालको राष्ट्रिय फूल 'उ', राष्ट्रिय रङ 'उ', राष्ट्रिय जनावर 'उ' र
राष्ट्रिय पक्षी 'उ' हुनेछन्।
–सबै नागरिक कानुनको दृष्टिमा 'उ' हुनेछन्। कसैलाई पनि कानुनको
समान संरक्षणबाट 'उ' गरिने छैन।
–मुलुकको राज्य संरचनाका सबै अंगमा मधेसी, दलित, आदिवासी जनजाति, महिला, 'उ', किसान, अपांग, पिछडिएका 'उ' र क्षेत्र सबैलाई 'उ' पातिक 'उ'करणका आधारमा 'उ' गराइनेछ। 
–सरकारी, सहकारिता र निजी क्षेत्रको माध्यमबाट मुलुकमा अर्थतन्त्रको 'उ' गर्ने नीति राज्यले 'उ' गर्नेछ।
पंक्तिकारले सुशीलदालाई उपहासको विमानमा राखेर उडाइदिने बदनियत राखेको होइन। तर, उनको 'उ'ले हरेक नागरिकलाई हाँस्ने निःशुल्क सुविधा उपलब्ध गराइदिन्छ भने पंक्तिकारले त्यसबाट आफूलाई किन वञ्चित गर्नु? फेरि, यो देशमा सुविधा र सुविस्ता हतपति जनताका हात लाग्ने कुरा पनि त होइनन्। स्वयम् प्रधानमन्त्री आफ्नो 'उ'मार्फत जग हँसाउने अभिभारा वहन गरिरहेका छन् भने शिष्टताका खातिर पनि एक खेप हाँसिदिनुपर्छ।

प्रकाशित: ९ चैत्र २०७० ०२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App