सर्लाही — प्रहरी कार्यालयभन्दा २ सय मिटर दूरीमा रहेको मलंगवा स्थित नापी कार्यालयमा बम विस्फोट भएको छ। बिस्फोटमा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।
घाइतेहरुको सर्लाही जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ। बिस्फोटमा नापी अधिकृत नागेन्द्र राय, सेवाग्राही सर्लाही रामवनका गौरीशंकर महतो, हेमपुरका राजकिशोर राम गम्भिर घाइते भएका हुन्। महतोलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट २ सय मिटरको दुरीमा रहेको नापी कार्यालयमा ११ बजेर ४५ मिनेटमा अज्ञात समुहले बम विस्फोट गराएको हो। झोलामा राखिएको बम बिस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन्। बिस्फोटपछि मलंगवा त्रसित छ। घटना स्थलमा प्रहरीले नाकाबन्दी गरेको छ।
बिष्फोटले नापी कार्यालयको काउन्टर क्षतिग्रस्त भएको छ भने कार्यालयको कागजात जलेका छन्। घटनास्थलमा रहेका प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले बम बिष्फोट कस्ले र किन गरायो भन्ने अनुसन्धान भइरहेको बताए। अहिलेसम्म घटनाबारे कसैले जिम्मेवारी लिएका छैनन् ।
बम बिष्फोट भएको ठाउँ जिल्ला प्रहरी कार्यालय २ सय मिटर पश्चिम मात्रै छ।
प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराइको नेतृत्वमा तत्कालै प्रहरी घटना स्थलमा पुगेर घाइतेहरुको उद्धार गरेको छ। गम्भीर घाइतेहरुलाई उपचारका लागि अन्यत्रै पठाउने तयारी भइरहेको छ। यता नेपाल बैक आसपासको क्षेत्रमा समेत बम राखिएको शंकाले प्रहरी परिचालन बढाइएको छ।
प्रकाशित: २८ भाद्र २०७० ०१:४६ शुक्रबार





