१ श्रावण २०७७ बिहीबार
अन्य

मृत सत्य र गीत

कविता

चन्द्र रानाहँछा

आँसुले भिजेको मनको धागोहरू जोडेर

बुनिरहेको

मेरो सम्झनाको तान भत्किन्छ

यहाँ गीत नगाउ ।

सूर्यास्तछेउ

आकाशगंगाभरि टाँगिने बादलको नौरंगी चित्र

जसको विसन्चो छाँया तैरिएको छ  

हृदयको समुन्द्रमा

यतिखेर त्यै चित्रकारलाई सम्झिरहेछु म

यहाँ गीत नगाउ ।  

अमर केही छन् संसारमा

यसो कसैले नभन्नू ,

जुनतारा डुबेको देख्दादेख्दै

पहाड–पर्वत भत्किएको देख्दादेख्दै

आकाश फुटेर छताछुल्ल

भुँईभरि पोखिएको देख्दादेख्दै

धुवाँ उठेर शून्यतामा

समाधिस्थ भएको देख्दादेख्दै

पुग्छु भनेर हुँइकिएको बतासले

पहरामा आत्महत्या गरेको बुझ् दाबुझ्दै

फर्किन्छु भनेर दहबाट बिदाइ भएको छालले  

किनारामै आत्मदाह गरेको हेर्दाहेर्दै ।

   कोही बाँचिरन्हन्छ सधैलाई  

यस्तो कसैले नठान्नु

जीवनको प्रत्येक हरियो पात

बिस्तारै पहेंलिएर खसिजान्छ

गन्तव्यसम्म पुर्याउने अगावै

पाइताला डोर्याउने बाटाको अन्त्य कहीँ त हुन्छ ।

सत्य बाँचेकै छैन संसारमा

यस्तो कसैले नसोच्नु ,

यतिबेला

झझल्कोभरिको तस्वीर छ अघिल्तिर

जसको स्निग्ध आँखाबाट आँसु होइन रगत बगिरहेको छ

जसको सुन्दर गलामा मफलर होइन डोरी बेरिएको छ  

जसको विशाल छातीभित्र भर्खरै बिष्फोट भएको ज्वालामुखी छ

जसले जमिनतिर ताकेर दुवै मुठी कसेको छ ।

यतिखेर मेरो अघिल्तिर छ एउटा सत्य  

जुन सत्यभित्रको मुत्युलाई चिन्न चाहन्छु म

यो मृत्यु सत्यको हत्यारालाई खोज्न आतुर छु म

यहाँ गीत नगाउ ।

कवि एवं वरिष्ठ चित्रकार स्वर्गीय अर्जुन खालिङमा समर्पित  

प्रकाशित: १९ जेष्ठ २०७७ २३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App