राजधानीसहित उपत्यकाका तीनै जिल्लामा आइतबार दिनभर सवारी जाम भई ट्राफिक अस्तव्यस्त बन्यो। मूल सडक जाम भएपछि भित्री बाटो छिरेका सवारीसाधनहरू त्यहाँ पनि हल न चलको स्थितिमा अड्किएका थिए। यसले भित्री बाटोहरूसमेत ठप्पप्रायः रहे। पैदल यात्रुलाई हिँड्नसमेत सकस भएको थियो।
लामो समयसम्मको ट्राफिक जामले स्कुल, अस्पताल, कलेज र अफिस पुग्नुपर्ने यात्रुले निकै सास्ती भोग्नुपर्यो। बिरामी बोकेका एम्बुलेन्स बढी समस्यामा परे। साइरन बजाउँदै आएका एम्बुलेन्सका निम्ति पनि जामका कारण बाटो खुलाउन सकिएको थिएन।
सरकारले निर्वाचन सुरक्षाका लागि भन्दै उपत्यकाका तीनवटै जिल्लाबाट ७ सय ५० भन्दा बढी ट्राफिकलाई विभिन्न जिल्लामा खटाएको छ। उपत्यकामा ९ सय ६३ ट्राफिक प्रहरीको दरबन्दी भए पनि अहिले जम्मा सयजना छन्। तिनले सडकदेखि प्रशासनसम्म सम्हाल्नुपरेको छ।
'दैनिक हजारजना ट्राफिक साथीले हेरिरहेको उपत्यकाको सवारी व्यवस्थापन एकैचोटि सयजनाले धान्नु परेपछि व्यवस्थापन गर्नै गाह्रो भयो,' ट्राफिक महाशाखा प्रमुख डिआइजी केशव अधिकारीले आइतबार नागरिकसँग भने, 'जसोतसो एकठाउँमा व्यवस्थापन गर्यो, अर्को ठाउँमा फेरि समस्या देखिइहाल्ने रहेछ।'
उनका अनुसार कोटेश्वर, कालिमाटी, नयाँबानेश्वरजस्ता ठाउँमा यसअघि ४५ ट्राफिक रहने गरेकोमा आइतबार जम्मा चार–चार थिए। यस्तै अवस्था उपत्यकाका सबै ठाउँमा रहेको उनले बताए। 'बिहानैदेखिको यो समस्या साँझ अबेरसम्म व्यवस्थापन गर्न हम्मे पर्यो,' उनले भने।
उपत्यकामा निजी तथा सार्वजनिक गरी करिब ३ लाख १५ हजार सवारीसाधन गुड्छन्। यसअनुसार आइतबार एक ट्राफिकले तीन हजारभन्दा बढी सवारी व्यवस्थापन गर्नुपर्ने अवस्था आएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिनभर जाम भएका सडकमा नयाँबानेश्वर, कोटेश्वर, तीनकुने, चाबहिल, जमल, ठमेल, कालिमाटी, लगनखेल, बल्खु, थापाथली, माइतीघर, सिंहदरबार, पुतलीसडक, गौशाला, सोह्रखुट्टे, महाराजगन्ज, त्रिपुरेश्वर, सहिदगेटलगायत छन्। यी स्थानमा राति ८ बजेसम्म सवारी जाम थियो।
ट्राफिक व्यवस्थापनमा समस्या आएपछि चुनावी सुरक्षाका लागि खटिएका म्यादी प्रहरीलाई नै मुख्य–मुख्य सडकमा परिचालन गरिएको थियो। डिआइजी अधिकारीका अनुसार झन्डै ३० म्यादी प्रहरी ट्राफिक व्यवस्थापनमा खटिएका थिए। तर ती म्यादी प्रहरी ट्राफिक व्यवस्थापनमा तालिमप्राप्त नभएकाले चारैतिरबाट ठप्प भएर बसेको सडक खुलाउन उनीहरूलाई हम्मेहम्मे परेको थियो।
म्यादी प्रहरीलाई चुनावी सुरक्षाका निम्ति शारीरिक तन्दुरुस्तीअन्तर्गत कवाज, पिटी, दौड आदि तालिम र संविधानसभा निर्वाचनको आवश्यकता र औचित्यबारे जानकारी दिइएको छ। ट्राफिक व्यवस्थापनको विषय सिकाइएको छैन। बिनातालिम उपत्यकाको व्यस्त सडकमा ओरालिँदा उनीहरू आफैं अन्योलको स्थितिमा थिए। सडकमा खटिएका म्यादीहरूले ट्राफिकजस्तै सिट्ठी फुकिरहेका थिए। हातको इसाराले गाडी रोक्ने र जाने संकेत गरिरहेका थिए। पैदलयात्रुलाई बाटो काट्न पनि सहयोग गरिरहेका थिए। सवारी जाम भने खुलाउन सकेका थिएनन्।
पर्याप्त तालिम नभए पनि म्यादीको सहयोगले धेरै हदसम्म ट्राफिक व्यवस्थापनमा सहयोग मिलेको डिआइजी अधिकारीले बताए। 'उहाँहरूलाई ट्राफिक व्यवस्थापनमा पूर्ण तालिम नदिए पनि सवारी व्यवस्थापन गर्न धेरै सहयोग गर्नुभयो,' उनले भने, 'मुख्य चोकमा खटिएका ट्राफिक प्रहरीको सहायतामा उहाँहरूले सवारी रोक्ने र पैदलयात्रुलाई सहयोग गर्ने काम गर्नुभयो।'
अधिकारीका अनुसार चोकमा खटिएका एक ट्राफिकको सहयोगका लागि चार–पाँच म्यादी प्रहरी थिए। म्यादीसहित विभिन्न स्कुलका विद्यार्थी र स्वयंसेवीहरू पनि खटाइएको उनले जनाए।
प्रकाशित: २४ कार्तिक २०७० २२:२९ आइतबार





