चरेस बेचबिखन तथा कारोबारमा संलग्न भएको अभियोगमा हिरासतमा लिइएकाहरूलाई आज सार्वजनिक गर्दै प्रहरीले अभियुक्तहरूबाट बैँक अफ काठमाडौँ तथा एभरेस्ट बैंक लिमिटेडलगायत विभिन्न बैंकको ३५ थान चेक बुक, विभिन्न बैंकको एटिएम कार्ड १२ थान, नेपाली ४९ हजार रूपैयाँ, सात हजार, भारतीय रूपैया, तौल गर्ने मेसिन, चरेस तताएर पाता बनाउनका लागि प्रयोग गरिने इलेक्ट्रोनिक मेसिन, र्यापिङ प्लास्टिक बरामद गरेको जनाएको छ।
प्रहरीले काठमाडौँ सीतापाइला-५ का देवेन्द्रविक्रम रोका, बाग्लुङ तमान-५ निवासी गोविन्द रोका छन्त्याल, रुकुम तकसेरा-६ का मनजित घर्तीमगर र बाग्लुङ बुर्तिबाङका नगेन्द्र थापालाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार अभियुक्त देवेन्द्र रोका २०२७ सालदेखि लागुऔषध ओसार-पसार तथा बिक्री-वितरणमा निरन्तररूपमा संलग्न रहेको निजको लागुऔषधका तस्कर र अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग सम्पर्क रहेको पाइएको छ।
लागुऔषधको कारोबार गरेको प्रमाणित भई निजले पटक-पटक गरी करिब पाँच वर्ष जेल सजाय भुक्तान गरेको तथा भारतको गोवा हुँदै समुद्री मार्गबाट क्यानडा र जर्मनीतिर लागुऔषध निकासी गर्दै आएको इकाइ प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नवराज सिलवालले बताए।
यसैगरी, काठमाडौँ महानगरपालिका-१९ इनाटोल बस्ने ४३ वर्षीय विराट नेपालीलाई लागुऔषध बुप्रिनर्फिन १५० पिस, डाइजेपाम १५० थानसहित कङ्केश्वरीबाट र सिन्धुपाल्चोकको ठूलो धादिङ-२ का स्थायी निवासी जीवन तामाङलाई आठ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको छ। रासस
प्रकाशित: २६ वैशाख २०६९ ११:५२ मंगलबार





