२५ श्रावण २०७७ आइतबार
अन्य

प्रेमिल बाल्यकाल

कमलप्रसाद तिमल्सिना

कमलप्रसाद तिमल्सिना     

मलाई ती दिनहरूको याद झलझली आउँछ जति बेला केटाकेटी नै थिए, त्यो बालापन आमाले भात पकाउनुहुन्थ्यो । मलाई खीर  खान मन लाग्दथ्यो अनि आमाले  त्यही  भातमा  दूध राखेर अलिकति चिनी राखेर खीर बनाइदिनुहुन्थ्यो ।  आहा कति मिठो  खीर अनि सम्झना, बुबा गाउँभरिको खुवा संकलन गरेर कुस्त भारी बोकी चापागाउँ आउने अनि चापागाउँबाट पसलको भारी बोकी फर्कने दैनिकी अनि बुबाको कोसेली यमयम चाउचाउ एक कराई झोल बनाएर खादा दशैँमा खसीको मासु खाएको भान हुने कति रसिलो थियो मेरो बालापन।

भारी बोकेर छोराछोरीलाई ठूलो मान्छे बनाउने सपना थियो मेरो बुबाको स्कुलका सरहरूसँग सधै गुनासो गरेको सुन्थे कर्ण सर, दे सर अनि नन्द सरसँग अनि कर्ण सरले तेरो बुबाको सपना तैले पानीमा मिसाउने भइस् भनिरहनु हुन्थ्यो । अहिले रमाइलो लाग्छ।

स्कुलमा सोझो अनि कमजोर पनि थिए साथीहरूसँग कुस्ती खेल्न नसक्ने साथीहरू बलिया जुध्नु पर्दा  प्रायः  पिटाइ खानुपर्ने नै हुन्थ्यो तर म जुध्न आउने साथीको नाकमा एक मुक्का मार्न पछि पर्दिन थिएँ   ।  केही साथीहरूको नाकबाट रगत आएको अझै ताजा स्मरण छ।

बिस्तार गोटीखेलमा मोटरबाटो सुरु भएसंगै मेरो बुबाको चापागाउँ भारी बोक्ने काम संकट पर्न गयो विकासले मेरो बुबा लगायत धेरको रोजगारी गुम्यो । तत्कालका लागि बुबाले भैसी पालन सुरु गर्नुभयो अनि बुबाको दिनचर्या साउमाराको बन दक्षिण ललितपुरको बनको नाम हुन थाल्यो बिहान उठ्ने     पोल्टोभरि भुटेको मकै बोकेर बर्खा भारी खर घाँस र हिउँद लागेपछि खर्सु, हुकुस आदि घाँस बुबाको  दिनचर्या थियो अनि बीच बाटासम्म घाँसको भारी सघाउने मेरो अनि दिदीको दिनचर्या थियो।

स्कुलबाट घर आयो अहिले जस्तो टिफिन बोकेर वा पैसा बोकेर स्कुल जाने सम्भावना थिएन । बिहान खाना खाएर स्कुल जाने अनि स्कुलबाट फर्किएपछि आमाले भुटेको मकै र मही खाने अनि बुबाको भारी सघाउन जाने सिरान घरसम्म सिरान घरका काका गोल्चौरका काका प्रायः बुबाको साथी हुनुहुन्थ्यो अनि हाम्रो  सिरान घरसम्म भारी सघाउन जान्थ्यौं  सिरान घरकी काकी अति माया गर्नुहुन्थ्यो  –  आऊ बस मोरा हो भन्नुहुन्थ्यो, खाना खुवाउनुहुन्थ्यो । कहिलेकाहीँ त खाना खाएर एक निद्रा सुतेपछि बुबाहरू आइपुग्नुहुन्थ्यो अनि उठेर भारी सघाएर घर आएको सम्झना अति मीठो आउछ।

कक्षा ६– ७ तिर हुँदा गाउँका अरू साथीहरू शनिबार घाँस लिन बन जाने गर्थे । मलाई पनि असाध्य रहर लाग्दथ्यो तर बनसम्म घाँस जाने घरमा स्वीकृति थिएन बुबाको भारी सघाउन मात्र स्वीकृति थियो तर पछि रहरै रहरमा ८  –  १० भारी खर मैले पनि बोके त्यति बेलाको जुकाको आक्रमणले गर्दा अहिले नेपालको कुनै पनि पहाडको जुकादेखि डर नलाग्ने भएको छु।

बिस्तारै गाउँमा मोटरबाटोको विकाससंगै खुवा घोट्ने चलन हट्दै गयो । गाउँमा दूध संकलन सुरु हुन थाल्यो ।  मलाई अलिअलि याद छ दूध बोक्न जीप गएको तर बर्खा लागेपछि भने दूध बोकेर लेले  ल्याउने चलन थियो ।  त्यतिबेला पनि बुबाले दूध बोक्नुभयो अनि त्यति बेला बुबाले पिलपिले घडी किनिदिनुभएको भर्खर जस्तो लाग्छ आलु घडी भन्ने चलन थियो।

मोटरबाटोको विकाससंगै भारी बोक्ने मानिसको कमी हुन थाल्यो – गाउँघरमा भारी बोक्नेभन्दा भैसी पालेर दूध बेच्नेले बढी पैसा कमाउन थालेपछि भारी बोक्ने मानिसको कमी हुन थाल्यो  । दूध उत्पादन त भयो  तर  बर्खा लागेपछि समस्या भारी बोक्ने मानिस नहुदाँ दूध खेर जाने हुन थाल्यो  । बिस्तारैबिस्तारै बाटो सुधार गर्नतर्फ सबै लागेपछि बर्खा पनि गाडी चल्न थाल्यो र लेले दूध बोक्न अध्याय पनि सकियो तर यो दीर्घकालीन भने होइन कहिले थोस्ने खोलामा गाडी रोकियो, कहिले कता, कहिले कहाँ बिहान बुबा बन जाने अनि मेरो डिउटी दूध बेच्न गोटीखेल जाने बर्खा लागेपछि भने कहाँसम्म पुग्नुपर्ने हो कुनै पत्तो हुँदैन थियो । दूध बेच्ने क्रममा मैले कति दिन स्कुल छाड्नुपरेको थियो ।

