८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

पतिकै पथमा

२०१८ सालमा भोजपुर, मानेभन्ज्याङमा जन्मेकी विद्या भण्डारी विवाहपूर्व पनि राजनीतिमा थिइन्। यद्यपि उनका लागि विशेष राजनीतिक अवसरको उदय भने पति मदन भण्डारी (तत्कालीन एमाले महासचिव) को दुर्घटनामा निधनपछिको परिस्थितिले गराएको मानिन्छ।८ कक्षा पढ्दै गर्दा कम्युनिस्ट आन्दोलनका कुरा थाहा पाउन थालेकी थिइन् उनले। राजनीतिक प्रशिक्षण लिने क्रममा चिनियाँ क्रान्तिबारे सुनिन्, ‘कम्युनिज्ममा सबै बराबर हुन्छन्। समान कामको समान ज्याला। छोराछोरी, धनी–गरिब भेदभाव हुन्न। सबैले खान, लाउन पाउँछन्।' यही सुनेपछि उनी तत्कालीन नेकपा (माले) तिर आकर्षित भइन्। २०३६ सालको विद्यार्थी आन्दोलनमा उनी सक्रिय थिइन्। त्यसै बेला राजनीतिमा प्रवेश गरिन्। २०३७ सालमा नेकपा (माले) को सदस्यता लिइन्। महेन्द्र मोरङ क्याम्पस पढ्दा अनेरास्ववियुको कोषाध्यक्ष रहेर काम गरिन्। 
राजनीतिक कार्यक्रमकै दौरान मदन भण्डारीसँग भएको भेट २०३९ सालमा बिहेमा परिणत भयो। विवाहपछिका केही वर्ष पतिकै राजनीतिक यात्रामा सघाइरहिन्। आफूले परिवार सम्हालेर मदनलाई राजनीतिमा पठाइन्। प्रत्यक्ष रूपमा पार्टीसँग नजिक हुने फुर्सद यति बेला उनलाई थिएन। 
२०५३ सालको मध्यावधि निर्वाचनको माहोलले पहिले मदन भण्डारी सांसद छानिएको क्षेत्रबाटै विद्यालाई टिकट दिलायो। कांग्रेस हस्ती कृष्णप्रसाद भट्टराईलाई हराएपछिको सफलताले उनलाई जनसंख्या तथा वातावरण मन्त्रीको पदमा पुर्याहयो। सात महिना मन्त्रालय हाँकिन्। २०५५ सालमा अखिल नेपाल महिला संघको अध्यक्ष भइन्। 
नेकपा (एमाले) को छैटौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा आबद्ध उनी आठौं महाधिवेशनमा आइपुग्दा उपाध्यक्षको नेतृत्व लिन सफल भइन्। २०६६ सालमा गणतान्त्रिक नेपालको पहिलो महिला रक्षामन्त्री बनिन्। हाल नेकपा (एमाले) स्थायी समिटी सदस्य, सभासद, अनेम संघ अध्यक्ष छिन्।

प्रकाशित: २४ फाल्गुन २०७० ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App