होमराज आचार्य, डा. हरिराज भट्टराई र म आमनेसामने छौं। हाम्रा आँखा जुधाइ कम भए पनि कुरा साटासाट भइरहेछन् निरन्तर। भर्खरै धोएर ल्याएजस्तो टिलिक्क सफा छ, रेड लाइनको रेल।
भारतीय थुपै्र छन्। त्योभन्दा बढी छन् हिस्पानिकहरू। होचा, काला कपालका, ठ्याम्मै नेपाली अनुहारका। अझ बढी छन् अफ्रिकन काला। निकै होहल्ला छ ती बसेको सिटमा। जहाँ काला त्यहाँ होहल्ला—सुनेको कुरा मिल्दैछ।
हामी डुपन सर्कलबाट चढेथ्यौं। पुग्नु थियो सिल्भरस्पि्रङ। शुक्रबारको दिन—निकै भीडभाड छ। फेरि रातको बेला। अमेरिकामा शुक्रबारको काम सकेर दुई दिने छुट्टी मनाउन निस्किहाल्ने जीवनशैली रहेछ। शनिबार र आइतबार जमेर मस्ती गर्ने अनि सोमबारदेखि फेरि घँुडा धस्ने प्रचलन सबैका निम्ति संस्कार भएको पाएँ मैले।
वासिङ्टन डिसीबाट मेरील्यान्ड गइरहेथ्यौं हामी। अश्वेतहरूको भीडभाड बढ्ता छ मेरील्यान्डमा। यसको प्रमाण रेलभन्दा अश्वेतहरूको होहल्लाबाट पाइन्थ्यो मज्जैले।
'म त आउने साता नेपाल जाँदैछु, डाक्टर साब कहिले फर्कने?' फारागट नर्थको भीडमा रेल रोकिँदा मैले सोधेँ।
'तपाईंको देशमा आउन त पर्ने हो! पहाडमा अलिकति खेतबारी छ। खोइ, त्यता पनि माओवादीले झन्डा गाडेका छन् रे! हेरौं, यो अपार्टमेन्टको मोर्गेज तिरिसकेपछि मुक्ति पाइन्थ्यो कि?' भट्टराईको अनुहारमा उज्यालो थिएन। बोलीमा कुनै खालको उमंग थिएन।
रेल कुदेजस्तै लागिरहेको छैन मलाई। नहल्ली बादलमा सुलुलु गइरहेको आनन्दीमा रमाएको छु। एक–दुई मिनेटको फरकमा रोकिने सूचना प्रसारण हुन्छ र रोकिन्छ। अनि टिङ्लिङ्ङ गरी घन्टी बज्दै ढोका लागेको जानकारी हरेक स्टेसनमा सुनिरहेको छु म।
भित्तामा अडेसिएका होमराजका आँखा लोलाएका छन्। मेरो र भट्टराईको कुरा तिनी कति सुनिरहेका छन्? घरीघरी ख्याल आउँछ। तिनका परेली ढप्किएका मात्र हुन्, कान खुल्लै छन् भन्ठान्छु म। चाल मारेर हेर्दै पनि छु।
'तपाईंको लेखन त सेलायो नि?' मेट्रो सेन्टर पुगेपछि मैले खसखस पोखेँ।
'तपाईंको देशमा लेखेर पो कसले के लछारपाटो लगाएका छन् र! मैले त्यतिका किताब लेखेँ न विश्वविद्यालयले सम्झना गर्यो, न एकेडेमीमै प्राज्ञ हुन पाइयो। रातोदिनको कचिङ्गलले भनेजस्तो लेख्नै सकिएन त्यो बेला। अहिले वर्षमा एउटा कविता डिसी घुम्दा लेख्छु, प्रसन्न हुन्छ मन!' डाक्टर साबले नेताजस्तो आक्रोस पोखे।
वासिङटन डिसीलाई मुख्य फेरो मारेर ग्रिन, ब्लु, रेड, यल्लो, अरेन्ज गरी पाँचरंगे रेल कुदछन्। ती सबै लाइनमा भिन्न–भिन्न भूमि र परिवेशका यात्रु हुन्छन्। म आफैंले यी पाँचै लाइनका मेट्रोहरू चढेँ। अझ बढी चढेँ, अरेन्ज लाइनको मेट्रो। भर्जिनिया र वासिङ्टनको फेरो मार्दा।
'कत्तिको रमाइरहनु भाछ त डाक्टर साब?' म सोध्छु, वर्षौंदेखि अमेरिकी नागरिक हुनुभएका भट्टराईलाई। 'तपाईंको देशमा मानिस दुःखी मात्र छन्। बोल्नेहरूको जमात बढेकोबढेकै छ, काम चैं शून्य छ। के गर्नु ती सबै गफाडीलाई यहाँको राजनीति एकपटक सिकाउन पाए!'
