११ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

दैनिक आधा लाख भेटी हराउँछ

गोरखा-गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना र गोरखकाली मन्दिरमा दैनिक आउने तीन हजारभन्दा बढी भक्तजनले कति भेटी चढाउलान्? यसरी चढाइएको भेटी कहाँ जान्छ? अहिलेसम्म कुनै लेखाजोखा छैन। दुवै मन्दिरमा गरी दैनिक ५० हजार रुपैयाँभन्दा भेटी चढ्ने अनुमान मन्दिरका कर्मचारीको छ। तर, न त्यो मन्दिरका लागि खर्च हुन्छ न त कुनै समाजिक काममा।


देशकै एकमात्रै केबुलकारका कारण मनकामना दर्शन गर्ने भक्तजनको संख्या वर्षेनी बढ्दो छ। गत वर्षको तथ्यांकअनुसार ९ लाख भक्तजन केबुलकार चढेर मन्दिर दर्शन गर्न आएका थिए। अरु एक लाख गाडीबाट र हिँडेर आएकोे मनकामना क्षेत्र विकास समितिको आँकडाले देखाउँछ। यो तथ्यांकअनुसार दैनिक २ हजार ७ सयभन्दा बढी भक्तजन मनकामना मन्दिर आउँछन्।

'यी भक्तजनले मन्दिरमा चढाएको भेटीको कुनै लेखाजोखा नै छैन,' समितिका अध्यक्ष दिनेश जोशी भन्छन्, 'हामीले भेटी व्यवस्थापन प्रयास गरे पनि अहिलेसम्म सफल हुन सकेका छैनौं।' भक्तजनले चढाएका भेटी, द्रव्य, सुन, तामा, लगायत सबै पुजारीले एकलौटी गर्दै आएका छन्।

मन्दिर बाहिर राखिएको दान बाकसमा संकलन भएको भेटी समितिको स्वामित्वमा छ। पाँचवटा दान बाकसबाट मासिक एक लाख रुपैयाँभन्दा बढी संकलन हुन्छ। दान बाकसमा संकलन भएको पैसा समितिले मन्दिर परिसरमा भक्तजनको सुविधाका लागि खर्च गर्दै आएको छ। मन्दिरका पुजारीलाई पारिश्रमिकको आधारमा तलब दिएर भेटी व्यवस्थापन गर्ने हो भने दैनिक लाख रुपैयाँ भेटी समितिले संकलन गर्ने अध्यक्ष जोशी बताउँछन्।

गोरखकाली मन्दिरको भेटीमा पनि पुजारीकै हैकम चल्छ। दैनिक सयौं भक्तजनले चढाउने भेटीबारे दरबार हेरचाह अड्डा नै बेखबर छ। सरकारी स्वामित्वमा रहेको गोरखकाली मन्दिर व्यवस्थापनको जिम्मा पाएको अड्डाले भेटी व्यवस्थापन गर्न सकेको छैन। चारजना पुजारी रहेको मन्दिरमा उनीहरुलाई मासिक १६ सय भत्ता र मन्दिरमा चढेका सिधा दिने सरकारी नियम छ। भक्तजनले चढाएका भेटीसमेत पुजारी सबैले मिलिजुली लिने गरेका छन्।

मन्दिरबाहिरपट्टि दरबार हेरचाह अड्डाले दान बाकस राखेको छ। बाकसमा जम्मा भएको भेटी पनि हेरचाह अड्डाका प्रमुखले आफू अनुकूल खर्च गर्दै आएका छन्। २०६६ सालदेखि गोरखाको गोरखकाली मन्दिरमा दरबार हेरचाह अड्डाले दान बाकस राख्दै आएको थियो। एक वर्षयता दुइटाबाट एउटामा झरेको छ। हरेक तीनदेखि चार महिनामा खोलिने दान बाकसमा करिब ७० हजारदेखि एक लाख रुपैयाँसम्म हुन्छ। त्यो पैसा अड्डा प्रमुख नानीबाबु पोखरेलले व्यक्तिगत खातामा राख्ने गरेका छन्।

'मन्दिरको आन्तरिक व्यवस्थापनमा सरकारी खर्चले नपुग्ने भएकाले आन्तरिक रुपमै भेटी व्यवस्थापनको सजिलाका लागि आफू र एक कर्मचारीको संयुक्त खाता खोलेर दान बाकसको पैसा राखेको हुँ,' अड्डा प्रमुख पोखरेलले भने। उनले व्यक्तिगत खर्चका लागि खाताबाट दान बाकसको पैसा खर्च नगरेको दाबी गर्दै आएका छन्। अड्डाकै तथ्यांकअनुसार एक वर्षमा चारपटक दान बाकस खोलिन्छ। एकपटक खोल्दा ७० हजारका दरले वर्षमा करिब ३ लाख रुपैयाँ जम्मा हुन्छ। बितेको ४ वर्षमा अहिले खातामा करिब दुई लाख रुपैयाँमात्रै रहेको पोखरेलले बताए। मन्दिरमा भक्तजनले चढाएको भेटी व्यवस्थापन गर्न नसकिएको पोखरेल स्वीकार्छन्।

'अहिलेसम्म कुनै उल्लेखनीय काम पनि गरेको देखिँदैन, न चर्पीको राम्रो व्यवस्था छ, न पानीको नै। फोहोर पनि नियमित उठ्न सकेको छैन,' मन्दिरका एक कर्मचारीले भने 'दान बकसको पैसाले भएको उल्लेख्य काम केही छैन। आखिर खै त त्यो पैसा?' कर्मचारीहरु नै दान बाकसको पैसा प्रमुखले घोटला गरेको शंका गर्छन्।

गोरखका प्रसिद्ध दुवै धार्मिकस्थलको भेटी व्यवस्थापन गर्न सक्ने हो भने जिल्लाको विकास निर्माणमा ठूलो टेवा पुग्ने सरोकारवाला बताउँछन्। मनकामना क्षेत्र विकासका अध्यक्ष जोशी भन्छन्, 'भेटी व्यवस्थापन सरकारले गर्नुपर्छ, नसके समुदायको स्वामित्वमा दिनुपर्छ।' समुदायले व्यवस्थापन गर्ने हो भने समग्र टोल, गाविस र जिल्लाको विकासमा वर्षेनी करोडौं रुपैयाँ खर्च मन्दिरबाट जुटाउन सकिने उनको दाबी छ।

प्रकाशित: ७ पुस २०७० २२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App