८ आश्विन २०७७ बिहीबार
अन्य

सबैलाई निःशुल्क शिक्षा दिलाउँथें

तेजश्वी श्रेष्ठ
कक्षा: ८, बुढानिलकण्ठ स्कुल, काठमाडाै‌।

नागरिक दैनिकको निबन्ध लेखन प्रतियोगिताले देशको आम्दानी तथा खर्चको हिसावकिताव राख्ने ठूलो जिम्मेवारी मेरो काँधमा आएको छ। म बालिका भएकाले बालबालिकाको सरोकार मेरो पहिलो सरोकार हुने भैहाल्यो। अहा कस्तो मज्जा ! आफै अर्थमन्त्री, अनि आफ्नै समूहका लागि प्राथमिकता। म त सपना देखेको देख्यै छु भन्या।  

सवैभन्दा पहिलो त स–साना नानीलाई टाढाटाढा बस चढेर पढ्न जानुपर्ने बाध्यताको अन्त्य गर्थें। घर छेवैका विद्यालयमा किन नपढाउने ? कम्तीमा १० कक्षासम्म नजिकै पढ्न अनिवार्य गरिदिन्थे। त्यसपछि न ट्राफिक जाम, न प्रदुषण न आँखा मिच्दै बस चढी स्कुल जाने हतारो। विद्यालयको बस भाडा घट्दा बुवाआमालाई पनि बोझ कम, प्रकृतिलाई पनि धुवाँको बोझ कम।

दोश्रो एसइईलाई आफ्नै विद्यालयले लिने व्यवस्था गर्न हालको परीक्षा खर्च कटौती गर्थें। कक्षा ९ सम्म त्यही विद्यालयले लिएको परीक्षा मान्य हुने, अनि १० को चाहिं किन नहुने ? त्यस्तो भएको भए अहिले १० कक्षाका दाजुदिदी ११ कक्षामा पुगिसक्नु हुन्थ्यो। हेर्नुस त कति तनाव उहाँहरूलाई ? विद्यालय तह नै १२ कक्षा भएपछि किन १० मा देशभरको एउटै परिक्षा ? एसइई परीक्षालाई बिद्यालयमै लिन सकियो भने शिक्षाको व्यापार त आधै घटिहाल्छ।

बुझ्ने भएदेखि सुनेको छु ‘बालबालिका भनेका देशका कर्णधार हुन्। देशका भविष्य हुन्। जस्तो बालबालिका छन् देशको भविष्य पनि त त्यस्तै हुन्छ।’ देशका लागि खटिएर काम गरी भोलि देशलाई विश्वमा चिनाउने आजका बालबालिका नै हुन्। त्यसैले, अर्थमन्त्रीका नाताले म देशका सबै बालबालिकालाई उनीहरूको मौलिक हक दिन सक्दो प्रयास गर्थे। त्यसैले, तेश्रो चाहिं म सबै बालबालिकाले पुग्नेगरी पोषिलो खानेकुरा खान पाउने, दिनहुँ विद्यालय जान पाउने, सफा पानी पिउन पाउने र जीवन निर्वाह गर्नका निम्ति कलिलो उमेरमै काम गर्न नपर्ने वातावरण सिर्जना गर्थे। त्यो गर्नका निम्ति म विद्यालयका अनुभवी गुरुसहित योजनाविद् र विद्वानसँग सुझाव लिएर बजेट बनाउँथें।  

विद्यालय तह नै १२ कक्षा भए पछि किन १० मा देशभरको एउटै परीक्षा ? एसइई परीक्षालाई बिद्यालयमै लिन सकियो भने शिक्षाको व्यापार त आधै घटिहाल्छ।

चौंथो, त्यसरी बजेटबाट छुट्टयाइएको रकमबाट हरेक स्थानीय तहमा गएर कम्तीमा एउटा गुणस्तरीय विद्यालय बनाउँथे। त्यहाँ राम्राराम्रा शिक्षक पठाउँथे। विद्यालयमा खालि जग्गा राखेर त्यहाँ करेसाबारी बनाउन लगाउँथे। अनि त्यहाँ तरकारी र फलफूल रोप्न बिउ पनि बाँड्थे। यसो गरेमा सबै विद्यार्थीले पोषिलो र विषादि नहालिएका खानेकुरा पाउने थिए। सबै विद्यालय निःशुल्क बनाउँथे। छुट्याइएको रकमबाट किताब, कापी र कलम किनेर विद्यार्थीलाई दिन्थे। सबै ठाउँमा सुविधायुक्त अस्पताल पनि बनाउँथे र राम्राराम्रा डाक्टरलाई देशभर उपलब्ध गराउँथे। शिक्षक र डाक्टरको तलव प्रशस्तै बढाउँथे। आफू सरकारी विद्यालयमा पढाउने अनि वच्चालाई निजीमा पढाउने गर्न चाहिं रोक्थे।  

अन्तमा, म एउटा कुरामा सधैँ विषेश ध्यान दिन्थे कि बालबालिका कमलो माटो जस्तै हुन्। त्यसैले, आज हामीले उनीहरूलाई जस्तो आकार दिन्छौँ, भोलि त्यस्तै बन्छन्। आज हामीले असल बनेर देशको विकास गर्न सिकायौँ भने भोलि उनीहरू देश विकासमा खटिन्छन्। उनीहरूलाई के गलत के सही छुट्टयाउन सक्ने असल नागरिक वन्न सघाउने शिक्षा नीति बनाउन सहकर्मी शिक्षा मन्त्रीसँग भन्थें।  

बालबालिकाका लागि खर्च गर्नु भनेको नै देशको उज्ज्वल भविष्यका लागि खर्च गर्नु हो। देशको भविष्य बालबालिकाको हातमा हुन्छ। भनिन्छ नि एक वर्षका लागि सोच्ने भए अन्नवाली लगाउ, अलि परको लागि सोच्ने भए फलफूल लगाउ। तर सन्ततिका लागि सोच्ने भए शिक्षामा लगानी खन्याउ। हो म पनि समाज र सन्ततिका लागि शिक्षामा लगानी खन्याउथें। 

प्रकाशित: १७ जेष्ठ २०७७ ०९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App