सरकारले खाद्यान्न उत्पादन वृद्धि गर्ने बताउँदै आए पनि यो वर्ष करिब नौ अर्ब रुपैयाँको धान उत्पादन घटेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका चालु आर्थिक वर्ष २०८२/८३ मा धान उत्पादन ४.२० प्रतिशतले गिरावट आएको छ। मन्त्रालयका अनुसार पोहोरको तुलनामा यो वर्ष दुई लाख ५० हजार तीन सय पचास मेट्रिक टन धान उत्पादन घटेको छ। यसरी हेर्दा २५ लाख तीन हजार पाँच सय क्विन्टल उत्पादन घटेको छ। मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६ सय २८ रुपैयाँ छ। यसरी हेर्दा करिब नौ अर्ब मूल्यको धान उत्पादन घटेको देखिन्छ।
गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आवमा उक्त प्रतिशतले धान उत्पादनमा कमी देखिएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीका अनुसार चालु आवमा ५७ लाख पाँच हजार एक सय २६ मेट्रिक टन धान उत्पादन भएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन धान उत्पादन भएको अधिकृत रेग्मी बताउँछन्। चालु आवको तुलनामा गत आवमा पाँच लाख ३८ हजार तीन सय ५० मेट्रिक टन बढी धान उत्पादन भएको थियो। गत आवमा धान उत्पादन प्रतिहेक्टर ४.१९ मेट्रिक टन रहेकोमा चालु आवमा उत्पादकत्व १.१६ प्रतिशतले घटेर ४.१४ मेट्रिक टन प्रतिहेक्टर भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
चालु आवमा धान बालीको क्षेत्रफल पनि घटेको छ। गत आवमा धान बालीको कुल क्षेत्रफल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफल रहेकोमा चालु आवमा ३.८ प्रतिशतले घटेर १३ लाख ७६ हजार आठ सय ७२ हेक्टर क्षेत्रफल कायम रहेको मन्त्रालयले जनाएको छ। धान बाली लगाइने क्षेत्रफलमा कमी आउनुमा मुख्य गरी पहाडी क्षेत्रमा देखिएको बसाइँसराइ, युवाहरूको विदेशप्रतिको आकर्षण एवं फलफूल तथा नगदेबालीको क्षेत्रफलमा भएको वृद्धि छन्।
तराई एवं सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनको औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग जस्ता कारणले धानबालीको क्षेत्रफलमा केही कमी आएको मन्त्रालयले जनाएको छ।
यसैगरी मधेस प्रदेशमा धान लगाउने समयमा परेको खडेरीका कारण पनि धान उत्पादनमा कमी आएको हो।
यस आर्थिक वर्षमा उन्नत बिउ बिजन र मलखादको पर्याप्त उपलब्धता हुँदाहुँदै पनि प्रतिकूल मौसमका कारण उत्पादकत्वमा केही कमी आएको छ। धान बालीको क्षेत्रफल र उत्पादकत्वमा कमी भएका कारण चालु आवमा समग्र धान उत्पादनमा कमी आएको छ।
वरिष्ठ तथ्यांक अधिकृत रेग्मीका अनुसार तराईमा खडेरीका कारणले गर्दा यस वर्ष धान उत्पादनमा कमी आएको हो। कोसी र मधेश प्रदेशका केही जिल्लामा खडेरीका कारणले गर्दा धान उत्पादन घटेको अधिकृत रेग्मीले बताए।
अधिकृत रेग्मीले भने, ‘समयमै रोपाइँ हुन पाएन। ढिलो रोपाइँ हुँदा धान बालीमा दाना लाग्न सकेन। दाना लाग्न नसक्दा पराल मात्र हुने समस्या आयो।’
समयमै पानी नपरेकाले गर्दा पनि धान उत्पादनमा कमी आएको अधिकृत रेग्मी बताउँछन्। धान रोप्ने बेला राम्रोसँग पानी नपरेकाले गर्दा मधेशका मुख्य धान उत्पादन क्षेत्रलाई धेरै नोक्सान गरेको अधिकृत रेग्मीको भनाइ छ।
नेपालको खाद्य सुरक्षाका लागि धान बाली महत्वपूर्ण बाली हो। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आवमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २५.१६ प्रतिशत रहने अनुमान छ।
कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा धानबालीको योगदान करिब १२ प्रतिशत रहेको छ। यही कारण धानको उत्पादन सम्बन्धी आँकडा योजनाविद्, सोध तथा अध्ययन कर्ता र आम जनसमुदायको चासोको विषय रहँदै आएको छ।
प्रकाशित: ६ माघ २०८२ ०८:१४ मंगलबार





