५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

राम र उमेशको अग्रता

काठमाडौं – साविक विजेता राम थापासँगै उमेश नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०१३/१४ को चौथो प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको पहिलो दिन मंगबार संयुक्त अग्रता लिएका छन्।घरेलु कोर्स रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा राम र गोकर्ण गल्फ क्लबका उमेश दुवैले ६७ पारको कोर्समा १ अन्डर ६६ को कार्ड बनाउँदै अग्रता लिएका हुन्। आर्मीका धनबहादुर थापा र पूर्ण शर्मा तथा आरएनजिसीका शिवराम श्रेष्ठ इभन पार ६७ को प्रदर्शनसहित तेस्रो स्थानमा छन्।
एक ओभर ६८ को कार्ड बनाएका यलम्बरसिंह अधिकारी र रवि खड्का छैटौं स्थानमा छन्। त्यस्तै विकास अधिकारी, सिबी भण्डारी र जयराम श्रेष्ठ २ ओभर ६९ का साथ आठौं स्थानमा छन्। धरानका सुमन राईले ५ ओभर ७१ को कार्ड बनाए।
नीरज राणा, विकास बोगटी र टंकबहादुर कार्कीले ४ ओभर ७१ स्कोरका साथ एमेच्योरतर्फ अग्रता बनाएका छन्। शिवराज माझी ७४ को प्रदर्शनसहित चौथो स्थानमा छन्।
दोस्रो होलको वोगीको विरुद्ध चौथो तथा आठौं होलमा बर्डिज प्रहार गर्दै साविक विजेता रामले फ्रन्ट नाइनमा १ अन्डर ३२ को प्रदर्शन गरेका थिए। २ बर्डिज तथा २ वोगी प्रहार गरेका उनले ब्याक नाइनमा इभन पार खेले।
रामजस्तै उमेशले पनि फ्रन्ट नाइनमा १ अन्डर ३२ को कार्ड बनाए जसमा उनले चौथो होलमा बर्डि वनाएका थिए। ब्याक नाइनमा उनले पनि २ बर्डिज तथा २ वोगी प्रहार गरे। नेपालका नम्बर एक व्यावसायिक गल्फर शिवरामले फ्रन्ट नाइनमा १ अन्डर ३२ र ब्याक नाइटमा १ ओभर ३५ को कार्ड बनाए।
चारदिने प्रतियोगितामा ३३ व्यावसायिक र १४ एमेच्योर गल्फर सहभागी छन्। दुई दिनको खेलपछि शीर्ष–२१ ले अन्तिम दुई राउन्डमा प्रतिस्पर्धा गर्नेछन्। सूर्य नेपाल प्रालिको प्रायोजन तथा पिजिएले आयोजना गरेको प्रतियोगितामा कुल ३ लाख ६३ हजार रुपैयाँ पुरस्कार राशि छ। विजेताले ६५, उपविजेताले ४२ र तेस्रो हुनेले ३० हजार रुपैयाँ पाउने छन्।

प्रकाशित: १२ कार्तिक २०७० २१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App