२३ फाल्गुन २०७७ आइतबार
अन्य

लकडाउनमा रमाइलो

बालकथा

हरिप्रसाद भण्डारी

हरिप्रसाद भण्डारी

रोजले अमेरिकाबाट फोनमा भनिन्, ‘आर्या दिदी नमस्कार ! सन्चै हुनुहुन्छ ?’

‘सन्चै छु । तिमीलाई सन्चै छ ।’ नेपालबाट आर्या बोलिन् ।

आर्या र रोज दिदीबहिनी हुन् । रोज आफ्ना बाबामामुसँग अमेरिकामा बस्छिन् । उनी बस्ने ठाउँ अमेरिकाको उत्तरतिर पर्छ । त्यो ठाउँमा धेरै समय चिसो हुन्छ ।

आर्या भने आफ्ना बाआमा र हजुरबाहजुरआमासँग नेपालमा बस्छिन् । उनको घर तराईको एउटा गाउँमा छ । त्यो ठाउँमा धेरै समय गर्मी हुन्छ ।

अर्को अचम्मलाग्दो कुरा ! अमेरिकामा राति हुँदा नेपालमा दिउँसो हुन्छ । नेपालमा बिहान हुँदा अमेरिकामा बेलुका हुन्छ । कस्तो अचम्म है !

आर्या र रोज दुवै जनाले भिडियो अन गरे । यताको फोटो उता पुग्यो । उताको फोटो यता देखियो ।

‘के गर्दै छौ रोज ?’ फोटामा हेर्दै आर्याले सोधिन् ।

‘भर्खर पार्क घुमेर आएकी हुँ । टिभी हेरेर बसेकी छु ।’ रोजले भनिन् ।

‘आच्या, त्यहाँ कोरोना भाइरस फैलेको छैन र ? लकडाउन पनि होला । यस्तो बेलामा कसरी गयौ त पार्कमा ?’ आर्याले सोधिन् ।

‘कोरोना त छ नि तर पार्कमा त्यति भीड हुँदैन । त्यसैले कहिलेकाहीँ मामुसँग घुम्न जान्छु ।’  मसिनो कपाल हल्लाउँदै रोजले भनिन् ।  

आर्या केही बोलेकी थिइनन् । रोजले सोधिन्, ‘दिदी हजुर, पार्क जानुहुन्न र ?’

हाँस्दै आर्याले भनिन, ‘यहाँ पार्क छैन । यहाँ त खेतबारी छ । हाम्रा खेतमा मकै फलेका छन् । काँक्रा फलेका छन् । आँप ठूल्ठूला भएका छन् । कति रमाइलो छ । अब केही दिनपछि धान रोप्ने बेला हुन्छ, झन् रमाइलो हुन्छ ।’

आर्याका कुरा सुनेर रोज छक्क परिन् । उनले भनिन्, ‘हामीले पनि वालमर्टबाट काँक्रा, आँप र तरकारी ल्याएका छौं । यहाँ हाम्रो खेतबारी छैन क्या रे ! सबै कुरा किनेर खानुपर्छ ।’

केहीबेर खेतीपातीका कुरा भए ।

‘दिदी त्यहाँ लकडाउन छ कि छैन ?’ रोजले सोधिन् ।

– किन नहुनु छ । त्यसैले म खासै बाहिर जान्न । दिनभरि घरमै बस्छु । बुबाले मलाई पिङ् बनाइदिनुभएको छ । भाँडाकुटी ल्याइदिनुभएको छ । त्यै खेलेर बस्छु ।

– दिदी, मेरा पनि कत्ति खेल्ने कुरा छन् । हाम्रोमा सोफी पनि छ ।

‘सोफी भनेको त्यही कालो बिरालो ? मैले फोटामा देखेकी छु । हाम्रोमा पनि सानो कुकुर छ । त्यसको नाम जंगे हो । म दिनमा त्यसैसँग खेल्छु ।’ आर्याले भनिन् ।

केही समय कुकुर र बिरालाका कुरा भए ।

आर्याले भनिन्, ‘त्यहाँ कत्तिको गर्मी छ रोज ? यहाँ त कस्तो गर्मी छ । दिउँसो बाहिर निस्कनै सकिँदैन ।’

– साँच्चि, यहाँ त अझै चिसो छ । अस्तिसम्म बाहिर हिउँ थियो । अहिले हिउँ पग्लेर चौरको घाँस हरियो भएको छ । राम्राराम्रा फूल फुल्न थालेका छन् । कत्ति रमाइलो छ ।

‘हाम्रो यहाँ कहिल्यै हिउँ पर्दैन । बरु असिना पर्छ । अस्ति कत्ति असिना परेको थियो ।’ हास्दै आर्याले भनिन् ।

केही समय हिउँ र असिनाका कुरा भए ।

‘रोज कोरोनाको कत्तिको डर लाग्छ तिमीलाई ?’ आर्याले सोधिन् ।

‘डर त लाग्छ नि । बाबाले भन्नुभएको,घरमै बस्यो भने कोरोनाले केही पनि गर्दैन रे । त्यसैले हामीहरू घरभित्रै बस्छौँ ।’ रोजले भनिन् ।

‘हामी पनि घरमै बस्छौँ । बुबाआमाले खेतमा काम गर्नुहुन्छ । म पनि खेतमा गएर डिग गर्छु । मेरो पनि सानो कोदाली छ ।’

‘कोदाली भनेको के हो दिदी ?’ रोजले सोधिन् ।

‘डिग गर्ने कुरो के त । देखाऊँ, पर्ख है ।’ यसो भन्दै आर्याले सानो कोदाली ल्याएर देखाइन् ।

– आर्या दिदी, कोरोना आएपछि त निकै रमाइलो भएको छ । कोरोना नआउँदा बाबामामु दिनभरि काममा जानुहुन्थ्यो । अहिले त घरमै बस्नुहुन्छ । बाबाले त अफिसको काम पनि घरबाटै गर्नुहुन्छ । म दिनभरि कहिले भाइसँग खेल्छु । कहिले सोफीसँग खेल्छु । कहिले भाँडाकुटी खेल्छु र कहिले टिभी हेर्छु ।

बहिनीका कुरा आर्याले चाख मानेर सुनिन् ।

खुशी हुँदै रोजले भनिन्, ‘दिदी, मलाई नेपाली गीत कत्ति मन पर्छ । हामी टिभीमा सधैं नेपाली गीत सुन्छौं । सयौं थुङ्गा फूल हामी भन्ने गीत त मैले कण्ठै बनाएकी छु, सुनाऊँ ।’

आर्याले भनिन् ‘ए तिमीलाई पनि आउँछ ? ल सुनाऊ ।’ त्यसपछि दुवै दिदीबहिनीले एकै स्वरमा गाउन थाले–

‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली ।

सार्वभौम भै फैलिएका मेची महाकाली ।

प्रकृतिका कोटीकोटी सम्पदाको आँचल

वीरहरूका रगतले स्वतन्त्र र अटल ...!’

प्रकाशित: १७ असार २०७७ १४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App