९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

रमेश विकल पनि चित्रकार

काठमाडौं– साहित्यकार रमेश विकल पहिलेदेखि नै चित्र बनाउँथे। तर, उनको चित्रकारिता नजिकका साहित्यकार तथा कलाकर्मीबीच मात्र परिचित थियो। उनको लुकेको प्रतिभा आइतबार बल्ल सार्वजनिक भएको छ।

विकलले बनाएका चित्रहरुको प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)को ग्यालरीमा सुरु भएको छ। प्रदर्शनीको उद्‍घाटन उनै गोविन्दनारायण ज्यापुले गरे, जोसँग विकलले चित्रकला सिकेका थिए। आनन्दमुनि शाक्य, चन्द्रमानसिंह मास्के र केके कर्माचार्यले पनि विकललाई चित्र सिक्न सहयोग गरेका थिए।
रमेश विकल साहित्य प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा ५८ चित्र समावेश छन्। २०६५ पुस २ मा निधन भएका विकलले सबै चित्र रवि चालिसेको नामबाट तयार पारेका थिए। विकलका जेठा छोरा तथा रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसेका अनुसार थुपै्र चित्र अझै प्रदर्शन हुन बाँकी छन्। भविष्यमा प्रदर्शन गर्दै लैजाने योजना प्रतिष्ठानको छ।
'उहाँले साहित्यमार्फत् प्रस्तुत गर्न नसकेको अभिव्यक्तिलाई चित्रबाट देखाउन खोज्नुभएको हो कि जस्तो लाग्छ,' विकलका छोरा विजय चालिसेले भने, 'उहाँले साहित्यकारहरुका मुहारचित्र बनाउनुभएको छ, तिनलाई समय आएपछि प्रदर्शनीमा राख्नेछौं।' ललितकलाका प्राज्ञ रविन कोइरालाको विशेष पहलमा चित्र प्रदर्शनी सम्भव भएको चालिसेले उल्लेख गरे।
रमेश विकलका लुकेका प्रतिभालाई क्रमशः सार्वजनिक गर्दै लैजाने योजना साहित्य प्रतिष्ठानको छ। 'चित्रकला प्रदर्शनी गर्नुको उद्देश्य पनि यही अभियानको एउटा प्रक्रिया हो,' प्रतिष्ठानका उपाध्यक्ष हिमनाथ पौडेलले भने, 'चित्रकला उहाँको लुकेको प्रतिभा थियो, त्यसैले प्रदर्शनीको नाम नै 'हिडेन ट्यालेन्ट' राखेका हौं।'
विकलले चित्रमा ल्यान्डस्केप र पोट्रेटलाई प्राथमिकता दिएको पाइन्छ। आफ्नो गाउँवरपरका प्राकृतिक भूदृश्यहरु र आफ्ना साथीभाइ तथा परिवारका सदस्यहरु उनले चित्रमा उतारेका छन्। पत्नी, बुबा, आमा र हजुरबाका चित्र समेत उनले कोरेका छन्। प्रदर्शनी आगामी शुक्रबारसम्म चल्नेछ।

प्रकाशित: २५ फाल्गुन २०७० २३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App