छायादत्त न्यौपाने
आदरणीय साथीहरू, नमस्कार !
तपाईंहरूलाई सन्चसुविस्ता के छ ? लामो समय भयो, हामी आम्नेसाम्न भएर भेट्नभेटिन पाएका छैनौं । बन्दाबन्दीले हामीलाई आआफ्नै घरमा थन्किएर बस्न अराएको छ । गएको चैत महिनाको एघार गतेदेखि सरकारले निर्देश गरेअनुसार हामी घरपरिवारमा खुम्चिएर बसेका छौं । आठ महिनाअघि चीनको बुहान शहरबाट सुरु भएको कोरोना नामको रुघाखोकीले महामारीको रूप लिएर संसारका मानिसहरूलाई थला पारिरहेको छ । यो त एकदम डरलाग्दो सरुवा रोग रहेछ । कतिकति मानिसको ज्यान लिएको लियै छ । सुनिन्छ झन्डै असी लाख मान्छे यसबाट प्रभावित भएका छन् र भइरहेका छन् । यसले त चार लाख पचास हजार जति मान्छेको ज्यान लिइसकेको छ । यस्तो ज्यानमारा सरुवा रोगबाट बच्न हामी कतै सामूहिक भेटघाटमा नगई घरभित्रै बसेर जोगिने प्रयत्न गरिरहेका छौं । यो नै यसबाट सुरक्षित रहने राम्रो विकल्प रहेछ नि है ! सुरक्षित रहियो भने पछि धेरै कुरा गर्न सकिन्छ । अहिलेलाई यसरी चिठीपत्र, फेसबुक, मेसेन्जरबाटै भेटघाट गरौं न ल !
हो त, विज्ञानले औषधि पत्ता लाउन नभ्याएको कोरोनाबाट जोगिने भरपर्दो उपाय घर बस्नु नै रहेछ । यसबाट बच्न सकेसम्म घरबाहिर ननिस्की बस्ने, जरुरी काम परे थोरै मान्छेसँग छोटो भेटघाट गर्ने, सरसफाइमा ध्यान दिने, खानेकुरा घरमै बनाएर खाने र विभिन्न सूचनाबाट जानकारी पाएका विधिप्रक्रिया अपनाउनुपर्ने रहेछ । हामी त्यही नियम पालना गरेर घरमा बसिरहेछौं हैन त !
यो मन पनि कस्तो अचम्मको हुँदोरहेछ है ! हिजोअस्ति हामी ‘स्कुल बिदा भएर घरमै बस्न पाए त कस्तो मजा हुन्थ्यो । बजारमा भीडभाड देखेर सडकहरू खुला भए त कति रमाइलो हुन्थ्यो, विनारोटोक घुम्न डुल्न पाइन्थ्यो’ भनेर मनमनमा सोचिरहन्थ्यौं तर अहिले बिदा पाइएको छ, विद्यालय बन्द छन्, सडक खालीखाली छन्, पसलहरू बन्द छन् तर हामी घरभित्रै छौं । यतिखेर त हामीलाई घरबन्दीमा बस्नु झन् छटपटी भएको छ, डुल्नफिर्न, साथीभाइ भेट्न नपाएर उस्तै, हामी के गरौं कसो गरौं दोमन भएका छौं है ! खै, कहिलेसम्म रहन्छ कुन्नि यो बन्दाबन्दी ? तर, नआत्तियौं है, धैर्य गरौं ल ! यो समस्या हो समाधान भेटिन्छ ।
अँ, साँच्चै साथीहरू ! मैले त खुरुखुरु आफूलाई लागेको कुरा मात्र गरिरहें । तपाईंहरूको के छ खबर ? घरबसाइमा केके गर्नभएको छ ? घरभित्रका बाघचाल, चाल्ने गट्टा, गट्टा, लुँडो, शब्दान्ताक्षरी जस्ता खेलहरू खेल्दै हुनुहुन्छ होला है ! हजुरबाआमाका रमाइलो कुरा सुनेर दङ्ग पर्नुभाहोला ! कस्तो मजा आउँछ नि घरपरिवार र संस्कार संस्कृतिका कुरा सुन्न पाउँदा त ? अर्को कुरा गुन्द्रुक, ढिँडो, मकैको आटो, कोदो, फापरको रोटी, भुटेको मकै भटमास जस्ता मौलिक परिकार बनाउँदै खाँदै गर्दा बेग्लै मजा आएको छ नि है !
हेर्नु न मेरा त हजुरबाआमा गाउँमा हुनुहुन्छ, म शहरमा । मैले उहाँहरूलाई भेटेर रमाइला कथा, इतिहासका कुरा, गाउँखाने कथा, आफ्ना पूर्वजका प्रेरणादायी गाथा सुन्नै पाइनँ । यो फुर्सदको समयमा हजुरबाआमादेखि टाढा हुनुपर्दा मलाई नरमाइलो लागिरहेको छ तर मलाई विश्वास छ तपाईंहरूले रमाइला कथा, कविता, निबन्धका पुस्तक पढेर रमाउनुभएको होला । अरू पनि धेरै सिर्जनात्मक काम गरेर सीप सिक्नुभएको छ कि ! मलाई पनि सुटुक्क भन्नु है यसरी लेखेर । लेख्न भ्याउनुभएन भने पछि भेटेका बेला ल !
कति जना साथीहरूले त बाआमालाई घरेलु तथा खेतीपातीको काममा पनि सघाउनुभएको छ रे ! यस्तो खबर सुन्दा मलाई धेरै खुसी लागेको छ । हाम्रो परम्पराले प्रयोगमा ल्याएका खेल खेल्ने, परिकारहरू बनाएर खाने, गौरवशाली गाथाहरू थाहा पाउने अवसरका रूपमा यो बन्दाबन्दीको उपयोग गर्नुभएको रहेछ नि है ! कस्तो राम्रो गर्नभएको रहेछ । कति साथीहरूले फेसबुक, मेसेन्जर, युट्युबको प्रयोग गरेर नयाँ नयाँ सीप र ज्ञानगुनका कुरा पनि सिकिरहनुभएको होला ! कतिले त टेलिभिजन, रेडियोबाट पनि कति सिर्जनाका कुरा थाहा पाउनुभाहोला । कति साथीहरू पत्रपत्रिकाका लेखरचना पढ्ने र आफूले पनि लेखेर पठाउने गर्नुभा होला नि त ! हाम्रो यो सक्रियता पनि एउटा फरक समय परिस्थितिमा फरक तरीकाले जीवनोपयोगी सीप सिकिरहन सक्छौं भन्ने प्रमाण त हो नि है ! मलाई त यतिखेर यही नै हामी सबैले गर्नुपर्ने उपयुक्त काम हो भन्ने लागेको छ । साथीहरू, फेरि अर्को पत्रमा भेटौंला भन्दै बिदा माग्छु । ल, शान्त रहौं, खुसी रहौं, सुरक्षित रहौं है त ! नमस्ते, फेरि भेटौंला !
प्रकाशित: ३२ जेष्ठ २०७७ ०६:५१ आइतबार