१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

दुई दिनमै फुत्कियो एमालेका दलबहादुरको टिकट!

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बाँकेको क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अन्तिम समयमा उम्मेदवार फेरेको छ। उक्त क्षेत्रमा दुई दिनअघि मात्र एमालेले पूर्वराज्य मन्त्री एवं संविधानसभा सदस्य दलबहादुर सुनारलाई उम्मेदवार बनाएको थियो। उम्मेदवार बनेपछि निर्वाचन प्रचार–प्रसारमा खटिएका सुनारको टिकट अन्तिम समयमा आएर खोसिएको हो। उनको ठाउँमा एमालेले सुमन मल्ललाई टिकट दिइसकेको पार्टीका केन्द्रीय सदस्य सूर्य ढकालले जानकारी दिए।

‘दुई दिनअघि पार्टीले निर्णय गरेर नै दलबहादुर सुनारलाई उम्मेदवार बनाएको थियो, तर अहिले बस्तु स्थिति बुझ्दा र युवाहरूको माग आएपछि सुमन मल्ललाई टिकट उम्मेदवार बनाएका छौं,’ उनले नागरिकसँग भने। दलबहादुरलाई आगामी दिनमा राष्ट्रिय सभामा लैजाने आश्वासन पार्टी नेतृत्वले दिएको ढकालले बताए। बाँके क्षेत्र नम्बर ३ माकांग्रेसले लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई उम्मेदवार बनाउने लगभग टुंगो लागेको स्रोतले जनाएको छ। यद्यपी, पुनले अझै टिकट हातमा लिइ नसकेको बताएका छन्।

यसैगरी उक्त क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट दिपक जिएम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खगेन्द्र सुनारले उम्मेदवारी दिने तयारी गरेका छन्।

एमालेले क्षेत्र नम्बर १ मा भने प्रतिनिधि सभाका निवर्तमान सांसद समेत रहेका ढकाललाई पुनःउम्मेदवार बनाएको छ। यस्तै क्षेत्र नम्बर २ मा पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईलाई टिकट दिएको छ। उनी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय महासचिव हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले राईलाई आफ्नो चुनाव चिह्नबाट लड्न टिकट दिएका हुन्। बाँकेका तीनवटै निर्वाचन क्षेत्रका लागि मंगलबार (आज) बिहान १० देखि अपरान्ह ५ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने समय राखिएको छ।

प्रकाशित: ६ माघ २०८२ ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App