काठमाडौं- किष्ट बैंकका कर्मचारीको योजनामा ८० लाख रुपैयाँ डकैती भएको खुलेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानले बैंकमा टेलर पदमा कार्यरत रोहितलाल श्रेष्ठको योजनामा डकैती भएको देखाएको छ। प्रहरीले डकैतीको मुख्य योजनाकार देखिएका श्रेष्ठसहित ६ जनालाई पक्राउ गरिसकेको छ। स्रोतका अनुसार डकैती गरिएको रकममध्ये ६० लाख रुपैयाँ र एउटा मोटरसाइकल प्रहरीले फेला पारिसकेको छ। अझै पूरै रकम फेला नपरेको भन्दै महाशाखाले अनुसन्धान विवरण र पक्राउ परेकाको सूची गोप्य राखिएको छ। बैंकको ठमेल शाखाबाट कलंकी शाखामा पैसा लैजाने बहानामा एक समूहले फिल्मी शैलीमा बैंकबाट ८० लाख रुपैयाँ लगेको थियो।असोज ९ गते उक्त समूह ८० लाख रुपैयाँ चाहिएको भन्दै कलंकी शाखाको पत्रसहित ठमेल शाखा पुगेको थियो। ग्रुप फोरका सुरक्षाकर्मीसहित आएका बैंक कर्मचारीले ल्याएको पत्रको आधारमा ठमेल शाखाबाट कलंकीका लागि रकम निकासा भयो। तर, कर्मचारी र सुरक्षा गार्डसम्म सबै नक्कली थिए। केन्द्रीय कार्यालयले ठमेल शाखाको खातामा हेर्दा रकम नदेखेर सोधपुछ गरेको थियो। जवाफमा ठमेलले कलंकी शाखाले रकम लगेको बतायो। कलंकीमा सम्पर्क राख्दा आफूहरुले पैसा नल्याएको खुलेपछि डकैती भएको रहस्योद्घाटन भएको थियो।
बैंकले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि अपराध महाशाखाको एक साता लामो अनुसन्धानबाट बैंक कर्मचारीकै योजनामा डकैती भएको खुलेको थियो।
बैंकको पत्रको आधारमा त्यत्रो रकम सहजै दिने कर्मचारीबाट अनुसन्धान अगाडि बढाउँदा श्रेष्ठको योजनाअनुसार सहजै डकैती भएको खुलेको थियो।
अनुसन्धान स्रोतका अनुसार सडक विस्तारमा घर गुमेको र पारिवारिक ऋण बढेपछि श्रेष्ठले समूह बनाएर डकैती योजना बनाएका थिए। डकैतीका क्रममा प्रयोग भएको नक्कली पत्र उनले नै बनाइदिएका थिए।
एक शाखाबाट अर्को शाखामा रकम लैजाने प्रयासबारे जानकार श्रेष्ठले पत्रको आधारमा रकम निकालेर सहजै उम्कन आफ्नो समूहका सदस्यलाई बैंकको नक्कली कर्मचारीसँगै ग्रुप फोरको नक्कली सुरक्षागार्डको समेत व्यवस्था गरेका थिए।
अनुसन्धानस्रोतका अनुसार श्रेष्ठकै योजनाअनुसार गाडीसहित कलंकी शाखा प्रमुखको हस्ताक्षर भएको पत्र बोकेर आएका नक्कली कर्मचारीले सहजै बैंकबाट ८० लाख रुपैयाँ लिएर फरार भएका थिए।
प्रकाशित: २१ आश्विन २०७० २०:१९ सोमबार