७ वैशाख २०८१ शुक्रबार
अन्य

से–फोक्सुन्डो सौन्दर्य

पछिल्ला वर्ष यसैताका से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा विदेशी पाहुनाको चहलपहल हुने गथ्र्यो। वैशाखको दोस्रो सातादेखि जेठको अन्तिम साता र असोज–कात्तिक डोल्पामा पर्यटकका लागि अनुकूल समय मानिन्छ।

जुफाल विमानस्थल आसपासका होटलदेखि सुलिगाडस्थित निकुञ्ज कार्यालय हँुदै फोक्सुन्डो तालसम्मको पैदल दूरीभित्र पर्ने होटल विदेशी पाहुनाले खचाखच हुन्थे। निकुञ्ज क्षेत्रको मनोरम दृश्यावलोकन गर्न पर्यटकका लागि यो उपयुक्त समय पनि हो। फोक्सुन्डो ताल, तालबाटै बगेको फोक्सुन्डो झरना, दुर्लभ वन्यजन्तु हिउँचितुवा र श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरलगायत प्रकृतिप्रदत्त जैविक विविधता विदेशी पाहुनाका लागि आकर्षणका केन्द्र हुन्।  

तर, यतिखेर विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असरबाट डोल्पा अछुतो छैन। अहिले अन्य पर्यटन क्षेत्रजस्तै से–फोक्सुन्डो निकुञ्जमा पनि सन्नाटा छाएको छ।  

निकुञ्ज कार्यालयका अनुसार, आर्थिक वर्ष ०७५/७६ मा एक हजार आठ सय ४८ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए। यहाँ सबैभन्दा बढी कात्तिकमा पर्यटक आउने गरेका छन्।  डोल्पा प्राकृतिक संग्रहालयका रूपमा रहेको जिल्ला हो। यसका केही विशेषता छन्– विश्वकै उच्च गुणस्तरको बहुमूल्य जडिबुटी यार्सागुम्बा यहीँ पाइन्छ। नेपालमै सबैभन्दा बढी हिउँचितुवाको घनत्व भएको संरक्षित क्षेत्र हो यो। विश्वमै पहिलोपटक हिउँचितुवाको रेडियो कलरमार्फत अध्ययन अनुसन्धान यहीँ भएको छ। नेपालकै अग्लो मानव बस्ती रहेको धो ताक्सी उपत्यका यहीँ पर्छ। नेपालको सबैभन्दा ठूलो झरना फोक्सुन्डो झरना, विश्व रामसार सूचीमा समाविष्ट फोक्सुन्डो ताल र विश्वकै बहुचर्चित चलचित्र क्याराभानको छायांकन भएको भूगोलका हिसाबले पनि डोल्पा पर्यटन विकासको क्षेत्रमा महत्वपूर्ण मानिन्छ।  

यसका साथै क्षेत्रफलका हिसाबले नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज रहेको जिल्ला पनि हो, डोल्पा। डोल्पा र मुगु जिल्लाका केही भागलाई समेटेर २०४० सालमा घोषणा गरिएको यस निकुञ्जको क्षेत्रफल तीन हजार पाँच सय ५५ वर्ग किमि छ।  

फोक्सुन्डो ताल, तालबाटै बगेको फोक्सुन्डो झरना, दुर्लभ वन्यजन्तु हिउँचितुवा र श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरलगायत प्रकृतिप्रदत्त जैविक विविधता विदेशी पाहुनाका लागि आकर्षणका केन्द्र हुन्। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अनुसार, राष्ट्रिय निकुञ्ज भन्नाले प्राकृतिक वातावरणका साथै वन्यजन्तु, वनस्पति र भू–दृश्यको संरक्षण व्यवस्थापन र उपयोगका लागि छुट्ट्याइएको क्षेत्र सम्झनुपर्छ। यो कानुनी परिभाषामा ‘उपयोग’ भन्ने शब्दावलीको प्रयोग भएकाले सोहीबमोजिम २०३६ सालमा बनेको ‘हिमाली राष्ट्रिय निकुञ्ज नियमावली’लाई २०७१ वैशाख २५ मा संशोधन गरेर निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको वनबाट यार्सागुम्बा संकलन गर्न पाउने कानुनी व्यवस्था गरिएको छ। जसले यार्सागुम्बाको पारिस्थितकीय मूल्य, प्रादुर्भाव मूल्य, वातावरणीय मूल्य, आर्थिक मूल्यलाई जोड दिइएको छ।

