‘घर चलाउने महिलाले देश चलाउन सक्छ’ भन्ने नारा सुरु घन्किन थालेको धेरै भएको छैन। अन्तरपुस्ता महिलावादी मञ्च गठनपछि अनुपम अभियान भन्दै ‘महिला नै पहिला’ भन्ने नारा लाउन सुरु गरिएको पनि भर्खरै हो। जेनजी आन्दोलन हुनुभन्दा करिब दुई वर्षअगाडिदेखि मात्र अधिकारकर्मी रीता थापालगायत महिलाले ‘२०८४ मा महिला नै पहिला’ भनेर अभियानको थालनी गरेका थिए। तर समयले कोल्टो फेरेसँगै देशमा आएको अकल्पनीय र अभूतपूर्व परिवर्तनले २०८४ कुर्नै दिएन।
देशभर मंगलबार (माघ ६ गते) विभिन्न दलका उम्मेदवारहरूले फागुन २१ को निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्दैछन्। देशैभर निर्वाचनको उल्लास चलिरहँदा फेरि पनि दलहरूले महिलामाथि धोका दिएका छन्। राजनीतिमा पुरुषसरह वा त्योभन्दा बढी योगदान दिएका ‘सिनियर’ महिलाहरू राजनीतिको मैदानबाट अलि परै छुटेका छन्। सामाजिक न्यायका सन्दर्भमा ‘हामी नै हौं’ भन्दै हिँड्ने दलहरू सिद्धान्तका निकै चर्का चर्का कुरा गर्छन्। परिवर्तनका सूत्रधार आफूहरू नै भएको दाबी गर्ने दलहरू समावेशिताबारे त झनै ठुला गफ दिन्छन्। तर तिनै दलहरू अवसर दिने समयमा भने पुरुषवाद हाबी गराइहाल्छन्।
नारा, भाषण र घोषणापत्रमा अटाउने महिला अर्थपूर्ण सहभागिताका लागि परिपक्व छैनन् भनेजस्तै गरेर सुरु गरिएको निर्वाचनको प्रक्रिया विधिमा अडिएको भए पनि व्यवहारसंगत छैन। आफैंले बनाएको कानुनको छातीमा लात हानेर आम महिलाको अपमान गरी ‘वा’, ‘र’ जस्ता शब्दले पछाडि धकेलेर महिलाका हक र अधिकारलाई कुल्चँदै हरेक क्षेत्रमा पुरुषकै हालीमुहाली गराइएको देखिन्छ। पुराना दल मात्र होइन, नयाँमा पनि अवस्था उस्तै छ।
संविधानमा समानुपातिक समावेशी सहभागिताको प्रत्याभूति हुँदाहुँदै दोस्रो स्थानीय तहको निर्वाचनमा सात सय ५३ स्थानीय तहमध्ये २५ वटामा मात्रै महिलाले प्रमुख पदको जिम्मेवारी पाएका छन्। यो संख्या भनेको कुल निर्वाचितको ३.३२ प्रतिशत मात्रै हो। त्यसैगरी प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ दुई सय २५ जना महिला निर्वाचनमा आए पनि नौ जना मात्रै निर्वाचित भए। राष्ट्रपति, उपराष्ट्रपतिजस्तो सर्वोच्च पदमा पुरुष–महिलाको वैकल्पिक सिट र संसद्का दुवै सदन, मेयर र उपमेयर जहाँ दुईमध्ये एक महिला हुनै पर्छ भन्ने व्यवस्थालाई समेत ‘गठबन्धन’ को प्रक्रियाबाट ‘र’, ‘वा’ जस्ता शब्दावलीको प्रयोगले महिलाको राजनीतिक सहभागितालाई पाखा लगाउने काम भएको छ। योगदान र त्यागको कदर नगरी जनमतको दम्भ पालेर गरिने शासनले समाज परिवर्तनमा गतिलो भूमिका नखेलेको इतिहास साक्षी छ।
