दुई घन्टाको ट्रान्जिटमा प्रशासकीय प्रक्रिया पूरा गर्दागर्दै समय सकिएछ। त्यहाँबाट बर्मिङ्घमको लागि उड्नुपर्नेे विमानले हामीलाई त्यत्तिकै छोडिसकेछ।
अमेरिकी भूमि टेक्नासाथ हामीलाई विपत्तिले स्वागत गरेको थियो। आफ्नै कारणले विमान छुट भएमा अर्काे दिनसम्मको लागि आफ्नो व्यवस्था आफैं गर्नुपर्ने। हामी चार जनामध्ये सासू–आमाले ह्वील चेयरको उपयोग गर्नुभएकाले उहाँका लागि अमेरिकी एयरले बासको व्यवस्था गर्ने भयो। हामी भने शरणार्थीझैं हुने भयौं। सासू–आमालाई एक्लै छोड्न नमिल्ने हुनाले उहाँका लागि व्यवस्था गरिएको होटलमा कोठा माग्यौं तर होटल भरिभराउ थियो। सासू–आमाको स्वास्थ्यलाई ढाल बनाएर केही बेर दलाल गरेपछि उहाँकै कोठामा बस्ने अनुमति पायौं। ठूलो कोठा, दुईटा बेड। हामीलाई ढलीमली भयो।
भोलिपल्ट बिहान ६ः३० को विमानबाट हामी स्यार्लाेटतिर उड्यौं। त्यहाँबाट अर्काे विमानमार्फत अन्तिम गन्तव्यको हवाई मैदान उत्रनु थियो– बर्मिङ्घम।
बिहान अमेरिकी आकाश छ्यांग उघि्रएको थियो। टाढा–टाढासम्म पनि बादलका टुक्रा कतै देखिँदैन थिए। मन एक तमासकोे भएको थियो। विमानको सानो ‰यालबाट बाहिर चिहाएर हेरिरहेँ। आकाश नीलो थियो, हाम्रै काठमाडौंमाथिको जस्तै। धेरै टाढा पुगेर त्यो आकाशले पृथ्वीसँग ओठ जोडेको देखिन्थ्यो। तल जमिनमा जंगलै जंगल। काठमाडौंमा हुँदा टेलिभिजनमा देखिएको अमेरिका त्यहाँ थिएन। एक सय १० तलाका जुम्ल्याहा भवनको गर्व गर्ने अमेरिकामा घन्टौं उड्दा पनि जमिनमा कतै सहर वा बस्ती देखिएन। आँखाले भ्याएसम्म जंगल, ताल, पोखरी, नदीमात्र थियो। बेलाबेला कतैकतै फुस्रा घरका छानाजस्ता देखिन्थे। हाम्रो देशको आकाशबाट तल हेर्दा पहाड, नदी, जंगल, हिमाल र खुइलिएका डाँडा देखिन्छन्, तर अमेरिकी आकाशबाट देखिने तलको दृश्य थियो– समतल भूमिमा फैलिएको जंगलको हरियो फैलावट। जंगल देख्दा जति खुसी लागे पनि पहाड नदेख्दा भने कस्तोकस्तो सुन्दरतामा केही नपुगेझैं लाग्यो। यस्तै लागेको थियो मलाई, सन् २००९ मा बर्लिन पुगेका बेला। मैले मी उल्फेलाई सोधेको थिएँ, 'यहाँ पहाड हुँदैन?' म पहाडै–पहाड भएको देशमा जन्मेकोले होला पहाड नभएको ठाउँ सुन्दर नै नलाग्ने। साँच्चै त्यो समथरमा केही अपुग लागिरहेको थियो।
विमानले अवतरणका लागि आफ्नो उचाइ घटाउँदै गयो। बिस्तारै देखिँदै गए घरहरू, बाटा, मैदान, गाडी। तैपनि घरहरू त्यस्ता ठूला देखिएनन्। जंगलभित्र फाट्टफुट्ट फुस्रा छाना देखिँदै–हराउँदै गर्थे। मनमा कौतूहल छँदै थियो– कस्तो न होला अमेरिका! तर, हाम्रैतिरका जस्ता ससाना घरहरू नै रहेछन् त्यहाँ पनि। विमानबाट उत्रिँदा जहिले पनि सफा, व्यवस्थित र सुन्दर ठाउँमा पाइला पर्थे, आश्चयै लाग्ने गरी।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दा लागेको थियो– कत्रो छ है हाम्रो देशको विमानस्थल! पाँच घन्टापछि जब हामी कतार विमानस्थलमा थियौं, म त अघि नै अलल्लिए जस्तो भएको थिएँ। जिस्कँदै भनेँ मञ्जुजीलाई, 'मञ्जुजी! हेर्नु त यहाँका मानिसले जमिन के साह्रो बिगारेछन् सिमन्टी दलेर!' अनि हाँस्यौ मज्जाले।
