२८ असार २०७७ आइतबार
अन्य

काममा रमाईरमाई दिन बिताउँदै छु

मनिता विक

कक्षाः ८, इन्द्रेणीपोखरी माध्यमिक विद्यालय

खोटेहाङ गाउँपालिका– ६, खोटाङ ।

यतिखेर विश्वभरि महामारीको रूपमा कोरोना भाइरस फैलिएको छ । यसै कारण २०७७ चैत्र ५ देखि हाम्रो विद्यालय केही दिनलाई बन्द गरिएको थियो । तर, अझै खुलेको छैन । सुनेको छु, संसारभरि नै यसबेला विद्यालयहरू बन्द छन् ।

मानिसहरूको काल बनेर यो महामारी विश्वका ठूला र शक्तिशाली ठानिने देशतिर घुम्दैफिर्दै हाम्रो देशमा पनि फैलिरहेको रेडियोबाट समाचार सुन्दै छु । बढिरहेको संक्रमित संख्या र यसबाट भइरहेको मानिसको दुःखद मृत्युले म लगायत पहाडको यो दुर्गम बस्तीमा बस्ने अन्यलाई पनि डर र त्रास दिइरहेको छ ।  

हाम्रा गाउँका धेरै मानिस विदेशमा, देशका विभिन्न ठाउँमा रोजगारी, पेसा र पढाइको सिलसिलामा गएका थिए । आज उनीहरू यो कोरोना भाइरसबाट लखेटिंदै, लुक्दैभाग्दै, सुरक्षा खोज्दै हाम्रो यो एकान्त, शान्त र सुन्दर गाउँमा आइरहेका छन् । आफन्तै हुन् । नेपाली नै हुन् तर मृत्यु नै पो बोकेर ल्याए कि भनी देख्दाभेट्दा उनीहरूदेखि नै डर लाग्छ । सबैलाई मृत्युको डर हुँदो रहेछ । हाम्रो ग्रामीण भेगमा सुरक्षित र सुविधाजनक क्वारेन्टिनहरू छैनन् । क्वारेन्टिनमा बस्नेहरू स्वास्थ्यकर्मीले तोकेको आचरणमा छैनन् । त्यसैले पनि मनमा त्रास उब्जन छोडेको छैन ।

सँगै पढ्ने साथीहरूसँग मेरो भेटघाट भएको छैन । फोनमा कुरा गर्न सम्भव छैन । विद्यालयमा पढेको सबै बिर्सिसकें जस्तो लाग्छ । गुरु र गुरुआमाहरूको याद आउँछ । उहाँहरूसँग उतिसारो भेट हुन्न । शहरतिर अनलाइन कक्षा सञ्चालन भैरहेको सुन्छु । हाम्रो पहाडी भेगको अनकन्टार गाउँमा त्यो सम्भव छैन । यो लकडाउनको बेला नयाँ पुस्तक पाउने सम्भावना पनि छैन ।  

म मामाघरमा बसेर पढदै छु । मामाघर भन्नु मात्रै हो– आमा र सानीमाहरू मात्र जन्मिएकाले मामामाइजूहरू हुनुहुन्न । सानीमाहरू सबै आफ्नै घरमा हुनुहुन्छ । त्यसैले यसबेला मेरो विद्यालय भन्नु नै मेरो मामाघर, गुरु भन्नु नै मेरो हजुरबा, गुरुआमा भन्नु मेरी हजुरआमा र पढ्ने–सिक्ने कुरा नै हजुरबाहजुरआमाका सीप र उहाँहरूले आफ्नो जीवनमा भोगेका अनुभव भएको छ । हजुरबाले खेतबारीमा काम गर्न सिकाउनुहुन्छ । खेल्नु जस्तै काम गर्नु पनि मजा आउँदो रहेछ । यसैले काममा रमाईरमाई दिन बिताउँदै छु ।

मकै गोड्नु, कोदाको ब्याड राख्नु र डोको बुन्नु हजरबासँग गरिने रमाइला काम हुन् । उहाँले भोगेका दुःखसुख सुनाउनुहुन्छ । त्यो सुन्दा मलाई कुनै कथा पढिरहेको जस्तै लाग्छ । उहाँका कुरा सुन्दा मलाई मेरो जीवन बुझ्न सजिलो भएको छ । मैले उहाँबाट जाने, दुःखमा नै जीवन मजबुत हुँदोरहेछ र सुखमा जीवन आनन्दित हुँदोरहेछ ।

हजुरआमा मलाई जंगलमा दाउरा काट्न र भारी हाल्न सिकाउनुहुन्छ । उहाँबाटै खानेकुरा पकाउन सिक्दै  छु । लिपपोत गर्न, संगिनी भाका हाल्न र परालको गुन्द्री बुन्न सिकिरहेकी छु । परालको सुकुल आँगनमा बसेर बान्की मिलाईमिलाई बुन्न कति काइदा  हुँदो रहेछ । 

यसरी मनमा कोरोना भाइरसको चिन्ता भए पनि धेरै कुरा सिक्दै छु । सतर्कता अपनाउँदै यो बन्दाबन्दीको समय बिताउन निकै बानी परिसकेको छु । रेडियोमा भनेअनुसार बेलाबेलामा साबुनपानीले हात धुँदै सरसफाइमा पनि ध्यान दिँदै छु । भीडभाड हाटबजारमा नगई विद्युत भएको बेला रेडियो सुन्दै आफ्नै तरीकाले दिन बिताउँदै छु । यो महामारीको अन्त्य भई पहिले जस्तै स्वतन्त्र ढंगले विद्यालय जान पाइयोस भन्ने आशामा सम्पूर्ण साथीलाई सम्झेर दिन बिताउँदैे छु ।  

प्रकाशित: ९ जेष्ठ २०७७ १४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App