१६ चैत्र २०८० शुक्रबार
अन्य

धार्मिक सिरियल हेर्दा

इन्सु तारा निरौला

कक्षा – २

मोर्डन बोर्डिङ स्कुल दधिकोट, भक्तपुर ।

म २ कक्षामा स्कुल जाने भनेर तयार हुँदाहुँदै लकडाउन शुरू भैहाल्यो । शुरूमा दुई हप्तालाई लकडाउन चल्ने भनेको  रे तर दुई महिना भएको छ । हामी घरबाट बाहिर जाँदैनौं । तर मैले यो बीचमा लकडाउनको समयमा धार्मिक सिरियलहरू महाभारत, रामायण, विष्णुपुराण हेरें । मलाई मनपरेको विष्णुपुराणको एउटा कथा आज भन्नेछु । 

विष्णु पुराणमा पनि समुन्द्र मन्थन गरेको कथा मलाई सारै मनपरयो । समुद्र मन्थन गरेर अमृत निकाल्ने सल्लाह हुन्छ । कश्यप ऋषिका तीन थरीका छोराहरू छन् । देवता, दानव र मान्छे तीन थरी छोरा छन् । तीमध्ये समुद्र मन्थन गर्न एक्लै सम्भव नहुने भएकाले एकापट्टि दानवहरू र अर्कापट्टि देउताहरूले लागेर समुन्द्र मन्थन गर्ने सल्लाह हुन्छ । 

समुन्द्र मन्थन गर्न मन्दर पर्वतलाई मदानी बनाइन्छ  । पर्वतलाई समुद्रमा डुबाएर वासुकि नागको डोरी बनाउँदै समुन्द्र मन्थन गर्न थाल्छन्  । समुद्र मन्थनबाट आएको अमृतचाहिँ बराबर भाग लाउने भनेर पहिले सहमति गरेको हुन्छ  तर त्यहाँ समुद्र मन्थन गर्दा अमृत मात्र निस्किन्न । कालकुट विष पनि निस्किन्छ । लक्ष्मी पनि निस्किन्छिन् । 

अब लक्ष्मीलाई आधाआधा भाग गर्न यस कुरामा विवाद भैहाल्छ । कालकुट विष शिवले खान्छन् र उनको नाम नीलकण्ठ रहेको हो । पछि अमृत निस्केपछि दानव पक्षले अमृतको घैंटो चोरेर लग्छन् । यसअघि नै राक्षसहरूसँग सञ्जीवनी मन्त्र हुन्छ । जुन राक्षस युद्धमा मर्छ उसलाई यो मन्त्रले बिउँताउन सक्छ । यही शक्तिसँग बराबर हुन देवताहरूले समुद्र मन्थन गर्न चाहेका हुन्छन् । 

अमृत निस्किसकेपछि पनि देवता र दानवको विवाद हुन्छ । त्यो विवाद मिलाउन विष्णुले ठूलै षड्यन्त्र  गर्नुपर्छ । देवताहरू सहयोग माग्दै विष्णु भगवान्कामा पुग्छन् । विष्णुले अप्सराको रूपधारण गरी अमृतको घैंटो लिएर सबैको उपस्थितिमा बाँड्ने काम थाल्छन् । देवताहरू साना हुन्, सानाबाट बाँड्न थालौं भन्ने कुरामा सबैलाई सहमत गराएर देवतापट्टिबाट खुवाउन शुरू गर्छन् र दानवसम्म पुग्दा सबै अमृत सकिदिन्छन् । तर स्वरभानु नामक राक्षसले छल गरेर अमृत खाइहाल्छन् । यसरी अमृत खाने राक्षसको विष्णुले सुदर्शन चक्र हानेर टाउको र शरीर छुट्याइदिन्छन् । यस घटनापछि राक्षस र देवता सधैंका लागि शत्रु हुन्छन् । जसले जहाँ भेटे पनि मार्ने कुरा हुन्छ । विष्णुले शरीर छुट्याएका राक्षस आज पनि राहु र केतु नाममा शरीर र टाउको भएर रहेको कथा पनि रहेछ ।  

विष्णु पुराणको यो भाग हेरेपछि मलाई नराम्रो लाग्यो । शुरूमा गरिएको सहमतिअनुसार दुवै पक्ष नचलेकाले युद्ध भयो, ज्यान मारियो । सहमतिअनुसार लेनदेन नगर्नाले र अनेक छल गर्नाले देवता पनि स्वार्थी भए जस्तो लाग्यो । बराबरी काम गर्न बराबरी भाग छुट्याउन नसक्ने हो भने पछि मिलेर गर्नुपर्ने काम हुन सक्दैनन् जस्तो मलाई लाग्छ । संसारमा मिलेर गर्नुपर्ने काम धेरै छन् । एक्लैले कतिपय काम गर्न बलबुद्धि पनि पुग्दैन ।  

योबाहेक मैले दैनिक दुई घण्टा घरको पुस्तकालयमा बसेर पढ्ने गरेकी छु । पाठ पनि पढ्छु र अक्षर राम्रा बनाउन दैनिक पाँचछ पानालेख्छु । मैले एक घण्टाचाहिँ घरका काममा सघाउने गरेकी छु । घरको सिंढी सफा गर्ने, रेलिङ पुछ्न सघाउने मेरा दैनिक अरू काम हुन् । हप्ता दिन अघिदेखि चाहिँ हामी बिहान उठेर शारीरिक अभ्यास पनि गर्छौ । मेरा लकडाउनका दिन यसरी नै बित्दै छन् । साथीहरूका पनि रमाइलो गरी बित्दै होलान् नि ? तपाईहरूका पनि आफ्ना अनुभव पठाउनु है । 

प्रकाशित: १७ जेष्ठ २०७७ ००:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App