अमेरिका उत्रेपछि दिनदिनै अलिअलि गर्दै त्यहाँका कुरा बुझ्दै गइयो। जति बुझ्दै गएँ त्यति नै बुझ्न छोडेँ। जुन कुरा हाम्रा लागि असम्भवजस्तै हुन्छन्, त्यहाँ ती कुरा अति सामान्य थिए। त्यहाँको सबभन्दा गरिब मानिससँग पनि एउटा कार थियो, जब यहाँको सबभन्दा धनी मानिससँग बल्लबल्ल एउटा कार हुन सक्छ। त्यहाँ प्रत्येक मानिससँग कार हुनु सम्पन्नताको विषय होइन बरु आवश्यकीय बाध्यता रहेछ। सार्वजनिक सवारीका साधनका भरमा काममा जान–आउन असजिलो हुनाले प्रत्येक व्यक्तिका लागि कार उसको खुट्टा हो, त्यो नभई ऊ कहीँ पुग्न सक्दैन। दुई डलरको तेल हालेर पनि ऊ कार हाँकिरहेको हुन्छ। कतिपय कारधनी ग्यास स्टेसनमा तेल हाल्न आउने अर्काे कारलाई पर्खिबसेका हुन्छन् र आफ्नो विपन्नता देखाउँदै केही तेलको सहयोग मागिरहेका हुन्छन्।
गतिछाडा मान्छे जहीँ पनि हुँदा रहेछन्। अमेरिकामा पनि अर्काको लुट्ने, माग्ने भेटिँदा रहेछन्, तर माग्नेहरू हाम्रातिरका जस्ता घिनलाग्दा र जबर्जस्ती गर्ने भेटिएनन्। तर कतिपय भने कार कुनामा थन्क्याई छेउमा पैसा मागिरहेका हुन्छन्, एउटा हातमा प्लास्टिकको ग्लास थापेर। कसैकसैले एक–दुई पैसा खसाल्दै पनि हुन्छन्। तर धेरैले माग्नेलाई पैसा दिँदैनन्। पुलिसले भेट्यो भने त्यस्तालाई कारबाही गर्छ।
काम गर्न नसक्ने वा बेरोजगारलाई सरकारले 'फुड स्टाम्प' दिएको हुन्छ तर त्यसलाई केही दिनमै फुर्मास गरेर कतिपय माग्न निस्कन्छन्। नसालु पदार्थसेवीहरू धेरैजसो यस्तो अवस्थामा पुगेका हुँदा रहेछन्। मानिसको बाँच्न पाउने अधिकारलाई सुरक्षित गरेको त्यस देशले एउटा पनि जनतालाई भोकै मर्न नदिँदो रहेछ, तैपनि त्यस्ता गतिछाडा जानी–जानी भोकभोकै हुने र घरविहीन बन्दा रहेछन्। अमेरिकी सौन्दर्यमा मानिसहरूको यो अवस्था जुनमा देखिने दागजस्तो लाग्यो मलाई।
मलाई लाग्यो– अमेरिकाको विकास र सुन्दरता भनेको त्यहाँका नागरिकले गरेको मेहनत नै हो। प्रत्येक व्यक्ति सधैं काममा छ र व्यस्त छ। हप्ताको दुई दिन छुट्टीमा समेत पनि अतिरिक्त काम गरिरहेका हुन्छन्। घन्टे जागिरमा अल्भि्कएकाहरूलाई काम नगरी बितेको एक–एक घन्टा आर्थिक नोक्सानीको विम्ब बनेको अनुभूत हुन्छ। एक–एक सेकेन्डसँग आर्थिक आकर्षण जोडिएको हुँदा मानिस स्वस्फूर्त काममा पुगिरहेका हुन्छन्। देशको प्रत्येक व्यक्ति दिनको न्यूनतम आठ घन्टा काम गर्छ भने त्यो देशमा 'पेन्डिङ' काम नै के हुँदो हो? अनि सम्झेँ– हाम्रो देशमा हामी सरदर कति घन्टा काम गर्छाैं? सरकारले तोकेको अनिवार्य आठ घन्टे जागिरमा समेत हामी हाजिर गरेर घुमेर, गफ गरेर, अर्काको कोठाकोठा चहारेर बिताइरहेका हुन्छौं। खेती गर्ने किसान वर्षमा दुई बाली फलाएर चित्त बुझाइरहेको हुन्छ, त्यसमा पनि आफ्नो परिवारलाई वर्षदिन खान पुग्ने अन्न फलाउन सक्यो भने ऊ सन्तुष्ट हुन्छ। उद्योगधन्दाहरू वर्षमा कति दिन चल्छन्?