नेपाली कांग्रेसकी एक केन्द्रीय सदस्यले आफ्नो दलको उम्मेदवार सूची फाइनल नभए पनि महिला सहभागिताको संख्या भन्न पनि लाज लाग्ने अवस्था रहेको बताइन्। नाम आफ्नो उल्लेख गरे सम्भावित उम्मेदवारी खोसिन सक्ने बताइन्। ‘पुरुषवादी सोच र महिला आफू पनि कमजोर हुँदा यो दुर्दशा आएको हो,’ उनले भनिन्, हाम्रा दल र नेतामा लोकतन्त्र आएकै छैन।’
नेकपा एमालेकी पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद ईश्वरी जिएमले पार्टीमा महिला प्रतिनिधित्व एकदमै न्यून भएको बताइन्। ‘भन्ने बेलामा ३३ प्रतिशत भने पनि जनसंख्याका आधारमा त लाजमर्दो तथ्यांक छ,’ उनले भनिन्, ‘प्रत्यक्षमै ३३ प्रतिशत बनाउनुपर्ने हो। उम्मेदवारको लिस्ट हेर्दा त दुःख लाग्छ।’ उनले महिलालाई समानुपातिकमा सीमित गराएर कोटा पुर्याउन मात्र खोजिएको आरोप लगाइन्। ‘संविधान मिच्न मिल्ने भइदिएको भए दलहरूले समानुपातिकमा पनि महिलाको संख्या घटाउथें,’ उनले भनिन्।
नेपाली कम्युनिस्ट पाटी (नेकपा) की नेत्री संविधानसभा सदस्य जयपुरी घर्ती आसन्न निर्वाचनमा महिलाको उम्मेदवारी सन्तोषजनक नभएको बताउँछिन्। ‘सहमतिका नाममा पार्टीको निर्णय मान्नुपर्छ तर प्रतिनिधित्व निकै कम भयो।’ रोल्पामा उम्मेदवारी दाबी गरेकी उनी भन्छिन्, ‘महिलाहरू पार्टीभित्र पनि जिम्मेवारीमा कम र अवसरमा पनि कम छौं।’
राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का केन्द्रीय सदस्य क्रान्तीशिखा धितालले पनि आसन्न निर्वाचनमा महिला प्रतिनिधित्व सन्तोषजनक नरहेको बताइन्। ‘महिला उम्मेदवारीको संख्या अत्यन्त न्यून देखियो। हाम्रो पार्टीमा पनि ११ प्रतिशत जति मात्र होला,’ उनले थपिन्, ‘महिला आफैं प्रतिस्पर्धामा आउन तयार भइनसकेको पनि देखिन्छ। महिलाका विचार व्यक्तिगत हो भन्ने मानसिकता र महिला आफैं अगाडि आए पनि कसैको साथले आए होला भन्ने मानसिकता नै गलत हुनुको कारण यसो भएको हो।’
नागरिक अगुवा तथा अधिकारकर्मी डा. रेणु राजभण्डारी महिलासँगै पछाडि पारिएको समूहसमेत छुटेको बताउँछिन्। ‘हाम्रो देशको नेतृत्वमा लोकतन्त्र नै आएन। उम्मेदवारको लिस्ट हेर्दा पनि दिक्क लाग्छ। पुराना त पुराना हुन्, नयाँ पनि उस्तै देखिए। समानुपातिकमा चाहिँ करले राखेका हुन्।’ उनले सम्भावित हार बेहोर्नुपर्ने स्थानमा महिलालाई प्राथमिकता दिने गरेको आरोपसमेत लगाइन्। उनका अनुसार आन्दोलन र चुनावका समयमा परिचालित महिलाहरूले विगतदेखि वर्तमानसम्म घर मात्र होइन, राजनीतिमा पनि अब्बलता देखाइरहेका छन् तर अवसरका समयमा उनीहरूलाई जहिल्यै पाखा लगाइन्छ।
प्रकाशित: ६ माघ २०८२ ०७:३१ मंगलबार





