१८ असार २०७७ बिहीबार
अन्य

आफू बचौं, अरूलाई पनि बचाऔं

अर्चना उप्रेती

कक्षा – १२,

सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुर ।

कोरोना भाइरस महामारीको कारण यतिबेला देश लकडाउनमा छ । सबैतिर सुनसान छ । व्यापार, व्यवसाय, विद्यालय र अन्य क्षेत्र सबै बन्द छन् । मुखैमा आएको परीक्षा रोकिएर परीक्षार्थीहरू आज त्यत्तिकै बस्न बाध्य छन् । वातावरण जताततै त्रसित छ । सबै जना आफ्नै घरभित्र सुरक्षित रूपमा बस्न बाध्य भएका छन् । आफ्ना साथीलाई भेट्ने चाहनाबाट बालबालिकाहरू वञ्चित छन् । उनीहरू आमाबुबालाई नै आफ्नो शत्रुका रूपमा बुझ्न थालेका छन् । अहिले विश्वमा नै साझा समस्या बनेको छ ।  

झण्डै ०.३ माइक्रोनभन्दा सानो आरएनए भाइरस जसलाई ‘नोबल कोरोना भाइरस’ अथवा ‘कोभिड १९’ नामले चिनिन्छ । यो भाइरस चीनको बुहान क्षेत्रको माछा बजारबाट फैलिएको भनाइ छ । डिसेम्बरको अन्तिम हप्तातिर पत्ता लागेको यो भाइरसले छिट्टै संख्या बढाउने भएकाले विभिन्न माध्यमबाट विश्वभर फैलिरहेको छ । यो भाइरस एक फ्लु भाइरसजस्तै हो जुन शरीरमा पसेर संख्या बढ्दै गएपछि ज्वरो र रुघाखोकी आई अवस्था बिग्रिएर सास फेर्न समस्या पर्ने गरेको पाइन्छ । यस भाइरसको मुख्य अवधि १४ दिन बुझिएको छ । हावाको माध्यमबाट पनि सर्ने भएकाले यसले विभिन्न व्यक्तिहरूलाई संक्रमित बनाइसकेको छ । नेपालमा दुई हजारको संख्या पार गरिसकेको छ । यसको जोखिममा नरहेका व्यक्तिहरू भने आफैं सुरक्षित रहन जरुरी छ । नयाँ मान्छेको सम्पर्कमा नजानु नै यसको रोकथामको मुख्य उपाय हो ।  

नेपाल सरकारले नागरिक सुरक्षाका निम्ति लकडाउनको व्यवस्था गरेको छ । अहिले भाइरस जाँचको प्रक्रिया पनि फराकिलो पार्न थालिएको छ । संसारभरि नै फैलिएकाले प्रशस्त उपकरण प्राप्त गर्न पनि कठिन नै छ । यसबाट बच्न विनाकाम भीडभाडमा नजाने, राम्रोसँग पखालेर घाममा सुकाएको तरकारी मात्रै पकाउने, बेलाबेलामा साबुनपानीले राम्रोसँग हात धोइरहने, अनावश्यक रूपमा आफ्नो हात नाक, कान, मुख र आँखामा नलाने र घरबाहिर जानैपरे राम्रो खाले मास्क र चस्मा प्रयोग गर्नुपर्छ । हरेक व्यक्तिसँग तीन मिटरको भौतिक दूरी कायम गर्नुपर्छ । यसलाई हेलचेक्याइँ गरे आफ्नो परिवार र समुदायमा नै ठूलो असर पर्न सक्छ । 

हाम्रो बेवास्ताका कारण सेतो लुगामा देखिएका हाम्रा भगवान् पनि चिन्तित बन्न पुगेका छन् । उनीहरू आफ्नो जीवनलाई खुकुरीको धारमा राखी अरूको जीवन बचाउन दिनरात खटिएका छन् । यस्तो समयमा एक व्यक्ति सतर्क रहेर मात्र पुग्दैन, सबैले सतर्कता अपनाउनु आवश्यक छ ।  

अरू बेला हामी जुटको खेती गरथ्यौं । अहिले फुटको खेती आवश्यक छ । यही फुटबाट हामी विजयी बन्न सक्छौं । हामी सबै सुरक्षित रही खुसीसाथ बाँचौं । जीवन अमूल्य छ, खेलाँची नगरौं । आफ्नो लक्ष्य प्राप्तिमा कर्तव्य निर्वाह गरौं । हामी खुसी भएर बाँच्दा कोरोना दुःखी भएर भाग्नेछ ।

प्रकाशित: २१ जेष्ठ २०७७ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App