२०४८ यता लगातार उम्मेदवार बन्दै आएका सुशील कोइराला, शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला, बलबहादुर केसी, पदमनारायण चौधरी, अर्जुननरसिंह केसी, रामशरण महत, प्रकाशमान सिंह (०५६ मा राष्ट्रियसभा), फर्मुलाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरी, बालकृष्ण खाँण (०५१ बाहेक), पूर्णबहादुर खड्का (२०६४ मा समानुपातिक) यसपटकको निर्वाचनमा विजयी भएका छन्।
२०५१ देखि लगातार टिकट पाएका विमलेन्द्र निधि, चन्द्र महर्जन, हृदयराम थानी र एनपी सावद पनि यसपटक विजयी भएका छन् भने ०५६ देखि लगातार उम्मेदवार बनेका महेश आचार्य, नारायण खड्का, मोहनबहादुर बस्नेत, रोमी गौचन (०६४ बाहेक), अर्जुन जोशी, रमेश लेखक (२०६४ मा समानुपातिक) र भीष्म आङ्दम्बेले पनि यसपटक निर्वाचन जितेका छन्।
२०६४ मा सभासद बनेका नरहरि आचार्य, नवीन्द्रराज जोशी, सशांक कोइराला, केशव बुढाथोकी, शेखर कोइराला, ध्यानगोविन्द रञ्जित र रामकृष्ण यादव यसपटक पनि विजयी भए। यीसहित अघिल्लो संविधानसभामा प्रत्यक्षतर्फ निर्वाचित १५ नेता यसपटक पुनः विजयी भएका छन्। वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, विमलेन्द्र निधि, रामशरण महत, नारायण खड्का, बालकृष्ण खाँड र अर्जुन जोसीले जित दोहो¥याएका हुन्। अघिल्लो निर्वाचनमा कांग्रेसले ३७ सिट जितेको थियो । त्यतिबेला देउवा दुई क्षेत्रबाट विजयी भएका थिए।
त्यस्तै, ०६४ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका सुधीर सिवाकोटी, अमृत अर्याल, डिकबहादुर लिम्बू, सीतादेवी यादव, आङटावा शेर्पा, अमरेशकुमार सिंह, बहादुरसिंह तामाङ, भीमसेनदास प्रधान, राजेन्द्रबहादुर केसी, उदयशमशेर राणा, इन्द्र बानियाँ, यज्ञबहादुर थापा, चन्द्र भण्डारी, हरिप्रसाद नेपाल, देवकरण कलवार, अब्दुल रजाक, दीपक गिरी, वीरबहादुर बलायर र दीर्घराज भाट यसपटक विजयी हुन सफल भएका छन्।
निरन्तरता भंग
२०४८ को आमनिर्वाचनपछि निरन्तर जनताबाट अनुमोदन हुँदै आएका कांग्रेसका केही प्रभावशाली नेता भने संविधानसभाको दोस्रो निर्वाचनमा पराजित भएका छन्। देशैभरबाट कांग्रेस उम्मेदवारले जितिरहेका बेला केन्द्रीय सदस्यद्वय दीपकुमार उपाध्याय र रमेश रिजाल भने यसपटक पराजित भएका छन् । दैलेखका गणेशबहादुर खड्काले पनि यसपटक जित्न सकेनन्।
त्यस्तै, २०४८ पछिका सबै निर्वाचनमा उम्मेदवार बनेका रामकृष्ण ताम्राकार, दिलेन्द्रप्रसाद बडु र देवेन्द्रराज कँडेल पनि यसपटक पराजित भए । केन्द्रीय सदस्य रामचन्द्र तिवारी, आमोद उपाध्याय, अजय द्विवेदी, अजय चौरसिया, पुष्पा भुसाल, महम्मद अफताब आलम, डिल्लीराज रेग्मी र उमाकान्त चौधरी पनि यसपटक हारेका छन्।
कब्जा जमाउँदै उपत्यका
कांग्रेसले संविधानसभाको दोस्रो निर्वाचनमा उपत्यकाको तीनै जिल्लामा किल्ला गाढेको छ। २०४८ को आमनिर्वाचनमा तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईसमेतको पराजयले उपत्यकामा कांग्रेस कमजोर देखिएको थियो। तर उसले २०५६ पछि काठमाडौंमा उपस्थिति बाक्लो बनाउँदै लगेको छ। अघिल्लो संविधानसभा निर्वाचनमा काठमाडौंका छ क्षेत्र जितेको कांग्रेसले यसपटक काठमाडौंका सात क्षेत्रमा झन्डा फहराएको छ। अघिल्लो पटक जितेको काठमाडौं ३ भने यसपटक गुमाएको छ।
यसपालि भक्तपुर २ मा विजयी भएर कांग्रेसले त्यहाँ पनि आफ्नो उपस्थिति देखाएको छ। ललितपुरका तीनवटै क्षेत्रमा चारतारे झन्डा फहराएको छ। लालकिल्लाको रूपमा परिचित ललितपुरका तीनवटै क्षेत्रमा ५५ वर्षपछि यसपटक कांग्रेसका मदन अमात्य, चन्द्र महर्जन र उदयशमशेर जबराले इतिहास रचेका हुन्। २०१५ को पहिलो आम निर्वाचनमा दुईतिहाइ बहुमत ल्याउँदा समेत ललितपुरमा कांग्रेसले खाता खोल्न सकेको थिएन।
प्रकाशित: ८ मंसिर २०७० २१:५४ शनिबार





