१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

लटरम्म लप्सी

गएको मंगलबार। पुसको बिहानी धुम्म हुस्सु लागेकाले मौसम चिसिएको थियो। वरिपरि पहाड र डाँडाले घेरिएको गोदावरीमा सूर्यका चिसा किरण आइपुगे। जंगलै जंगल भएको गोदावरीमा चराहरू चिर्बिराउँदै थिए। वातावारण मनमोहक थियो।


गोदावरीमा हिजोआज पिकनिक र घुम्न आउनेको संख्या बढ्दै गएको छ। काठमाडौंदेखि केही टाढा रहेको गोदावरी ललितपुर जिल्लाको सुन्दर ठाउँ हो।

गोदावरीको सुन्दरतामा आँखा डुलाइरहँदा चारजना साथी भेटिए। एकजनाले हातमा हातो छिनेको घडी समाएका थिए। अर्काको हातमा लप्सीको आधा खाएको दाना, अर्काकोमा साइकलको पुरानो टायर थियो। तीमध्ये अलि ठूलाको हातमा चाहिँ लट्ठी थियो। साथमा प्लास्टिकको पोको पनि। साँच्चै प्लास्टिकको पोकोमा के होला?

'लप्सी छ,' प्लास्टिकको पोको बोकेका विनोद लामाले भने। उनी लप्सीको फेदमुनि बसेका थिए। माथिपट्टि रूखमा लटरम्म फलेका लप्सीका दुइटा रूख। 'रूखमा चढेर लप्सी टिप्न पाए हुन्थ्यो नि,' विनोदले थपे। साथीहरू स्कुल नगएर किन घुमेर बसेका होलान्? 'आज स्कुल बिदा छ,' सबैभन्दा साना सायुर माझीले हाँस्दै भने, 'आज उधौली हो रे।' साइकलको पुरानो टायर समाउने निरोज लामा हुन्। चुसेर आधा खाएको लप्सीको दाना समाउने निशान लामा। विनोद, सायुर, निरोज र निशान चारैजनाको घर गोदावरीको नौधारामा छ।

बिदामा उनीहरू घरदेखि १० मिनेट लामो बाटो हिँडेर लप्सी बटुल्न आउँदा रहेछन्। निरोजले हातले संकेत गर्दै भने, 'ऊ त्यहाँ तल लप्सी जति पनि पाइन्छ। कत्ति त खोलामा पनि खसेका हुन्छन्।' भुइँभरि खसेका लप्सी बटुलेर उनीहरूले के गर्दा हुन्? खुल्दुली लाग्यो। 'घरमा लगेर आमालाई दिन्छम्। आमाले लप्सीको मिठो अचार बनाउनुहुन्छ,' टौखेल स्कुलको कक्षा छमा पढ्दै आएका विनोदले भने, 'अचार बनाएपछि हामी बाँड्छौं पनि।' आमाले बनाएको लप्सीको अचार वल्लो घर, पल्लो घर बाँड्दा रहेछन् उनीहरू। भातसँग लप्सीको अचार खाँदा खुब मिठोे हुने उनीहरूले बताए। लप्सीका पाकेका दाना बटुलेर पानीमा बफ्याएर बनाएको अचार कसो मिठो नहोला! लप्सीमा चिनी मोलेर पनि अचार बनाउन सकिन्छ।

विनोदका बुबा गोदावरी मार्वल फ्याक्ट्रीमा पालेको काम गर्नुहुँदो रहेछ। 'आमाले ज्यामीको काम गर्नुहुन्छ। तर हिजो–आज आमा बेकामे हुनुभा'छ,' विनोदले भने। विनोदको गाउँको घरचाहिँ काभ्रेपलाञ्चोक हो। सानैदेखि गोदावरीमै बस्दै आएको उनले बताए। निरोज विद्यासागर बोर्डिङ स्कुलमा, निशान र सायुर सिद्धेश्वर स्कुलमा पढ्दा रहेछन्।

चिसो एकदम बढिसकेको छ। यो चिसो मौसममा साथीहरू के गर्दा रहेछन् त? 'हामी बिहान–बेलुका आगो बालेर हात खुट्टा सेक्छौं,' उनीहरूले भने। रातो टोपी र नीलो मफ्लर लगाएका निरोजले भने, 'म त जाडोमा सुइटर, पाइन्ट, गलबन्दी र ज्याकेट लगाउँछु।' गोदावरीतिर जाडोमा निकै चिसो हुने उनीहरूले बताए।

उनीहरू फुर्सदमा क्रिकेट, फुटबल र चुंगी खेल्दा रहेछन्। 'खेल्दा पनि पढ्दा पनि हामीलाई रमाइलो लाग्छ। जाडोमा केही नगरी घाम तापेर बस्दा झनै मजा हुन्छ,' विनोदले भने। निशान र सायुरको परीक्षा चलिरहेको रहेछ। परीक्षा सकिएपछि उनीहरूको जाडो बिदा हुन्छ।

बिदामा के गर्छौ त? सायुर माझीले फेरि हाँस्दै भने, 'त्यस्तै हामेवर्क गर्ने, खेल्ने र आगो ताप्ने। बिदामा साथीसँग खेल्दा रमाइलो हुन्छ।'

प्रकाशित: ५ पुस २०७० २२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App