मकवानपुर— पूर्वी मकवानपुरको छतिवन हात्तीसुढेमा रहेको अल्पाइन डेभलेपमेन्ट बैंकको शाखाका लागि हेटौंडाबाट लैजाँदै गरेको १० लाख रुपियाँ लुटिएको छ। विहान ११:३० बजे हेटौंडाबाट हात्तीसुढेतर्फ जान लाग्दा बाटोमा पर्ने चोरभञ्ज्याङ जंगलमा पेस्तोल देखाई रकम लुटेको बैङ्कले जनाएको छ।
हेटौंडामा रहेको प्रधान कार्यालयबाट हात्तीसुढे शाखाका लागि रकम लिएर मोटरसाइकलमा जाँदै गरेका शाखा प्रमुख विष्णु अधिकारी र सुरक्षा गार्डलाई पेस्तोल तेस्र्याएर मोटरसाइकलमै आएको व्यक्तिले रकम लुटेर फरार भएको अल्पाइनका प्रमुख कार्यकारी अधिकृत सुदर्शनप्रसाद अधिकारीले नागरिकन्युजलाई बताए।उनले मोटरसाइकलमा पच्छयाउँदै आएका व्यक्तिले पेस्तोल देखाएर रकम लुटेर भाग्नसाथ प्रहरीलाई खबर गरेको बताए। सुरक्षागार्ड भए पनि खुकुरीमात्रै भएकाले पेस्तोल देखाउनेसँग प्रतिकार गर्न नसकिएको बताइएको छ। हेटौंडा बजारबाट करिब २० किलोमिटर पूर्वमा चोरभञ्ज्याङ भन्ने स्थानमा जंगल पर्दछ। हर्नामाडी गाविसको फुर्केचौर बजारबाट ३ सय मिटर अघि जंगलमा रकम लुटिएको प्रहरीले जनाएको छ।रकम लुटेका जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक गणेशवहादुर ऐर घटनास्थल पुगेर फर्किएका छन्। उनले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यृलयका प्रहरी निरीक्षक यादव थापाको कमाण्डमा प्रहरी परिचालन गरेको जानकारी गराए। त्यस्तै, हात्तीसुढे चौकी र फुर्केचौरको ठूलोदमारमा रहेको चौकीका प्रहरी पनि परिचालन गरिएको छ । घटनास्थल हेरेर फर्किएका उपरीक्षक ऐरले 'घटना सुनियोजित भएको बताए।
'जंगलमा लुटिएको छ । मोटरसाइकलमा आएका व्यक्तिले रकम लुटेर लगेको पाइएको छ' उनले नागरिकन्यूजसँग भने, 'बैंकबाट पिछा गरेको हुनुपर्छ नत्र कसरी पैसा बोकेर आएको थाहा हुन्छ।'
लुटपाटपछि व्यापक प्रहरी परिचालन गरिएको उपरीक्षक ऐरले बताए ।
हेटौंडामा प्रधान कार्यालय रहेको अल्पाइन डेभलपमेन्ट बैंकको बिसं.२०६४ असोज १८ गते स्थापना भएको हो । बैंकले ग्रामीण क्षेत्रका बासिन्दालाई बैँकिङ सेवा प्रदान गरिरहेको थियो । बैंकले हालसम्म हेटौंडा, दामन, बनेपा, मनहरी, नारायणगढ, भण्डारा, सांगा, चौघडा, बज्रबाराही, पटियानी, दोलालघाट, नगरकोट र हात्तीसुढेमा गरी १३ वटा शाखा स्थापना गरेको थियो । कमाने, बस्तीपुर, सानोपोखरा, हुप्रचौर र नारायणगढको बेलचोकमा एक्सटेन्शन काउन्टर समेत स्थापना गरेर १८ वटा बैङ्किङ सञ्जालमार्फत सेवा प्रदान गरिरहेको बैंकको ७० करोड लगानी रहेको र चुक्तापू"जी १० करोड रहेको छ भने ६० करोड कर्जाप्रवाह गरेको छ ।
प्रकाशित: ७ पुस २०७० ०५:०९ आइतबार





