हलिउडका बेलायती नायक रबर्ट प्याटिन्सन र हिरोइन क्रिस्टन स्टेवार्टको घनघोर रोमान्स चलिरहँदा क्रिस्टनले बबाल धोका दिएपछि दुवैबीच पानी बाराबार भयो। पछिल्लो फिल्म 'स्नो ह्वाइट एन्ड द हन्ट्सम्यान' का निर्देशक रुपर्ट स्यान्डर्ससँग क्रिस्टनको यौन सम्पर्कसहित अफेयर नै रहेको सार्वजनिक भयो।
यसपछि उनले सार्वजनिक रूपमा रबर्टसँग माफीसमेत मागिन्। रबर्टसँग रोमान्स टुक्रिनुपूर्व क्रिस्टन लस एन्जलसस्थित रबर्टको घरमा नै बस्ने गर्थिन्। खासमा लस एन्जलसको त्यो घर रबर्टले क्रिस्टनका लागि किनेका थिए। रोमान्स टुटेपछि भने क्रिस्टनले केही दिनपहिले ४८ लाख अमेरिकी डलर खर्चेर आफ्ना लागि घर किनेकी बताइएको छ। रबर्टको मेख मार्न उनले क्यालिफोर्नियाको मालिबु बिचस्थित पाँच शयनकक्ष सहितको भव्य बंगला किनेको बताइन्छ। तीन तले बंगला वरिपरिको भूदृष्य औधी लोभलाग्दो भएको बताइन्छ। बंगलामा अन्डाकार गेस्ट हाउससमेत छ। २२ वर्षीया सुन्दरी क्रिस्टन आमासहित छिट्टै बंगलामा सर्ने बताइएको छ।प्रकाशित: ३१ भाद्र २०६९ ०२:२५ आइतबार