डाक्टरभित्र आगो छ, बोलीले त्यसको साक्ष्य जनाइरहेको छ।
म कुदिरहेको मेट्रोको चारैतिर हेरिरहेको छु। कसैले कसैलाई नछोई बसेका छन्। उभिनेहरू पनि आफैंमा निमग्न। धेरैजसो त पुस्तकमै घोत्लिरहेका छन्। मोटा न मोटा किताबले मुख छोपेर निदाउनेहरू छन् झन् बढी।
मेरो छेवैमा एउटा अग्ले अश्वेत र रस्सियाली अनुहारकी किशोरी मच्ची–मच्ची गफ गरिरहेका छन्। गणितका सूत्रजस्ता लाग्ने किरिङमिरिङ अक्षरमा जोतिएर बोल्छन्, थाक्छन् र ओठ चुस्छन्। बेला–बेलामा हाम्रा कुरामा नि ध्यान दिन्छे किशोरी।
झन्डाका स–साना स्टिकर छन् ठाउँ–ठाउँमा। अमेरिकी झन्डाका कलात्मक स्टिकर। अनि त्यसकै तल्लो हारमा सबैले देखिने गरी लेखिएको छ– नो स्मोकिङ, नो इटिङ अर ड्रिङकिङ, नो एनिमल्स, नो अडियो, नो लिटर अर स्पिटिङ, नो डेन्जर्स अर फ्लेमबल आइटम्स्।
हावामा बत्तिएजस्तो रेलको आवाज छ, पानी उम्लँदाको स्वाँ˜˜ जस्तो!
'डाक्टर साब, रोग लागेपछि त उपचार गर्न गाह्रो पो रहेछ अमेरिकामा?' अघिल्लो महिना रुघाखोकी र ज्वरोले सताउँदा थला परेको एउटा साथीले जिरापानी खाँदै नेपालकै डाक्टरसँग सम्पर्क गरी ओखती खाएको सम्झँदै सोधेँ मैले।
मेक फेर्सन स्क्वाएरमा एउटी बूढी निकै बाक्ला लुगा लगाएर मेट्रो उक्ली। ऊ लाग्थी रोगीजस्ती।
'तपाईंको देशमा पैसा भई–भई मर्नेहरू कति छन् कति! नेपालमा मान्छेको शरीर परीक्षण गर्ने भाँडोमात्र हुन्छ। लापरबाहीको चरम नमुना हेर्नु परे अस्पताल गए हुन्छ। अस्पतालमा गएका बिरामी बाँचेर फर्किने चान्स बहुतै कम हुन्छ। सास राख्न हैन, थुतिमाग्न अस्पताल जान्छन् मान्छेहरू!' भट्टराई उग्रै रिसाएका रहेछन्। सात समुद्रपारि आउँदा पनि मत्थर भएनछ रिस।
चाइनाटाउन पुगेपछि रेलमा अलिक बढी जापानी, फिलिपिनी, कोरियाली र चिनियाँ मुलका मान्छेको संख्या थपियो। एउटी पातलो जामा लगाएकी युवतीले गलामा बुद्धअंकित माला लगाएकी देखियो। उसका हातमा एउटा कलात्मक काठे माला थियो। त्यसलाई ऊ घरीघरी ओठमा पुर्याउँदै, छातीतिर हुर्याउँथी। त्योतिर रस्सियाली युवतीसँग शास्त्रार्थ गरिरहेको काले बांगिएर हेर्थ्यो।
'तपाईं कति प्रतिशत सुखी हुनुहुन्छ?'
