काठमाडौं–‘स्वास्थ्यका लागि साइक्लिङ’ भन्ने मन्त्र बोकेर साइक्लिष्टहरू निरन्तर काठमाडौं उपत्यकाका डाँडापाखामा पसिना चुहाइरहेका छन्। कोभिड–१९ का कारण भएको लकडाउन र त्यसपछिको समयमा पनि उनीहरूले साइक्लिङ अभ्यास छाडेका छैनन्।
काठमाडौमा स–साना समूहमा आबद्ध भएर युवाहरूले विशेषतः शनिबार र अन्य विदाका दिनमा साइक्लिङ गर्दै आएका छन्। तर, लकडाउनका बेला एउटा नयाँ समूह जन्मिएको छ–मन्डे साइक्लिङ ग्रुप।
![](https://images.nagariknewscdn.com/third-party/1597569609_Monday%20Cycling%20Group%207.jpg)
नाम ‘मन्डे’ राखिएको भएता पनि यसका सदस्यहरू साताका दुई दिन साइकल कुदाउँछन्। उनीहरू कहिले लाँकुरी भञ्ज्याङ, कहिले शिवपुरी, कहिले बतासे डाँडा त अनि कहिले कालुपाँडे डाँडामा डुल्छन्। यसरी शनिबार र बुधबार उनीहरू साइकलका पाउदानी चलाउँदै प्रकृतिको काखमा पुग्छन्।
ग्रुपका संयोजक हुन्–वाङग्याल घले। ‘पेट घटाउने, ज्यान बनाउने र स्वस्थ रहने अभियान हो हाम्रो’, घलेले भने, ‘हामीले तीन जनाबाट साइक्लिङ यात्रा सुरु गरेका थियौं। अचेल १९ जनासम्म हुन्छौं।’
![](https://images.nagariknewscdn.com/third-party/1597569706_Monday%20Cycling%20Group%202.jpg)
सबै साइकलेहरू बिहान ७ बजे ठूलो भ-याङ (बुद्धचोक)मा जम्मा हुन्छन्। उनीहरू चियाखाजाका लागि जनही दुई सय रुपैयाँ उठाउँछन। त्यसबाट बचेको पैसा लकडाउन पीडितलाई राहतस्वरुप दिन्छन्।
उनीहरू बुधबार ३ घन्टा र शनिबार ५ घन्टा साइकल कुदाउँछन्। उनीहरूलाई प्रयास तामाङले नयाँनयाँ रुट देखाउँछन्।
‘मन्डे साइक्लिङ ग्रुप’ लकडाउनमा जन्मेको हो। संयोजक घलेका अनुसार उनीहरूको ‘मन्डे फुटसल ग्रुप’ पनि छ। जब लकडाउन भयो तब फुटसल खेल्ने वातावरण बनेन्। त्यसैले शारीरिक तन्दुरुस्तीका लागि उनीहरूले साइक्लिङ सुरु गरे।
![](https://images.nagariknewscdn.com/third-party/1597569816_Monday%20Cycling%20Group%203.jpg)
पहिलो दिन वाङग्याल घले, छिरिङ नोर्बु र सोनाम गुरुङ तीन जनाले सेतो गुम्बा क्षेत्रमा साइकल कुदाएका थिए। त्यसपछि समूहमा बिस्तारै सदस्यहरू थपिँदै गए। नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी पनि समूहका सदस्य हुन्।
‘हामी साइक्लिङ मात्र गर्दैनौं’, महासचिव राजभण्डारीले भने, ‘आपसी अनुभव समेत साटासाट गर्छौं।’
सदस्यहरूबीच आपसी सद्भाव र आत्मीयता बढ्दै गएको छ। ‘साइकलमा सामाजिक दूरी कायम हुन्छ’, संयोजक घलेले भने, ‘साइक्लिङबाट स्वास्थ्य सँगै नयाँनयाँ ठाउँ हेर्न, देख्न र बुझ्न पाएका छौं। त्यसैले हामी यसलाई निरन्तरता दिन्छौं।’
![](https://images.nagariknewscdn.com/third-party/1597570137_Monday%20cycling%20Group%20last.jpg)
प्रकाशित: ३२ श्रावण २०७७ ०९:३२ आइतबार