१९ श्रावण २०७७ सोमबार
अन्य

कोरोना

बालकथा

श्यामकृष्ण खुलिमुली

‘आहा, क्या मजा ! घरमा बस्न पाउने भएँ । स्कुल बिदा भयो ।’ प्रतिक खुसीले उफ्रियो ।

कोरोनाले संसारमा महामारीको रूप लियो । त्यो सबै ठाउँमा नफैलियोस् भनेर सरकारले लकडाउनको घोषणा गरयो । त्यसकारण सम्पूर्ण विद्यालयहरू बन्द भए । विद्यालय जान नपरेकै हुनाले प्रतिक खुसी भएको थियो ।

एकदुई दिन घरमा बस्दा त रमाइलो भयो । लकडाउनका कारण बाहिर निस्कन पाएन । ऊ पुस्तक पढेर दिन बिताउन थाल्यो तर पढ्दापढ्दै दिक्क लाग्यो । मोबाइल खेल्यो । त्यो पनि चल्दाचल्दै दिक्क लाग्यो । तीनदिन बितेपछि त वाक्क भयो, ‘कति घरमा कोच्चिएर बस्नु ? बरु विद्यालयमै रमाइलो थियो ।’

उसको आमाबुबालाई पनि घरमा बस्दाबस्दै दिक्क लागिसकेको थियो । आमा उसलाई बेलाबेलामा सम्झाउनुहुन्थ्यो, ‘खोक्दा मुख छोप । माक्स लगाऊ ।’

बुबा पनि सम्झाइराख्नुहुन्थ्यो, ‘बाहिर गएर आएपछि साबुनपानीले हात धोऊ । बाहिर नजाऊ ।’

यसो गर, यसो नगर मात्र भन्दा उसलाई दिक्क लागिसकेको थियो । त्यसैले उसले विचार गरयो, ‘एकचोटि बाहिर निस्कनै परयो । कति घरभित्र बसिराख्ने ?’

दिउँसो आमाबुबा टिभी हेरिराख्नुभएको थियो ।  

‘यही हो मौका।’ उसले विचार गरयो । ऊ घरबाहिर निस्कियो । बाटामा पुग्यो । एकजना मानिस हातमा तरकारी बोकेर गइरहनुभएको थियो । उहाँले ख्वाकख्वाक खोक्नुभयो तर उहाँले मुख छोप्नुभएन ।

त्यो मानिसले खोक्दा पानीको सूक्ष्म छिटा हावासँग प्रतिक भएतिर आयो । त्यसमा कोरोना (कोभिड–१९) भाइरस थियो । त्यो उसको नाक र मुख हुँदै भित्र छिर्न खोज्यो  तर प्रतिकले मास्क लगाएको थियो । त्यसैले भित्र छिर्न सकेन । हातमा टाँस्सिएर बस्यो ।

‘बाहिर त कोही पनि रहेनछ । प्रहरीहरू बसिराख्नुभएको छ । भित्रै जानुपरयो ।’ दुःखी हुँदै ऊ घरभित्रै छिरयो ।

भित्र गएर उसले टेबुलमा राखेको खाजा खान हात अगाडि बढायो । त्यही बेला उसलाई सम्झना भयो, ‘बाहिर गएर आएपछि हात धुनुपर्छ भन्ने कुरा झण्डै बिर्सेको !’

त्यसपछि उसले साबुन दलेर मिचीमिची हात  धोयो । साबुनको फिँज निस्कियो । त्यसले कोरोना भाइरसलाई निस्क्रिय पारयो । त्यसपछि सफा कपडाले हात पुछेर उसले खाजा खायो ।

दुई दिन, तीन दिन भन्दाभन्दै सात दिन भइसकेको थियो । घरभित्र बसिराख्नुपर्दा उसलाई अत्यास लागिसकेको थियो ।

‘एक हप्ता भइसक्यो । कहिले लकडाउन हट्ने होला ?’ ऊ एक्लै फतफतायो, ‘बन्द हुँदा पनि यसरी घरभित्रै थुनिनु परेको थिएन ।’

प्रतिकको कुरा सुनेर मोबाइल चलाएर बसेका बाबुले भन्नुभयो, ‘बाबु, संसारभर महामारी    फैलिएको  छ । दिनदिनै लार्खौ सङ्क्रमित भइरहेका छन् । हजारौं मरिरहेका छन् । लकडाउन हाम्रै सुरक्षाको लागि हो । केही दिन गारहो होला ।’

‘मलाई त दिक्क लागिसक्यो  । दिन बिताउनै गाहो भइसक्यो ।’ प्रतिकले भन्यो ।

‘ल त्यसो भए एउटा गेम खोलौं । लुडो खेलौं  जसले जित्छ उसलाई म पुरस्कार पनि दिन्छु ।’ बुबाले प्रस्ताव राख्नुभयो  । बुबाको प्रस्ताव सुनेर प्रतिक खुसी भयो र भन्यो, ‘ल हुन्छहुन्छ ।’

आमा, बुबा र छोरा प्रतिक तीनजना लुडो खेल्न थाले । सुरुमा त बुबा अगाडि हुनुहुन्थ्यो । तर पछि आमाले टप्नुभयो ।

