६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

उकालोको चौतारो

बालकथा

नवराज रिजाल

नवराज रिजाल

‘अहिले  त कत्ति शीतल भयो, आहा ! मज्जा आयो ’ रमिलाले हाँस्दै भनी । 

‘अँ भन्या, अघिसम्मको त्यस्तो गर्मी अहिले त कता भाग्यो कता’  अम्बिकाले थपी ।

ती फेदीबाट हिँडेको एक घण्टा भएको थियो । लगातार ठाडो उकालो हिँड्नु पर्दा तिनीहरूको मन आत्तिनुसम्म आत्तियो । पसीना खलखली बगिरहेको थियो । त्यसले आँखालाई पीरो बनाइरहेको थियो । रुमालले पसीना पुछ्र्दै लगातार हिँडिरहेका थिए । 

चैत महिना गर्मी अचाक्ली बढेको छ । मानिस हरेक दिउँसो सियाँलको खोजीमा लाग्न थालेको निकै दिन भैसकेको छ । बार बजे फेदीबाट उकालो लागेका ती स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै भन्ज्याङमा आइपुगेका हुन् । अगाडि बढ्न गाह्रो भएपछि ती चौतारामा पुगेर थच्याकथुचुक बसे ।

ठाडो उकालो सकिनेबित्तिकै भन्ज्याङ आइपुग्यो । भन्ज्ज्याङमा लहरै शमी, वर र पीपलका वृक्ष थिए । वृक्षको फेदमा चौतारो चिनिएको थियो । चौताराभन्दा असल कति पर एउटा धारो थियो । धाराको छेउमा बटुवा बास बस्न मिल्ने एउटा पाटी पनि थियो ।  मानिस केही बेर चौतारामा सुस्ताएर धारामा पानी पिउँथे । लामो उकालोमा थाकेकाहरूलाई चौताराको शीतलता त्राण नै हुन्थ्यो । कतिपय बटुवा पाटीमा बास पनि बस्थे ।

केही समयको विश्रामपछि ती नयाँँ गन्तव्य शुरू गर्थे । चौतारो खेताला, बटुवा, गोठाला, विद्यार्थी र शिक्षक सबैलाई शीतलता बाँडेर पुस्तौंपुस्तादेखि  बाँचिरहेको थियो । माथिबाट तलतिर झर्न लागेका वा तलतिरबाट माथितिर उक्लन लागेका प्राय सबै एकछिन त्यहाँ थकाइ मारेर मात्र गन्तव्यतिर लाग्थे । थाकेका मनमस्तिष्क र ओइलाएका विचारलाई चौतारो नयाँ दिशा प्रदान गरिरहेको थियो ।

‘यस्तो ठाउँमा चौतारो कसले बनाएको होला अम्बिका ?’ रमिलाले  अम्बिकातिर फरक्क फर्केर आश्चर्य मान्दै सोधी । पहिले त अम्बिका अलमल्ल परी । तुरुन्तै उत्तर दिन सकिन । उसका आँखा वरिपरिको परिवेश नियाल्नतिर लागे । ती दुवै बटुवा थिए । एकै गाउँका गाउँले साथी । एउटै कक्षामा पढ्थे । सँगै आउजाउ गर्थे । मेलापात वा खेतबारीमा हिँड्दा समेत ती त्यहाँ निकै पटक बसेका थिए । यसले तिनीहरूलाई घामपानीबाट त कत्ति जोगाएको थियो कत्ति । त्यसको गणनै थिएन । ती विद्यालय जान थालेको मात्रै एघार वर्ष भएको थियो । अहिले कक्षा दशमा पढिरहेका थिए ।

उनीहरूको घर यो चौताराबाट एक घण्टाको दूरीमा थियो । त्यसैले ती बाटाबाट ओहोरदोहोर गर्दा थकाइ मेट्न यहाँ प्रायः बस्ने गर्थे । थकाइ, घाम र पानीमा सबै चौतारो र नजिकको पाटी प्रयोगमा ल्याउने गर्थे । काम सकिएपछि बिस्तारै बिर्सदै जान्थे पनि । तथापि मनकारीहरू यसको संरक्षण गर्न कहिल्यै छाड्दैनथे । त्यसैले यो वर्षौदेखि बाँचिरहेको थियो ।

चौतारो चराचुरुङ्गीको राम्रो आश्रयस्थल समेत बनेको थियो । थुप्रै प्रजातिका चराचुरूङ्गी यी वृक्षहरूमा निवास गर्थे । बच्चा कोरलेर स्याहारसुसार समेत गर्ने गर्थे । हावाहुरी र व्याधाबाट जोगिन समेत तिनीहरूलाई यसले पटकपटक सघाएको थियो । चौताराबाट चराचुरुङ्गी कृतज्ञ र आभारी समेत देखिन्थे ।

‘जसले बनाए पनि यो महान् कार्य हो । यस्तो उकालोमा चौतारो, पानीको धारा र पाटी बनाउने परोपकारीलाई सबैले   श्रद्धापूर्वक नमन गर्नुपर्छ’ रमिलाले भनी ।