'तपाईंको देशमा मान्छे सुखी छैनन्, खुसी छन्। यहाँ म नि सुखी धेरै, खुसी कम छु। सुखी र खुसी दुई अलग कुरा हुन्। अमेरिकाले सबैलाई सुख दिन्छ, खुसी पार्न नसके नि!' भट्टराईले सत्य बोले कि भन्ने लाग्दैछ मलाई।
मेट्रो घरी सुरुङभित्र पस्छ। घरी खुल्ला मैदानमा बेतोडले बेगिन्छ। रेलको गति निरन्तर परिवर्तित खालको छ। छिनमै वेगवान र छिनमै स्वाट्ट घट्छ तीव्र गति। बढेको र घटेको आभास पाइन्छ मसिनो आवाजमा।
'धन त निकै कमाउनु भो होला?' मैले निकै साहसका साथ यो जिज्ञासा राखेँ भट्टराईलाई। किनभने अमेरिकामा कमाउनेभन्दा गुमाउने ठाउँ धेरै देखेको थिएँ मैले। उनको इमान जाँच्न पनि यो खसखस राखँे।
'तपाईंको देशमा कमाउने ठाउँ नै कहाँ छ र! त्यहाँ वर्षमा कमाउने पैसा यहाँ महिनामा कमाइन्छ। तर बचत त त्यत्तिकै हो नि! कार्डमै पाइन्छ डलर अनि कार्ड घोट्ताघोट्तै गइसक्तो रहेछ। पत्तै नहुने!' डाक्टरले भनेका कुरामा बनावटी तर्क थिएन। हार न जितको नतिजामा हाँस्ने अनुहारको लाममा भट्टराई पनि उभिएको देखेँ मैले।
वास्तवमा यी रेलहरू सुरुङैसुरुङका लिकमा कुद्ने कीराजस्तो ठानिरहेको छु म। सबै मेट्रोले एक अर्कालाई भेट्ने वैज्ञानिक स्टेसन रहेछन् जहाँसुकै। अत्यन्त व्यवस्थित र सुरक्षित समेत।
'तपाईंको देशमा इज्जत छ, भोक मार्ने अन्न छैन। नामले भुँडी भरिने कुरो होइन रहेछ। सम्झन्छु, भात पहिलो अनि प्रतिष्ठा त पछिको कुरो रहेछ। सन्तोषलाई पनि यही आँखाले हेर्नुपर्ला। जे होस् ठिक छु!' डाक्टरको बोलीमा गह्रुँगो चाला छँदैछ। तिनमा जतिसुकै पीडालाई नदेखाउने प्रचेष्टा भए पनि बिस्तारै आइरहेथ्यो कुराकानीमा। यसमा मेरो जित होइन, उनकै गर्व ढलपल भइरहेकै थियो।
वासिङ्टन डिसीवरिपरि मेट्रोको जालो छ। हजारौं मान्छे अहिले पार्किङको समस्याले ग्रसित हुन थालेको भेटेथँे मैले। यसैले अपार्टमेन्टदेखि मेट्रोसम्म आफ्नै कारमा आयो अनि पार्किङ गर्यो। त्यसपछि मेट्रो चढी गयो जागिर खान। यो जीवनशैली हुर्कन थालेको कुरा मैले धेरैका मुखबाट सुनेथेँ।
'तपाईंको देशमा नै यस्तो वातावरण हिजो थियो न छ आज! मलाई डलर आइरहेकै छ। कामलाई मानेपछि बुद्धि र बल भन्नेतिर किन जाने? उहाँ नि कापीका बिटा बोक्ने नै गर्दथेँ। बीस–उन्नाइसको मात्र फरक हो!' अमेरिकी श्रम र नेपालमा बौद्धिक लगानीमा डाक्टर साबको मतो नमिलेको ठानेँ मैले। हरियो डलरले थिचथाच पारेछ उनलाई।
रेल कुदिरहेको छ।
काम वासिङ्टनमा भए पनि आचार्य र भट्टराई मेरील्यान्डको पुच्छरमा बसोबास गर्छन्। अरू धेरैको बसाइ र काम गराई यति वरपर भएको ज्ञान थियो मलाई।
आतंकको पीडाले झन् बढी ग्रसित छन् अमेरिकीहरू। डिसीलाई पोटोम्याक नदीले छोएको छ। नदीपारि बस्दा धेरै समस्या हँुदो रहेछ। विशेषतः टनेलको खराबीले मेट्रो रोकिए– जागिर, जीवन र यात्रामा ठूलो खलल पर्न जाँदो रहेछ।