‘मलाई त राम्रो गोटी नै आउँदैन ।’ प्रतिकले निराश हुँदै भन्यो ।

‘आइहाल्छ नि । खेल्दै गर न ।’ आमाले उसलाई ढाडस दिनुभयो । नभन्दै अन्तमा प्रतिकको गोटी राम्रो आयो । खेल पनि उसैले जित्यो । ऊ त खुसीले चिच्यायो ।

वाचा गरेअनुसार बुबाले उसलाई एउटा पुरस्कार दिनुभयो । प्रतिकले त्यो पुरस्कार खोलेर हेरयो ।

‘आहा, कति राम्रो रोबोट किट । धन्यवाद बुबा ।’ आफूलाई मनपर्ने रोबोट किट पाएकोमा उसले खुसी हुँदै भन्यो । उसको खुसीयालीमा आमा र बुबाले पनि साथ दिए ।

रोबोट किट पाउनेबितिकै प्रतिक कोठामा गयो । अनि रोबोट बनाउन थाल्यो । रोबोट चल्दाचल्दै दिन बितेको पनि पत्तै भएन । दिन ढल्दै थियो । साँझ परयो ।

‘प्रतिक ! पसल खोल्ने बेला भयो । तरकारी किनेर आउ जाऊ ।’ आमाले उसलाई पैसा दिँदै भन्नुभयो । लकडाउन भएकोले किनमेलका लागि भनेर साँझबिहान मात्रै पसल खोल्ने व्यवस्था मिलाएको थियो ।

ऊ झसंग भयो । त्यसपछि ऊ पैसा लिएर पसल गयो । ऊ अरूलाई नछोई सामाजिक दूरी कायम गरी  लाइनमा बस्यो । अनि सुरक्षित तरीकाबाट पसलमा तरकारी किन्यो । तरकारी लिएर घरतिर फर्कियो । एउटा कोरोना भाइरस कता जाउँ कता जाउँ गरिरहेको थियो । ऊ मान्छे ढुकिरहेको थियो । प्रतिकलाई देखेर कोरोना खुसी भयो ।

‘प्रतिक, एकछिन पर्ख न । सँगै जाऔँला ।’ कोरोनाले भन्यो ।

अपरिचित आवाज सुनेर प्रतिक छक्क प¥यो । ऊ पछाडि हेरयो । श्रीपेचजस्तो चुच्चोचुच्चो निस्केको एउटा अजीव जीवले उसको पिछा गर्दैथियो ।

‘तिमी को हौ ?’ प्रतिकले सोध्यो ।

‘म कोरोना भाइरस हुँ । तिमीलाई देखेर सँगै जान मन लाग्यो । त्यसैले ...’ कोरोनाले जवाफ दियो ।

ओहो पर्दैन । मसँग आउनुपर्दैन ।’ प्रतिकले आतिँदै भन्यो ।  

त्यसपछि ऊ दौडियो । कोरोनाले उसको पिछा गरयो । उसलाई कोरोनाले भेट्टायो ।  

‘अब म तिम्रो मुखबाट छिर्छु ।’ हाँस्दै कोरोनाले भन्यो ।  

‘मैले मास्क लगाएको छु ।’ प्रतिकले जवाफ दियो । मास्क भएकोले कोरोनाको प्रयास सफल भएन ।

‘ठिकै छ म तिम्रो हातमा टाँसिन्छु ।’ हाँस्दै कोरोनाले भन्यो ।  

‘मैले पञ्जा लगाएको छु ।’ प्रतिकले पञ्जा देखाउँदै भन्यो । पञ्जा लाएकोले कोरोना त्यहाँ पनि टाँसिन सकेन । त्यसपछि ऊ  लुगामा टाँसिन खोज्यो ।  

प्रतिक  झन् छिटो दौडियो । कोरोना पनि पछि लाग्यो । ऊ लुगामा टाँसियो ।  

‘अब त म तिम्रो लुगामा टाँसिएँ ।’ कोरोना हाँस्यो ।

प्रतिकलाई के गरूँगरूँ भयो । उसलाई डर लाग्यो । त्यहीबेला उसको दिमागमा बत्ती बल्यो । अनुहारमा उज्यालो छायो । उसले आफ्नो लुगा फुकाल्यो र घरबाहिर झुण्ड्यायो ।

‘अब साबुन लाएर धोएपछि थाहा पाउँछौ ।’ उसले कोरोनालाई खुच्चिङ गर्दै भन्यो ।

तर कोरोना पनि के कम र । ऊ फुत्त उफ्रियो र भन्यो, ‘पख, म तिमीलाई कहाँ छाड्छु र ?’

प्रतिक दौडेर घरभित्र छिरयो । कोरोना पनि पछि लाग्यो । तर प्रतिकले ढोका लायो, ‘ढ्याम्म !’

प्रतिकलाई पिछा गरेको कोरोना भाइरस ढोकामा ठोक्कियो । ऊ हिस्स परयो । त्यसपछि ऊ ढोकाको छेस्किनीमा टाँसियो र अर्को मान्छे कुर्न थाल्यो ।

प्रकाशित: ४ श्रावण २०७७ ०५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App