स्नेहा राई
कक्षा –४, जुगल इङलिस मिडियम स्कुल बुढानीलकण्ठ, कपन, काठमाडौ ।
अचानक स्कुलमा परीक्षा छिटोछिटो भएपछि अनौठो लागेको थियो । ममीलाई के हुन लागेको छ भनेरसोधेको थिएँ । उहाँले केही पनि हैन नानी, राम्रोसँग पढ । राम्रो मार्क आउनुपर्छ तिम्रो भनेर सम्झाउनुभएको थियो।’ विडम्बना धेरै दिनपछि बल्ल परीक्षाको नतीजा आएको थियो ।
बेलाबेलामा मेरो घर सोलुखुम्बु भनेर मेरी ममले भन्नुहुन्छ । म काठमाडौमै जन्मिएकी रहिछु । आजसम्म म गाउँ गएकी छैन । मामाघर संखुवासभा, चैनपुर भने दुईपटक पुगेको छु।
मेरो ममले केही पनि हुन लागेको छैन भनेर मलाई सान्त्वना मात्रै दिनुभएको रहेछ । पछिल्लो समय जब हामी घरमै थुनियौ अनि पो सत्य कुरा थाहा भयो मलाई ।
बिस्तारैबिस्तारै सुनसान हुँदै गयो हामी बसेको शहर । सधैं परीक्षा सकेर हुने पन्ध्र दिने बिदामा ममले हामीलाई चिडियाखाना, फनपार्क, बौद्ध जस्ता ठाउँमा घुमाउनुहुन्थ्यो । यसपटक घरमा सेनिटाइजर र डेटोलको बजार थुपारेर बेलाबेलामा हात धुन लगाउनु हुँदा दिक्क लागेको छ।
चित्रकलामा पनि मेरो रुचि छ । ममीले मलाई ठूलो आर्ट पेपर तयार पारेर राख्दिनुभएको रैछ । मैले एक दर्जन जति चित्र बनाएर कलर गरेकी छु । मलाई सानैदेखि नाच्ने रहर छ । त्यसैले दिनमा एकपटक युटुब हेरेर नाचका केही स्टेपहरू पनि सिक्ने गर्छु । मेरो मम पनि सिर्जनात्मक हुनुहुन्छ । त्यसैले मलाई हरेक सिर्जनात्मक काममा व्यस्त बनाउनुहुन्छ र मैले पनि हरेक कुरामा ममसँगै सहभागी हुने गर्दछु ।
बेलाबेलामा हामी कोठाबाहिर प्यासेजसम्म निस्कन्छौ । राम्रोसँग आकाश देख्न पाएका छैनौ तर मौसम एकदम सफा भएको आभाष हुने गर्दछ । जन्मिएर यत्रो हुँदासम्म मैले यो काठमाडौंमा यति मीठो चराचुरुङ्गीको आवाज सुन्न पाएको थिइनँ । अहिले त वरिपरि जताततै चराचुरुङ्गीहरू चिरबिराउने गर्दछन् । त्यसैले यतिबेला औधी रमाइलो लागेको छ ।
स्कुलका साथीहरू भेट्न नपाएको तीन महिना भयो । मेरो साथीहरूको खूब मिस हुन्छ । मेरो आदरणीय सरम्यामहरू र स्कुलको खूब मिस हुन्छ। आदरणीय प्रिन्सिपल विवेक विनयीले स्कुलमा हामीलाई धेरै कुरा सिकाउनुहुन्थ्यो । उहाँको मिस भइरहेको छ । उहाँले बाबाआमालाई छुट्टीको समयमा सघाउनु भन्नुहुन्थ्यो । त्यसैले म मेरी ममलाई थोरै भए पनि सघाउने गर्छु । मसला कुट्ने, बेडको तन्ना मिलाउने, भुइँ बढार्ने जस्ता सानातिना काममा सघाउँछु । बेलाबेलामा हामी बाबा र छ्यामाहरूसित भिडियो कलमा बोल्छौ।
मलाई थाहा छ धेरै मेरो साथीहरू गाउँ गएका होलान् । तर, हामी यहीँ काठमाडौमै छौ । हामी यहाँ दरो मन पारेर हाँसीखुशी बसेका छौ। यसको श्रेय अभिभावकमा जान्छ । जसको अभिभावकले आफ्नो सन्तानप्रति समय दिनुहुन्छ, सँगै खेल्दिनुहुन्छ र कुरा सुनिदिनुहुन्छ त्यस्ता घरपरिवारका नानीहरू निकै खुसी हुन्छन् ।
आज विश्व कोरोनाले त्रसित छ । लाखौले ज्यान गुमाए पनि तर हामी बाँच्न पाएका छौ । जे जस्तो भए पनि पेट भर्न पाएका छौ । मेरी ममीले हामीसँग बासका लागि बस्ने ठाउँ छ । यसमै खुसी हुनुपर्छ भनेर सम्झाउनुहुन्छ ।
तपाईहामी जहाँ रहौ सकारात्मक बनेर आत्मबल बढाएर कोरोना जस्ता रोगसँग लडेर बाचौ । आफ्नो आमाबाबासँगै रहने मौका जुन भगवानले दिएको छ । भाग्यमानी ठानौ । बेलाबेला आफ्नो पढाइ पनि गरौ दिनमा एक पेज हेन्डराइटिङ लेखौ । स्पिज गर्ने बानी गरौ ।
प्रकाशित: ४ असार २०७७ ०९:०४ बिहीबार