अनि सोचेँ– हाम्रो देशका मान्छे के साँच्चै अल्छी, कामचोर र फटाहा नै हुन् त! यहाँका मानिसबीचको अकर्मन्यता के उनीहरूको दोष हो! जब मैले बुझेँ, त्यहाँ प्रत्येक कुरा एउटा प्राविधिक सिलसिलामा चलेको छ। व्यक्तिको मनोगत निर्णयबाट त्यहाँ केही हुन सक्दैन र सबै कुरा 'सिस्टम' भित्र छ। लाग्यो– विचरा हामी! यति धेरै शक्ति र सामर्थ्य हुँदाहुँदै पनि बेरोजगार, गरिब र चेतनशून्य छौं। हामीलाई कामतिर आकर्षित गर्नै नसक्ने सरकार नै हाम्रो अतिरिक्त बोझ छ। सरकारले जनता पाल्नुपर्छ त्यहाँ। त्यहाँ प्रत्येक व्यक्तिको जीवनको ग्यारेन्टी सरकारले गर्नुपर्छ, तर यहाँ हामीले सरकारलाई पाल्नुपर्छ, सरकारी कर्मचारीलाई पाल्नुपर्छ र यहाँका भ्रष्टाचारीलाई जोगाउनुपर्छ। जब कुनै भ्रष्टाचारी जेलबाट सजाय काटेर निस्कन्छ, त्यसलाई जेलको ढोकैमा पुगेर हामी फूलमाला पहिर्याउँछौं, मानौं उसले भर्खरै राष्ट्रका लागि महान् काम गरेर आएको छ, जबकि यही देश र जनताका लागि मरेका सहिदहरूको चिहानमा एक थुँगो फूल चढाउनु पनि हामीलाई मूर्खताजस्तो लाग्छ। उनीहरूले विकास गरेको 'विकासको सिस्टम' र हामीले विकास गरेको 'मूर्खतापूर्ण संस्कार' का बीच कस्तो तुलना गर्नु!
यदि नेपाली जनता अल्छे, कामचोर, र विवेकशून्य थिए भने तिनीहरूले विदेशमा गएर अरूले भन्दा बढी र कडा परिश्रम कसरी गरिरहन सकेका छन्? वैदेशिक रोजगारमा गएका, सेनामा जागिर खान गएका वा विकसित मुलुकमा 'वर्क पर्मिट' पाई स्थायी बसोबास गर्न गएकाहरू त्यहाँ कसरी अरू देशका कामदारभन्दा कडा परिश्रम गरिरहन सकेका? आज विदेशमा गएर पनि नेपाली श्रमिकले अरू देशका मानिसको तुलनामा इमानदार, मेहनती र आज्ञाकारीको रूपमा इज्जत कमाएका छन्।
मैले देखेँ, अमेरिकामा रहेका नेपाली अत्यन्त मेहनती छन्। दिनको १५–१६ घन्टासम्म पनि उभिएर काम गरिरहेका हुन्छन्। काम दिने संस्थामा सबैभन्दा बढी समय नेपालीहरू एकै ठाउँ टिकिरहेका हुन्छन्। नेपालमा हुँदा फिटिक्कै काम नगरी घुमेर खानेहरू त्यहाँ काम गर्न नपाएको दिन त्यसै खेर गएकोमा पीर मानिरहेका हुन्छन्। किन र कसले यस्तो पार्यो? सबैले काम गरिरहेका ठाउँमा आफूमात्र बेकार बस्न कसलाई मन लाग्छ र? अनि खोई त हाम्रो देशमा सरकारले काम दिन सकेको? खोई यहाँको खेर गइरहेको प्राकृतिक स्रोत र साधनलाई बलवान पाखुरी दिएको? आज संसारभर अन्न बाँड्ने अमेरिका सबैभन्दा बढी काम गरिरहेको छ। सुतेको छैन, उभिएको छैन, ढल्केको