'आतंकारीले अमेरिकाका टनेल ताक्छन्। पोटोम्याकको टनेलमा ब्लास्ट गरिदिए सब चौपट!' आचार्यको भनाइले यति वर बस्नुको रहस्य जानेँ मैले। सेकेन्डको तल–माथि नगरी दगुरेको मेट्रो फेर्दै सयौं किलोमिटर टाढा पुगेर काम गर्नेहरूको भीडभाड कति हो कति! मेट्रो चढ्ने र ओर्लने स्टेसनमा किनारतिर नउभिए हुलले किचेर कुद्न सक्ने छ। मान्छेको खोलो देख्न सकिने छ त्यहाँ। रातो मेट्रोबाट ओर्लिएर नीलो लाइनको अथवा हरियोबाट ओर्लिएर सुन्तले मेट्रो चढेर काममा कुरिरहेका थुप्रै मेरा चिनारु साथी थिए।
'सधैंको यो भागदौडले के दिन्छ?' मेट्रो टाकोमा स्टेसन पुग्दा सोधेको थिएँ मैले। अब छिट्टै आउने स्टेसनपछि उनको र हाम्रो बाटो फरक हुँदै थियो। अनि पो डाक्टर भट्टराईबाट जान्न हतारिएको थिएँ म।
'तपाईंको देशमा समयको मूल्य नचिन्नेहरूको बगाल छ। दिएको समयमा नपुग्ने, बोलाएर घन्टौं कुराउने, काममा ढिलो गए हुने आदि यावत समयपीडाले त्यहाँ जरो गाढेको छ। खोइ, कसैले यो रोगी चरित्रका जरा काट्न सकेनन्। यहाँ त्यस्तो छैन। फुर्ति, जोस र समय चिन्ने मान्छेलाई अमेरिकाले अँगालै हाल्छ। मैले धेरै वर्ष समयपीडाका जरामा जेलिएर जीवन खत्तम पारेछु। यतिखेर केही थाहा पाउन खोज्दाखोज्दै ढिलो भइसकेछ!' बूढो हड्डी अमेेेेरिकामा घोटेर तारुण्य उमेरमा नेपालमा अल्छ्याइँ खर्चेको गर्वबोध एकपटक फेरि सुनेँ मैले। भट्टराईजस्ता अरू थुप्रै सत्पात्र अमेरिकी भूमिको गाथामा भास्सिँदै–भास्सिँदै गइरहेथे। त्यै थियो यो प्रतिक्रिया।
रेलको अन्तिम बिसौनी अब धेरै टाढा थिएन। मेट्रोको बायाँपट्टिको स्वचालित सूचनापाटीमा गएको स्टेसन र अब आउने स्थानको संकेत पटक–पटक आइरहेथ्यो। मेरा आँखा त्यता पनि जान्थे घरीघरी।
'इज्जत पाएको अथवा गुमाएको के लाग्छ?' आँट बटुलेर सोधेँ मैले ती गुरुवरसँग। जो लामै समय अनुशासन, आत्माभिमान, देश र जीवनबारे मूल्यमान्यताको व्याख्यानमा जुटेको थिए कुनै बेला।
'तपाईंको देशमा इज्जत भएर पो कतिन्जेल जोगाइराख्नु? सधैं अभाव, बन्द, राजनीति र भ्रष्टताको बीचमा आफूलाई नीतिवान बनाएर कसले राख्न सक्छ, हँ?' आगो ओकले श्रीमान्ले। मैले प्रतिवाद गरिरहेको छैन, केवल स्रोता भएर उभिएको छु। पाताल पसेको बुद्धिजीवीको अन्तर्मन पढ्नुछ मैले।
'नेपाल नआउने?' सिल्भरस्पि्रङमा रेल रोकिएपछि मैले सोधेँ डाक्टरलाई।
'तपाईंको देशमा पर्यटक बनेर घुम्न आउँला। अब त म अमेरिकी नागरिक!' कुनै समय त्रिचन्द्र क्याम्पसमा कालो ब्याग र नोटबुक बोकेर पढाउन जाने हरिराज गुरुले उद्घोष गरे।
मेट्रो गइसकेथ्यो त्यसबेला उनलाई बोकेर!
प्रकाशित: ९ फाल्गुन २०७० २०:१२ शुक्रबार