तालको आकर्षण

समुद्र सतहदेखि तीन हजार ६ सय ३५ मिटरको उचाइमा छ, फोक्सुन्डो ताल। एक सय ४५ मिटर गहिरो यस तालले पस्केको प्राकृतिक सुन्दरताले यहाँ आउने स्वदेशी तथा विदेशी  पर्यटकलाई लोभ्याउने गर्छ। भूगोलका रूपमा जतिसुकै विकट भए पनि नीलमणिजस्तो टल्कने र अनेकन् रूप फेरिरहने फोक्सुन्डो तालले पदयात्रामा रमाउने स्वदेशी तथा विदेशी पर्यटकलाई डोल्पातिर आर्कषित  गरिरहेको छ।

कान्जिरोवा हिमालको काखैमा प्रकृतिको अलौकिक उपहारका रूपमा रहेको फोक्सुन्डो तालले कहिले गाडा नीलो त कहिले फिक्का र हरियो देखिने गरी छिनछिनमा आफ्नो रूप बदलिरहने गर्छ। फोक्सुन्डो तालको यही विशेषता बोकेको पानीका कारण यहाँ आउने जो–कोही पर्यटक मोहित हुन्छन्। यस तालको संरक्षण गर्न र यसबाट लाभ लिन यहाँ प्रकृति र विकासबीच सन्तुलन कायम गरी विकासको काम गर्न आवश्यक छ। साथै फोक्सुन्डोको कुमारित्व बचाइराख्न, पर्यटकको आगमनलाई वृद्धि गर्न प्राकृतिक सम्पदामाथिको मानवीय अतिक्रमण रोक्न पनि आवश्यक छ।  

हिउँचितुवा  

विश्वमा हिउँचितुवा पाइने १२ देशमध्येको एक हो, नेपाल। यहाँका संरक्षित क्षेत्रमध्ये शे–फोक्सुन्डो निकुञ्जको हिमाली तथा पठार क्षेत्र हिउँचितुवाका लागि आहारविहारका हिसाबले सबैभन्दा उपयुक्त वासस्थान मानिन्छ। सन् १९७३ मा अमेरिकी वैज्ञानिक जर्ज स्यालरले यस क्षेत्रको सर्वेक्षण गरी सन् १९७४ मा वन्यजन्तु आरक्ष स्थापनाका लागि प्रस्ताव गरेका थिए। त्यसपछि सन् १९८० (२०४० साल) मा आधिकारिक रूपमा यस राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो।  

झन्डै ४० वर्षअघि अमेरिकी वन्यजन्तु जीवशास्त्री डा. रोड्नी ज्याक्सनले पाँचवटा हिउँचितुवाको घाँटीमा रेडियो कलर नामक उपकरण जडान गरी वैज्ञानिक अनुसन्धान गरेका थिए। सन् १९८१ देखि १९८५ सम्म गरिएको सो अनुसन्धानले  हिउँचितुवाको विचरण क्षेत्र र आनीबानीका बारेमा महत्वपूर्ण जानकारी दिएको थियो। साथै, डोल्पा क्षेत्रमा प्रति सय वर्गकिलोमिटरमा १० वटा हिउँचितुवासम्म हुन सक्ने देखाएको थियो। विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा सन् २०१९ मा गरिएको एक अध्ययन अनुसार, हिउँचितुवाको आहार प्रजाति मानिने नाउरको संख्या प्रतिवर्ग किलोमिटरमा १२ देखि ११४ सम्म भएको उल्लेख छ। जसकारण से–फोक्सुन्डोमा करिब सयको हाराहारीमा हिउँचितुवा हुन सक्ने अनुमान गरिएको छ। तर, नेपालमा हिउँचितुवाको अझै  पर्याप्त वैज्ञानिक अध्ययन अनुसन्धान हुन  सकेको छैन।  