स्कुले जीवनको सबैभन्दा रमाइलो भनेको बर्खे बिदा हुन्थ्यो ।  नाम चै बिदा स्कुलमा कोचिङ कक्षा संचालन हुन्थ्यो अंग्रेजी, गणित अनि विज्ञानको तीन घण्टा तर घरबाट बिहान निस्कियो बेलुकासम्म स्कुल जाने निहुँमा खेल्न पाइने दिन सारै रमाइलो थियो।

आफ्नो बारीभरि काँक्रा हुन्थ्यो तर पनि किन हो किन अर्काको बारीको काँक्राको बस्न धेरै परसम्म पुग्ने सायद बालापनले गर्दा होला काँक्रा चोर्नु हामी  विद्यार्थीको पराक्रम नै थियो चोरेको काँक्रो आफ्नो बारीको भन्दा कैयौ गुणा मीठो हुन्थ्यो । त्यही भएर होला बालापनको याद सधै मीठो हुन्छ।

कक्षा ७  –  ८ तिर पढ्दा हाम्रो शनिबार अति रमाइलो हुन्थ्यो । गाउँभरि साथी मिलेर पत्कर सोर्न बन जाने चलन थियो अनि फर्कदा खर्का स्कुलको चौरमा गाजी अनि हुतुतु हाम्रो खेल हुन्थ्यो ।  त्यो खेल हाम्रो क्षेत्रमा मात्र खेलिने खेल रहेछ जस्तो लाग्छ । अरू जिल्लामा मैले देखिनँ तर धेरै रमाइलो हुन्थ्यो।

साउन माहिनाको लुतो मिल्काउने संक्रान्ति विशेष रमाइलो हुने गर्थ्यो । लुतो मिल्काउने समूह बनाइन्थ्यो, लुतो मिल्काउने छाप्राका लागि आवश्यक सामग्री कसरी जुटाउने बृहत् बहस हुन्थे, कसले छली पराल ल्याउने खामाबला कसरी व्यवस्थापन गर्ने, समूहमा कसकसलाई सहभागी गराउने अनि अरूको भन्दा बल्ने छाप्रो कसरी बनाउने यस्ता योजना बनाइन्थ्यो तर साउने झरीले हाम्रो छाप्रो कहिले पनि राम्रोसँग बल्न पाउँदैन थियो।

दशैँ हाम्रा लागि अलि विशेष नै थियो किनकि हाम्रो स्कुल ड्रेस घर भित्रने विशेष पर्व नै थियो । हुन त स्कुल ड्रेस भए पनि जन्त जाने मामाघर जाने सबै ड्रेस त्यही नै थियो पोलिस्टरको आकासे रंगको बुस्कोट अनि निलो पाइन्ट एक वर्षका लागि ढुक्क।

तिहार अझ विशेष देउसी खेलेर पैसा कमाउने पर्व मलाई याद छ ६ देखि १६ वर्षको उमेरसम्म लगातार देउसी खेलेको तर रातभरि देउसी खेल्दा १०० रुपियाँ बनाउन हम्मेहम्मे परेको कुनै वर्ष त यस्तो पनि भयो  कि रातभरि देउसी खेल्ने अनि बिहान घरमा आएर सुत्ने भाइटीका लगाउन उठ्नै नसकेर दिदीबैनीले निद्रामा नै टीका लगाइदिएकोसम्म छ ।

अहिले जस्तो टेलिफोन अनि फेसबुकको जमाना थिएन  । रेडियो नेपालको समाचारबाहेक अरू उपाय थिएन ।  सबै घरमा रेडियो पनि हुँदैन थियो । गाउँघरमा जसको घरमा रेडियो छ उसको घरमा साझको घटना र विचार सुन्न वरिपरिका मान्छे जम्मा भएको मलाई याद छ। त्यतिबेला कुन्दन अर्यालले घटना र विचार कार्यक्रम संचालन गर्नुहुन्थ्यो। बिस्तार गाउँ रेडियोको संख्या बढ्दै गयो मेरो घरमा पनि रेडियो २०५० –५१ सालतिर  भित्रिएको जस्तो लाग्छ तर तिथिमिति भने याद छैन रेडियो नेपालबाट प्रसारित सम्पूर्ण कार्यक्रम सुन्न जाँगर लाग्थ्यो तर ब्याट्रीको दुखले  पुरयाईपुरयाई  सुन्नुपर्थ्यो।

रेडियो नेपालबाट प्रसारित बाल कार्यक्रम, मानवअधिकार शिक्षा रेडियो कार्यक्रम, शनिबारको रेडियो नाटक आदि कार्यक्रम नबिराई सुन्ने चलन थियो। अलि हुर्किएपछि ९ –  १० कक्षा पुगेपछि साइनो कार्यक्रम फेमस थियो  । रेडियो नेपालको यस्तैयस्तै रमाइलो हाम्रो बाल्यकाल फेरि फर्किएर आउँदैन । कहिलेकाहीँ त यस्तो लाग्छ फेरि त्यो दिन फर्किदिए पनि कति राम्रो हुन्थ्यो होला।

प्रकाशित: २५ असार २०७७ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App