आज जनवरी ८ तारिख विश्व प्रसिद्ध सैद्धान्तिक भौतिकशास्त्री स्टीफन हकिङको जन्मजयन्ती हो। सन् १९४२ को आजैका दिन इङ्ल्यान्डको अक्सफोर्डमा जन्मिएका थिए।
उनले ब्ल्याक होल र सामान्य सापेक्षताबिच क्वान्टम यान्त्रिकीको सम्बन्धलाई नयाँ ढंगले व्याख्या गर्दै आधुनिक भौतिकशास्त्रमा अमूल योगदान दिए। हकिङले अक्सफोर्डको युनिभर्सिटी कलेजबाट स्नातक र क्याम्ब्रिजको ट्रिनिटी हल्बाट विद्यावारिधि गरेका थिए।
सन् १९६० को दशकको सुरुवातमै एमियोट्रोफिक लेटरल स्क्लेरोसिस रोग लागे पनि उनले अनुसन्धानमा निरन्तरता दिए। शारीरिक अशक्तताबिच पनि उनले ब्ल्याक होलबाट विकिरण निस्कने अवधारणा प्रतिपादन गरे, जसलाई हकिङ विकिरण भनिन्छ। यसले ब्ल्याक होलले ऊर्जा उत्सर्जन गर्दै वाष्पीकरण हुन सक्ने सैद्धान्तिक आधार दियो।
उनले अन्तरिक्ष समयको एकवचनता, साना ब्ल्याक होल र ब्रह्माण्डको उत्पत्तिबारे पनि गहिरो अध्ययन गरेका थिए। उनले ब्रह्माण्डको साँच्चै सुरुवात छ कि छैन र क्वान्टम मेकानिक्सले यसको उत्पत्तिलाई कसरी आकार दिन्छ भन्ने प्रश्न गर्दै बिग ब्यांगको प्रारम्भिक क्षणहरूको पनि अन्वेषण गरेका थिए।
सन् २००७ मा परिमार्जित बोइङ ७२७ विमानमा शून्य गुरुत्वाकर्षणको अनुभव लिएर उनले विज्ञानप्रतिको जिज्ञासा र साहसको उदाहरण प्रस्तुत गरे। उनको योगदानको सम्मानमा रोयल सोसाइटीको कोप्ले पदक, अमेरिकी राष्ट्रपतिको स्वतन्त्रता पदकलगायत थुप्रै पुरस्कार प्रदान गरिएको थियो।
सन् २००८ मा उनले क्यानडाको पेरिमिटर इन्स्टिच्युट फर थ्योरेटिकल फिजिक्समा अनुसन्धान निर्देशकको जिम्मेवारी सम्हालेका थिए। हकिङ सन् २०१८ मार्च १४ मा ७६ वर्षको उमेरमा दिवंगत भएका थिए। एजेन्सीको सहयोगमा
प्रकाशित: २४ पुस २०८२ ११:१४ बिहीबार