पछिल्लो समय भूउपग्रह प्रविधिमा आधारित अनुगमन र फोटो खिच्ने पासो (क्यामेरा ट्र्याप ) राखेर यसको संख्या पत्ता लगाउने विषयमा अध्ययन अनुसन्धान भइरहेको छ। आव ०७६/७७ मा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हिउँचितुवाको वास्तविक संंख्या गणनाका लागि सम्भाव्य स्थानमा तीन सयभन्दा बढी क्यामेरा ट्र्याप राखी अध्ययन सुरु गरिएको छ।  

२०७६ कात्तिकमा शे–फोक्सुन्डोका दुई भाले हिउँचितुवाको घाँटीमा स्याटलाइट जिपिएस कलर जडान गरी उनीहरूको आनीबानी र विचरण तरिका बारेमा अध्ययन गरियो। सन् १९९६ देखि २००८ देखि डब्लुडब्लुएप नेपालले उत्तरी पहाडी संरक्षण परियोजनामार्फत निकुञ्ज तथा मध्यवर्ती  क्षेत्रको संरक्षण र विकासका लागि सहयोग गरेको थियो। सन् २००८ देखि हालसम्म आर्थिक तथा प्राविधिक सहयोग संरक्षण संस्था साझेदारीअन्र्तगत सहयोगलाई निरन्तरता दिइएको छ।  

भूगोल, हावापानी तथा वानस्पतिक क्षेत्रको संगमस्थल रहेको नेपाल जैविक विविधताका हिसाबले निकै धनी मानिन्छ। समुदायमा आधारित वन व्यवस्थापन र सहभागितामूलक जैविक विविधिता संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि पनि विश्वमै उदाहरणीय छ। वन्यजन्तु लगायत प्राकृतिक सौन्दर्यताका कारण नेपाल भित्रिने पर्यटकमध्ये ६० प्रतिशतले संरक्षित क्षेत्र भ्रमण गर्ने गरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ। यसरी जैविक विविधताको संरक्षणमार्फत पर्यापर्यटनमा अभिवृद्धि भई स्थानीय समुदायको आयआर्जनमा वृद्धि हुनुका साथै समग्र देशको अर्थतन्त्रमा टेवा पुग्दै आएको छ।  

वन्यजन्तु एवं जैविक विविधताको संरक्षणमा हामीले गरेका प्रयास र हासिल गरेका उपलब्धि प्रशंसनीय रहँदै आएको भए पनि यस कार्यमा केही चुनौती पनि देखापरेका छन्। जसमध्ये वन्यजन्तु वासस्थानको विनाश तथा क्षयीकरण, अतिक्रमण, अनियन्त्रित वन डढेलो, अव्यवस्थित भौतिक पूर्वाधारको निर्माण, वन्यजन्तुका अंगको चोरी–निकासी आदि मुख्य चुनौती हुन्। प्राकृतिक तथा मानवीय क्रियाकलापका कारण पर्यावरणीय प्रणालीमा आउने विचलनलाई सन्तुलनमा राख्न जैविक विविधताको संरक्षण अपरिहार्य छ।  

यस निकुञ्जको पनि वन्यजन्तु, प्राकृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र दिगो उपयोगका लागि सबैको सहयोग, समन्वय र हातेमालो हुन जरुरी छ। कोरोना महामारीको अन्त्यसँगै  धर्मराएको  पर्यापर्यटनले  चाँडै आफ्नो स्थान लिनेछ  भन्ने विश्वास गर्न सकिन्छ।

प्रकाशित: ६ असार २०७७ ०५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App