२२ असार २०७७ सोमबार
अन्य

लकडाउनमा म

गंगा कर्माचार्य पौडेल

गंगा कर्माचार्य पौडेल

  ‘बाहिर नजाऊ है कोरोनाले समात्छ । कोठाभित्रै लेखपढ गरेर बस।’ आमाको मुखबाट यस्तै सुन्न पाइन्छ अचेल ।

बुवा भन्नुहुन्छ, ‘कोरोना भाइरस मान्छेबाट मान्छेलाई सर्ने रोग हो । यो रोगबाट सङ्क्रमित मान्छेले हाँच्छयुँ गर्दा निस्केको तरल पदार्थबाट, हात मिलाउँदा ऊबाट अर्को मान्छेलाई सर्छ । त्यसैले रोग सर्नबाट बच्न भीडभाडमा नजाउन् भनेर सरकारले देशभरि लकडाउन गरेको होे । अति आवश्यक काम नपरी घरबाट बाहिर जान हुँदैन । जानै परे मुखमा माक्स लाएर हातमा स्यानिटाइजर लाएर जानुपर्छ । लकडाउनका बेला बाहिर हिंडेको देखे सुरक्षाकर्मीले कारबाही पनि गर्छ । त्यसैले भित्रै बस्नु ।

आफूलाई भने कोठाभित्र थुनिएर बस्नुपर्दा उकुसमुकुस भइराछ । न स्कूल जान पाउनु न त साथीहरू भेट्न पाउनु । साँघुरो कोठामा उफ्रेर खेल्न कुद्न मिल्दैन ।  कति गर्नु लेखपढ ? टिभी र मोबाइल कति हेर्नु ? पहिला पो दिनभरि स्कूलमा भइन्थ्यो । साँझबिहान होमवर्क गर्दा फुर्सदै हुन्नथ्यो । कहिलेकाहीं टिभीमा कार्टुृन हेर्दा, मोवाइलमा गेम खेल्न पाउँदा आहा कस्तो रमाइलो लाग्थ्यो । अहिले त फुर्सदै फुर्सद छ । टिभी जति हेरे नि पाइन्छ । मोवाइल साथमै हुन्छ । तैपनि पटक्कै रमाइलो लाग्दैन । बरु छटपटी लागेर के गरूँ र कसो गरूँ हुन्छ ।

एकदिन मलाई बुवाआमाको आँखा छलेर बाहिर निस्कन मन लाग्यो । यसो चारैतिर पल्याकपुलुक् हेरें । बुवा कम्प्युटरमा व्यस्त हुनुहुन्थ्यो । आमा घरधन्दा गरिरहनुभएको थियो । त्यही मौका छोपी बिस्तारै ढोका खोलेर लुसुक्क बाहिर निस्केर सडकमा पुगें । अघिपछि मोटरको ताँतीले बाटो काट्न मुस्किल पर्ने सडक त सुनसान रैछ । दुईचारओटा भुस्याहा कुकुरबाहेक अरू कोही हिंडेको देखिएन । त्यसपछि आमाले कोरोनाले समात्छ भन्नुभको संझेर डरले कुद्दै घरमा आएँ । मेरो त मुटु नै ढुकढुक भयो । अबदेखि म बाहिर जान्न ।

यतिखेर मलाई हजुरबुवाआमाको यादले सताइरहेको छ । उहाँहरुले मलाई औधी माया गर्नुहुन्थ्यो । मसँग कुरा गर्नुहुन्थ्यो । घुमाउन डुलाउन लानुहुन्थ्यो । सुत्नेबेलमा हजुरआमाले  सधैं कथा सुनाउनुहुन्थ्यो । छ महिना अगाडि केही दिनको फरक पारेर दुवै जना आकाशको तारा बन्न जानुभयो । उहाँहरू गएपछि म एक्लै भएँ । अहिले घरीघरी हजुरबुवाआमालाई सम्झिएर रुन मन लाग्छ ।

म कहिलेकाहीं बरन्डामा गएर वरपरका दृष्यहरू हेर्ने गर्थे । आज पनि गएर हेरें । हाम्रो घरसँगै जोडिएको पल्लो घरको बरन्डामा सुगा राखेको एउटा पिंजडा हुकमा अड्काएर झुन्डयाइएको छ । म त्यो सुगालाई पट्टु भनेर बोलाउँथें । उसले पनि पट्टुपट्टु भनेर जवाफ दिंदा रमाइलो लाग्थ्यो । आज पनि बोलाएँ । मेरो स्वर सुनेर ऊ पिंजडाको बारै भाँचुँलाझैं गरी चुच्चाले ठुँग्यो, उफ्रियो, छटपटायो । बाहिर निस्कन ढोका खोल्न खोज्यो तर सकेन । अघिपछिभन्दा मैले पिंजडालाई आज धेरैबेर नियालेर हेरें । थुनिएर बस्नुपर्दाको पीडा महसुस गरें र भनें ,  ‘पट्टु हेर न अहिले म पनि तिमीजस्तै भएको छु । तिमी पिंजडाभित्र थुनिएका छौ । म घरभित्र थुनिएको छु ।’         

प्रकाशित: १६ असार २०७७ १५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App