छैन। रामदेवजस्तो पलेँटी कसेर भुँडी हल्लाइरहेको छैन। न सप्ताह पुराण लगाएर बसेको छ, न भजन कीर्तन र तेह्र दिने किरिया कर्ममा अलमलिएर सुस्ताएको छ। त्यसले कुनै पीसी सरकारको जादूको लठ्ठी हल्लाएर त्यसको शक्तिबाट अन्तरिक्ष यात्रा थालेको हेाइन, न अरूका कुरा काटेर, आलोचना गरेर, छिमेकीको घरको जाँतोमा चौथीको रात दिसा गरेर पिँधी दिएर नै विकास गरेको हो।
अमेरिकी साम्राज्यवाद– मुर्दावाद! भनेर नारा लगाउने हामीले, उसका भन्दा कडा परिश्रम गरेर, उनीहरूको चन्दा र अनुदान नलिएर आफ्नै श्रम र पसिनाबाट स्वाभिमानी तिघ्रामा उभिन सके कति राम्रो हुन्थ्यो! कामले नै बन्दो रहेछ देश। श्रमले नै बन्दो रहेछ देश। धेरैपल्ट यस्तो देखेर फर्किएका नेताहरू र सरकार प्रमुखहरूले होइन, कहिल्यै आफ्नो घर आँगन नछोडेका र आफूलाई मात्र पुग्ने कमाइ गर्ने बानी परेका दाजुभाइ, दिदीबहिनीले मात्र यो लेख पढून् भन्ने चाहन्छु। हामीले आफूलाई मात्र पुग्ने गरी मेहनत गर्ने होइन रहेछ। आफूलाई मात्र पुग्न त कति नै चाहिन्छ र? आफूबाहेक टोल–छिमेक, गाउँ, जिल्ला, राष्ट्र र विदेशसमेतलाई पुग्ने गरी गर्नुपर्ने रहेछ मेहनत। मेहनत गरेर मानिस सानो नहुने रहेछ, बरु केही नगरेर सानो हुने रहेछ, हेपिने रहेछ र अरूको दास बन्ने रहेछ।
हामी गरिब भएको अरू धनी भएर होइन रहेछ। हामी गरिब भएको अल्छी भएर, काम नगरेर, छिमेकीको रिस गरेर, अर्काको बालीमा बस्तु फुकाइदिएर, अर्काको खेतको पानी पैनीतिर झारिदिएर, रिस, आरिस र मूर्खताले गरिब भएका रहेछौं। त्यही दिमाग बोकेर संसदमा पुग्छौं, सरकारमा पुग्छौं, र त्यही चरित्रले सत्ता चलाउँछौं।
मलाई आज आफैसँग पनि लाज लागेको छ। मैले २५ वर्ष बैंकमा काम गर्दा साँच्चैको कामचाहिँ कति वर्ष गरे होला? एउटा शिक्षक वा प्राध्यापकले ३०–३५ वर्ष स्कुल कलेज पढाउँदा साँच्चै कति वर्ष पढाउँछ होला? हामी प्रत्येक रोजगार व्यक्तिले आफ्नो पेसामा रहेर साँच्चै कति काम गर्छौ? कामै नगरी तलब–भत्ता पाउनुपर्छ भनेर हड्ताल गर्ने हामीहरूले काम पाउँदाचाहिँ कति गर्छौ? काम नगरी त्यसको दाम लिनु हुँदैन भन्ने जबसम्म हामीमा चेतना हुन्न, तबसम्म देश र देशप्रेमको गीत गाउनु, कविता लेख्नु वा नारा घन्काउनुको अर्थ छैन।
मैले पाँच महिना अमेरिकामा बसेर देखेको र बुझेको एउटा पक्ष हो यो। प्रशंसा र आत्मालोचनाको पक्ष। श्रमको मूल्य हुँदो रहेछ भन्ने पक्ष।
प्रकाशित: ५ पुस २०७० २१:४२ शुक्रबार





