१६ चैत्र २०८० शुक्रबार
अन्य

असल नेताको खोजीमा...

सेन्ट मेरिज स्कुल, जावलाखेलमा कक्षा ६ मा पढ्ने सर्भिका खड्काले लकडाउनमा बनाएको चित्र ।

अनुपा केसी  

कक्षा: ८, बुढानिलकण्ठ स्कुल, काठमाडौँ

नेतृत्वदायी भूमिका खेल्ने मान्छे नै नेता हो । नेताले समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्नुपर्छ । सामाजिक प्राणी मानिसलाई सामाजिकता चाहिन्छ । समाजमा सृष्टिदेखि नै भावनात्मक विकास भएको होइन । सबै किसिमका विकसित कार्यले फट्को मार्दा समाजलाई नेतृत्व गर्ने नेता अथवा प्रमुखको कुनै न कुनै रुपमा विकास भएको पाइन्छ । सृष्टि यसरी नै चलेको छ ।  

विश्वमा अनेक देश छन् । त्यहाँ सुशासन चलाउन कानुन बनाइएको छ । कानुनको परिधिमा रहेर देश विकास गर्न नेतृत्व चुनिएको हुन्छ । त्यो नेतृत्वले समाज र राष्ट्रलाई कहाँ पुर्याउने भन्ने भावना बोकेको हुन्छ ।  

अनुपा केसी  

सम्पतिको लोभ गर्ने र आफ्नो मान्छेलाई मात्र अबसर दिने नेता असल होइनन् ।  नागरिकलाई सुखी राख्ने क्षमता भएको नेता खोजेको छ मुलुकले ।

मुलुक बनाउन छानिएका नेतामा दूरदर्शिता, मुलुकप्रतिको उत्तरदायित्व, मानवियता, सही र गलत छुट्टयाउन सक्ने इन्द्रिय हुनुपर्छ । अरुको भन्दा फरक सोच्न राख्न सक्ने मान्छे नेता हुन्छ । उसमा यो राष्ट्र मेरो हो, यहाँ भएका सबै चिज हाम्रो सम्पति हो । राष्ट्र रहे मात्र हामी रहन्छौ । राष्ट्रलाई सम्पन्न बनाए हामी सम्पन्न हुन्छौ भन्ने ज्ञान हुनुपर्छ ।  

नेताले देशमा रहेका हरेक आबश्यकता परिपूर्ति गर्दै विकासमा जोड दिनुपर्छ । स्वदेशी उत्पादन उपयोग गर्न प्रोत्साहित गर्नुपर्छ । मुलुकमा भएका हिंसामा संलग्नलाई कानुनको दायरामा ल्याउन सक्नुपर्छ । नेताले नागरिकलाई विदेश जान बाध्य बनाउनु हुँदैन । स्वदेशमै रोजगारी सृजना गर्नुपर्छ ।  

उच्च शिक्षा हाँसिल गर्न अरू देशबाट नेपालमा आउने वातावरण सिर्जना गर्नुपर्छ । हाम्रो प्राकृतिक सम्पदाको दिगो उपयोग गर्नुपर्छ । त्यस्तै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले मुलुकलाई सभ्य बनाउनु पर्छ । हामीलाई पर्यटनमा जोड दिने नेता चाहिन्छ ।  

समयको चक्रसँगै मान्छेहरू स्वार्थी, एकलकाँटे, आफु र आफ्नो खोज्ने भएको पाइन्छ । यसले नै समाजलाई पछि पार्दै लान्छ । देशमा कानुन बनेको हुन्छ त्यसलाई लागु गर्ने मान्छे असल हुनुपर्छ । त्यो असल मान्छे नेता हुन्छ र सबैको मन मुटुमा बस्नसक्छ ।  

नेतामा आँट र हिम्मत हुनुपर्छ । भनिन्छ नि, ‘झुटो खा एकै छिन् । सत्य खा छिन्छिन् ।’ 

मुलुकमा कानुनी शासन चलाउन असल सोच, सामाजिक नेतृत्व र स्वाभिमानी नेतृत्वको खाँचो छ । सबै नागरिकलाई खुसी र सुखी राख्ने क्षमता भएको नेता खोजेको छ हाम्रो मुलुकले । सम्पतिको लोभ, आफन्त र आफ्नो मान्छे भन्ने भावना भएको नेता असल हुन सक्दैन । नेताले त हरेक नागरिकलाई समान व्यबहार गर्नुपर्छ । अन्त्यमा, मुलुकले इमान्दार, कर्मठ र साहसी नेता खोजेको छ । देशलाई आमा ठान्ने अनि सबै नागरिकलाई सन्तान मानेर दुःख गर्ने नेता चाहिएको छ ।  

प्रकाशित: १८ जेष्ठ २०७७ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App