भारतसँगको खुला सीमाका कारण अन्तर्राष्ट्रिय अपराधीहरुले नेपाललाई सजिलै आफ्नो सुरक्षित स्थान बनाउन सकेको सोसाइटीका अध्यक्ष गनेस पौडेलको भनाइ थियो। ‘हाम्रो देश कस्तो हुँदैछ र त्यसले हामी नेपालीको जीवनलाई कसरी प्रत्यक्ष असर पार्दैछ भन्ने पुस्तकले छर्लंग पारेको छ,' उनले भने। अपराधीहरुको चिरफार गर्न लेखक ढुंगाना कति नहिच्किचाएको उल्लेख गर्दै पौडेलले राज्य र जनस्तरको प्रयासबाटै अपराध रोक्न सकिने धारणा राखे।
भारतीय अपराधी मिर्जा दिल सादबेग नेपालमा प्रवेश गरेर मन्त्रीसम्म बन्न भ्याउनु राष्ट्रियतामाथिको विडम्बना भएको सहभागीहरुको भनाइ थियो।
कार्यक्रममा ‘ओपन सेक्रेट'को प्रकाशक फाइन प्रिन्टका अजित बरालले पुस्तक प्रकाशनका क्रममा भएका अनुभव सुनाएका थिए। ‘रिपोर्टिङमा पारंगत लेखकबाट औपन्यासिक कृति जन्मनु उपलब्धि हो,' उनले भने।
अपराध सार्वजनिक गर्दा केही डरको अनुभूति भए पनि पुस्तक प्रकाशनपछि कुनै अप्रियता व्यहोनु नपरेको उनले सुनाए। न्यायाधीश डिल्लीराज आचार्यले कानुनी कठधरामा उभ्याएरै अपराध नियन्त्रण गर्नुपर्नेमा जोड दिए।
सोसाइटीले आउँदो महिनाको शृंखलामा भारतीय संविधान लेखक भीम राव अम्बेडकरको बुद्ध दर्शनमा आधारित ‘बुद्ध एन्ड हिज धम्म' पुस्तकमाथि चर्चा चलाउने जानकारी पुस्तक छनोट समितिका संयोजक विष्णु आचार्यले दिए। उक्त पुस्तक माथि मुख्य परिचर्चा नेत्र आचार्यले गर्ने छन्।
प्रकाशित: २४ फाल्गुन २०७० २२:११ शनिबार





