२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
अन्य

हरिवंश अब किताब लेखक

काठमाडौं, चैत ९ (नागरिक)- दर्शकलाई हँसाउँदै आएका कलाकार हरिवंश आचार्य अब किताब लेखकको रुपमा प्रस्तुत हुँदैछन्। उनले लेखेको संस्मरणात्मक जीवनी 'चिना हराएको मान्छे' चैतको अन्तिमदेखि बजारमा आउँदैछ। फाइनप्रिन्टले प्रकाशन गर्न लागेको किताबबारे बिहीबार पत्रकारहरुमाझ हरिवंशले भने, 'जिन्दगीका भोगाइहरुलाई बोलिचालीको भाषामा लेखेको छु।'
पहिलो पत्नी मिरा आचार्यको दोस्रो वार्षिक पूण्यतिथिको दिन अर्थात् आगामी वैशाख ७ मा हरिवंशले आफ्नो किताब विमोचन गर्नेछन्। बिहीबार उनी र प्रकाशक फाइनप्रिन्टका निरज भारीले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरे।
'म जन्मिएपछि शुभ होस् भनेर बाउआमाले मेरो चिनामा एक तोला सुन बेरेर राख्नुभएको रहेछ, पछि चोरले सुन चोर्ने बेला मेरो चिना पनि हराइदिएछ,' किताबको शीर्षकसँग जोडिएको किस्सा हरिवंशले सुनाए, 'आज यदि त्यो चोर बाँचेको रहेछ भने, मेरो किताबको नाम सुनेर खुसी हुनेछ होला।'
चिना हराए पनि आफू जन्मिएको महिना र यससँग जोडिएका जनविश्वासबारे उनी प्रष्ट छन्। 'म कात्तिकमा जन्मिएको हुँ, त्यसैले म आफूलाई कुकुरसँग तुलना गर्न रुचाउँछु,' उनले व्याख्या गरे, 'कुनै कुकुरले एसीवाला गाडीमा चढेर मालिक्नीको काखमा बस्ने सुख पाउनसक्छ त कुनै कुकुरले गल्लीमा मान्छेको लात्ती सहनुपर्ने दुःख पनि पाउनसक्छ, मैले जीवनमा दुवैखाले अनुभव बटुलेको छु।'
कुकुरले जस्तै आफूले भोगेका दुःख र सुखलाई किताबमा समेटिएको हरिवंशले बताए। पत्नी मिराको मृत्युपछिको वियोगमा एक वर्ष बिताउँदा आफूले केही लेखहरु लेखेको र त्यहीँबाट किताबको गृहकार्य सुरु भएको उनको कथन छ। 'कतिपय प्रसंग लेख्दा आँसु झर्थ्यो र आँसुले अक्षरहरु फुल्थे,' उनले सम्झे, 'आफ्नो जीवनका महŒवपूर्ण घटना र प्रसंगहरु टिपोटमा लेखेर राख्ने बानीले पनि मलाई किताबमा सहयोग पुग्यो।'
उनले आफूलाई घचघच्याउने र लेखनमा सुझाव दिने रवीन्द्र समीर र अमर न्यौपानेप्रति आभार व्यक्त गरे। बाल्यकालदेखि रमिलासँगको दोस्रो बिहेसम्मको प्रसंग उनले किताबमा समेटेका छन्। किताबमा समेटिने मदनकृष्ण श्रेष्ठसँगका प्रसंगहरुमा चाहिँ उनी आफूलाई लेखकभन्दा संकलक बताउन चाहन्छन्। किताबबाट उठ्ने पैसा पहिलो पत्नी मिराको नाममा हुने सामाजिक सेवाका गतिविधिमा खर्च गरिने हरिंवशको योजना छ।
हरिवंशको 'चिना हराएको मान्छे'को पाण्डुलिपि पहिलोपटक पढेर सुझाव दिएका रवीन्द्र समीरले यो कृति अहिलेसम्मकै 'बेस्ट सेलर' बन्ने दाबी गरे। 'भोक, प्यास र निन्द्रा बिर्सिने गरी यो किताबले पाठकलाई समात्छ,' रवीन्द्रले भने, 'भाषालाई नबुझिने बनाउन सजिलो छ तर सरल बनाउन एकदम गाह्रो। हरि दाइले आफ्नो किताबलाई एकदम सरल लेख्नुभएको छ।'
प्रकाशक निरज भारीले हरिवंशको किताब छाप्न पाउनुलाई जिन्दगीको सबैभन्दा ठूलो उपलब्धिको रूपमा उल्लेख गरे। 'उहाँले धेरै बार्गेनिङ गर्नुभएन, हामीले पनि प्रेमिकालाई प्रेमीले जसरी आश्वस्त पार्छ, त्यसैगरी उहाँलाई आश्वस्त पार्यौं ,' निरजले भने, 'अन्ततः उहाँले हाम्रो प्रकाशन गृह नै रोज्नुभयो, हामीले उहाँलाई नयाँ दुलही झैं महŒवपूर्ण मानेका छौं।'
अर्का प्रकाशक अजित बरालले वर्षको अन्त्यमा 'चिना हराएको मान्छे' निकाल्नु भनेको आफूहरुका लागि 'आइसिङ अन दि केक'जस्तै भएको बताए। उनको अनुमान छ, 'यो किताब ५० हजारको हाराहारीमा बिक्नेछ।'

प्रकाशित: ८ चैत्र २०६९ २३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App