‘सही कुरा, म तिम्रो विचारसित सतप्रतिशत सहमत छु । यस्ता परोपकारीले कहिल्यै दुःख नपाऊन्’ अम्बिकाले थपी । ‘पहिलेका मानिस चौतारा, पाटीपौवा र धारा बनाउँथे तर अहिलेकाहरू यस्ता काम गर्दैनन् । समय पनि कस्तो आयोआयो’ रमिलाले नमजा मान्दै भनी । ‘हो त मलाई पनि त्यस्तै लाग्छ ’ अम्बिकाले थपी ।

एकछिन थकाइ मारेर ती हिँड्न खोज्दै थिए एक हूल बटुवा आइपुगे । नजिकैको धारामा गएर पानी पिए । कसैले टोपी त कसैले रुमाल झिकेर पसीना पुछे । ‘धन्य मनकारी, तिमीले चौतारो बनाएछौ र मात्र नत्र हाम्रो कति विजोग हुन्थ्यो होला ?’ एउटाले भन्यो । ‘पानीको व्यवस्था गर्नेलाई पनि त सम्झनुपर्छ’ अर्कोले थप्यो । ‘धेरै पटक म त यहाँ बास पनि बसेको छु’ अर्कोले अझै अगाडि भन्यो । ‘हो, यसले सबैको कल्याण गरेको छ’ पुनः अर्कोले थप्यो । ‘यो नभैदिएको भए धेरैले दुःख पाउँथे । मानिस मात्र हैन चराचुरुङ्गी समेत लाभान्वित छन् यो ठाउँबाट’ हूलकै अर्को एक जनाले भन्यो । त्यसपछि ती बिस्तारै बाटा लागे ।

तिनीहरूले ठिङ्ग उभिएर उनीहरूका कुरा सुने । अघि नै हिँड्न खोजेका ती उनीहरूका कुराबाट अलमलिएका थिए । यसको महत्त्वबारे अझै ज्ञान भयो । ‘हो, चौताराले धेरैलाई सेवा गरिरहेको छ । मेरो मनमा पनि कसले बनाएको होला भन्ने खुलदुली छ तर बुझ्न सकिरहेको छैन । आमा, हजुरआमा र दिदी कसैलाई थाहा छैन रे’ अम्बिकाले भनी । ‘हाम्रो हजुरबालाई थाहा होला कि ! उहाँसँग सोध्ने विचारमा छु’ रमिलाले अलिकति पाइला अगाडि सार्दै भनी ।

‘कसले बनायो भन्दा पनि कोको लाभान्वित बने त्यो प्रमुख हो । तिमीहरूलाई मात्र होइन, लाखौंलाई सेवा गरेको छु । जन्ती, मलामी, बटुवा, विद्यार्थी, साधु, सन्त, राजा, रङ्क, धनी, गरीब, सज्जन, चोर वा बदमास सबैप्रति समान सद्भाव छ । आश्रयमा आएका सबैलाई बराबरी शीतलता दिन्छु । यी तीन वृक्षका हाँगामा बसेर सयौं चराचुरुङ्गीले बच्चा कोरलेका छन् । हजारौंको संख्याका प्रेमिल जोडीलाई स्वागत पनि गरेको छु’ यो आवाज तिनीहरूको कानमा ठोक्कियो । ती अलमल्ल परे  अनि वरिपरि हेर्न थाले ।

‘यति मात्र होइन मेरै समीपमा कैयौं जोडीको बिछोड पनि भएको छ तर त्यसको संख्या सानो छ । पहिले म तिमीहरू धेरैका गाउँबस्तीमा थिएँ । अचेल सबै मेरो विनाश गरिरहेका छौ । खोई किन त्यसो गरिएको हो मलाई पनि थाहा छैन’ आवाजले बिस्तारै भनिरहेको थियो । ती चकित बने । अनि आवाजतिर फर्किए । आवाज सुनिए पनि कसले बोलेको हो त्यो देख्न सकिने अवस्था थिएन । तिनीहरूको मन अझ खुलदुलियो ।  

‘को तपाई अगाडि देखिनोस् त ? हामीलाई चिन्न मन लाग्यो’ तिनीहरूले  एकैसाथ भने ।  

‘हाहाहा’ हाँसेको आवाज आयो । तर कतैकसैको अनुहार देखिएन ।

‘नाम त सुनाउनोस्’ तिनीहरूले फेरि आग्रह गरे । ‘म चौतारो, मलाई सबैले सधैं माया गर ल’ आवाजले भन्यो ।

‘हवस्, हामीलाई तपाईको कस्तो माया लाग्यो । तपाई पनि हामीलाई माया गनुस् ल’ तिनीहरूले टक्क उभिएर चौतारालाई हेरे । त्यसपछि तिनीहरू चौतारालाई पछाडि छाडेर अगाडि बढे ।                                

प्रकाशित: १७ असार २०७७ ०८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App