आफूलाई १२ वर्षीया बालिका दाबी गर्दै एक परिवारलाई १४ महिनासम्म धोका दिने ३७ वर्षीया महिला ब्राजिलमा पक्राउ परेकी छन्।
दक्षिणी सान्ता क्याटरिना राज्यको प्रहरीका अनुसार अमान्डा मारिया सौजा डे ओलिभेरा नामकी ती महिलाले 'गेब्रिएला' नाम राखेर १२ वर्षीया बालिका भएको नाटक गरिरहेकी थिइन्।
उनले चर्चका पास्टरलाई भेटेर आफू, दुर्व्यवहार गर्ने परिवारबाट भागेको बताएपछि चर्चका सदस्यहरूले आर्थिक सहयोग गर्दै उनलाई एउटा परिवारसँग भेटाएका थिए। परिवारको विश्वास जित्न उनले आफूलाई अटिजम र अन्य स्वास्थ्य समस्या भएको झुटो दाबी गरिन्। वयस्क जस्तो देखिने आफ्नो शारीरिक बनोटलाई ढाकछोप गर्न उनले बाल्यकालमा जबरजस्ती हर्मोन उपचार गराइएकाले यस्तो भएको तर्क गरेकी थिइन्।
आफ्नो भेष बदल्न उनले बच्चाले जस्तै व्यवहार गर्ने, प्यासिफायर (चुस्नी), दूधको बोतल र खेलौनाहरू नियमित प्रयोग गर्ने गर्थिन्। सो परिवारले उनलाई आफ्नै छोरी जस्तै पालेर राखेका थिए, उनको कथित १२ औँ जन्मदिन मनाएका थिए। उनलाई धर्मपुत्र बनाउने प्रक्रिया समेत सुरु गरेका थिए। तर परिवारका एक आफन्तलाई शंका लागेर अनलाइन खोजी गर्दा उनको वास्तविक पहिचान र अन्य राज्यमा गरेका यस्तै ठगीका घटनाहरू बाहिर आए।
प्रहरी सोधपुछका क्रममा अमान्डाले आफ्नो अपराध स्वीकार गरेकी छन्। हाल उनलाई जोइनभिल क्षेत्रीय कारागारमा राखिएको छ। प्रहरीका अनुसार उनी साओ पाउलो र रियो दि जेनेरियोसहित ब्राजिलका कम्तीमा सात राज्यमा यसअघि पनि फरक नाम र परिचयमा यस्तै अपराधमा संलग्न भइसकेकी छन्। उनका वकिलले यो कार्य पछाडि मनोवैज्ञानिक समस्या हुन सक्ने भन्दै मानसिक स्वास्थ्य परीक्षणको माग गरेका छन्। एजेन्सी
प्रकाशित: २७ जेष्ठ २०८३ १२:१५ बुधबार





