२३ असार २०७७ मंगलबार
अन्य

मकैको घमण्ड

बालकथा

टंक आले मगर

माथिल्लो गराको मकै हलक्क बढ्यो मजाले सप्रेर । अग्लो र खाइलाग्दो हुनाले आफू छेउछाउका साथीहरूलाई  हिस्याउँथ्यो। अरूको दाँजोमा आफूलाई योग्य सोच्थ्यो ।  हरेक कुरामा अरूलाई खसालेर प्याच्च भन्थ्यो ।

मुठीभरिको ढोड हरियो पात । काखीमैँ पोटिलो सिँगारे खोस्टा भइसक्या घोगा र घोगाको मुठीभरि जुँगा । अनि छाताजस्तै फग्रेको धानचमरा । त्योमाथि भुनभुनाइरहेका मौरी र कठेउरीहरू । ऊ छेउमै कालीपोके च्यापेर उभिन विवश मकैमाथि खिसीट्युरीले कानै खाइसकेको थियो ।

त्यो कान्लामुनिको फगटामा पोटाउँदै गरेको धानलाई झनै केके भन्दै हेप्थ्यो । धान मकैको यस्तै बानीबेहोरा भन्ने सोचेर  चूपचापै बस्थ्यो । धानले केही नभनेको देखेर मकै झनै हल्लीहल्ली गीत गाउँथ्यो, ‘छेउकाहरू हेरयो हाँसउठ्दो छन्, तल्लो घरेको त झनै टीठलाग्दो छ ।’

अति भएपछि लुकेर कोदोले मुख फोरयो, ‘त्यतिसारो नभन्नुस् मकै दाइ । सानो ठूलो जे भए पनि अन्न नै हौं ।’

‘हाहा ओई कोदे,  तँलाई र फापरलाई कसले अन्न भन्छ । अन्न तै  । शहरतिर गएर हेर हाम्रो कत्रो महत्व छ ।’

‘त्यतिसारो नभन्नुस् मकै दाइ’ फापरले दुःखी हुँदै भन्यो, ‘हाम्रो अर्थ नै नभए किन रोप्थे कृषकले । ग्रहदशा मन्साउँदा हाम्रो पनि प्रयोग हुन्छ नि ।’

‘लुलु भो’ भन्दै मकै झर्कियो ।

तल्लो फगटाको धान पाकेर पहेँलपुर हुँदा मकैको मन झनै हुँडलियो आरिसले ।

सफलीभूतवाला बोकेर निहुरेर हल्लिरहेको धानलाई मकैले व्यंग्य कस्यो, ‘पुड्के धान, अस्ति पसाएर सेताम्मै फुल्दा त निकै हाँस्थिस् । अचेल किन झोक्रेर मात्रै बस्छस् नि ?’

धान चूपचाप बस्छ ।

फेरि मकै जुँगा बटार्दै भन्छ, ‘बाँको खा’छस् के हो ? बोल्दैनस् त ? अँ जिब्रो पट्काउन पनि क्षमता चाहिन्छ ।’

धानलाई पेच परयो, ‘मकै दाइ, तपाई जस्तो बाठो त छुइनँ  र म बेन्जो पनि छुइनँ । त्यसै के बोल्नु भनेर मात्रै । हेर्नाेस् फलेको बाला निहुरेने गर्छ । हाम्रो संस्कारमा फकटासरीको बाला ढाडै बस्छ । यसरी पनि बुझ्नुस् । म सफलताको फल बोकेर धर्ती आमालाई शिरनत गरिरहन्छु । तेस्रोमा तपाई र मेरो बुझाइमा फरक छ ।’

मकै कड्कियो, ‘ए गर्चाे, डल्ले, तेरोभन्दा मेरो बुझाइमा के भिन्न छ हँ ?’  

‘मकै दाइ, म सानो छु तर मेरो धेरै महत्व छ । म धामीको जोखना, देवताको अछेता, आशीर्वादको टीका, प्रसादमा अपुङ्गो र शुद्ध खानामा खीर आदि भएर लोकप्रिय छु । जहाँ म पुग्छु त्यहाँ कल्पनामा पनि पुग्न सक्नु हुन्न ।’

मकै धानको कुरा चूपचाप सुनिरहन्छ । फेरि धान बोल्छ, ‘मकै दाइ, आकारले होस या संस्कारले जसको खूबी हुन्छ, उसैको शिर निहुरेको हुन्छ । आफूभन्दा सानालाई माया र ठूलालाई सम्मान गर्न टाउको निहुरयो भने अनर्थ हुँदैन ।’

ठीक भन्यौ धान भाइ भनेर खितिति हाँस्दै खोला ओरालो दगुरयो ।

भटमास, मास, कोदो, फापर र उदासे झारले ताली पट्काएर धानको समर्थन गरे । मकै भने छक्क परेर उँभिरह्यो ।

प्रकाशित: १३ असार २०७७ १४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App