रिया राई
कक्षा:८
इडन ब्रीज एकेडेमी
टोखा, काठमाडौं
कोरोना भाइरसका कारण विश्वमा आतंक फैलिएको छ। भाइरसले धेरैको ज्यान लिइसक्यो। अझै कतिको ज्यान जाने हो थाहा छैन। कोरोनाका कारण धेरै देशमा लकडाउन गरिएको छ। लकडाउनका कारण मानिस घरभित्रै थुनिएर बस्नु परेको छ। कोरोनाबाट नेपालमा कसैको मृत्यू नभए पनि बिरामीको संख्या बढिरहेको छ। त्यसैले धेरै डर लागि रहेको छ। स्कुलका साथीहरूसँग भेट नभएको पनि धेरै भैसक्यो।
हामी सपरिवार घरमा बसिरहेका छौ। यसलाई होम क्वारेन्टाइन भनिन्छ। हामी सुरक्षित छौ र सबैलाई सुरक्षित रहन अनुरोध गर्दछु। लामो समयसम्म घरमा बस्दा समय कटाउन कठिन हुने रहेछ भन्ने सिकेकी छु।
अहिले म र बहिनी रिम्सा घरमा बसेर सकेको काम सघाइरहेका छौ। लुगा धुने, घर सफा गर्ने, फूल स्याहार गर्ने, बारी खन्ने, मिलाउने काम गरेर समयको उपयोग गरिरहेका छौं। साथै घरिघरी खेल्ने पनि गर्छौ। यो समयमा ठूलीआमाको सहयोगमा मैले धागोबाट बन्ने धजुरा र फुर्को बुन्न पनि सिकें। यी चिज हाम्रो राई संस्कृतिमा उपहार दिन महत्वपूर्ण हुन्छ। लकडाउन नभएको भए यो कुरा सिक्न पाउनन्थें। घरमा बसेर हामीले धेरै कुरा सिक्यौं।
हाम्रो विद्यालय खुलेको छैन। ख्वै कहिले खुल्छ होला ? हाम्रो विद्यालयका प्रिन्सिपल सरले चाँडै खुल्छ भन्नु भएको छ। ‘चिन्ता नगर्नु, जीवन रहे सबै कुरा गर्न सकिन्छ। आफुलाई व्यस्त राख्नु। यो समय घरायसी काम सिक्ने ठूलो अवसर हो’ भन्नू भएको छ। यो त झन वास्तविक सिकाई पो रहेछ ! उता पढाइ छुटे पनि यता धेरै कुरा सिक्ने मौका पाएका छौ। यसैमा रमाएका छौ। हाम्रो स्कुलले अनलाइन कक्षा पनि सुरु गरेको छ। धेरै खुसी लागेको छ। साथीसँग भेट नभएर नियास्रो लागेका बेला अनलाइनमा भए पनि साथी र शिक्षकसँग कुरा गर्ने र देखादेख गर्ने अवसर मिलेको छ। हाम्रो प्रिन्सिपल प्रेम राई परीक्षित साहित्यकार हुनुहुन्छ। उहाँका सिर्जना फेसबुकमा पढ्न पाउँदा आनन्द लाग्छ।
हाम्रो स्कुल चाँडै खुले हुन्थ्यो नि। हामी बालबालिकालाई पञ्जा, मास्क र स्यानिटाइजर सरकारले निःशुल्क ब्यबस्था गरिदिए हुन्थ्यो। साथै चाडै स्कुल खुलाउन पहल पनि गरिदिए हुन्थ्यो। यति गरिदिए हामी खुसी हुने थियौं।
यसको उपचार छैन। त्यसैले सबैलाई विशेष काम बाहेक आफ्नो घरबाट बाहिर ननिस्कन र निस्के पनि मास्क राम्रोसँग लगाउन, पञ्जा र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न अनुरोध गर्दछु। स्वास्थ्यको ख्याल गर्न तातोपानी र भिटामिन सि खान सल्लाह दिन्छु। मानिस केही मतलव नगरी बाहिर निस्केको टिभीमा देखेकी छु। कृपया लापरवाही नगरौं।
लकडाउनको समयमा चित्र कोरेर कथा, कविता लेखेर नयाँनयाँ पुस्तक पढेर, खेलेर अनि घरायसी काम गरेर समयको सदुपयोग गर्न सकिन्छ। अन्त्यमा, कोरोनाका बिरामीलाई उपचार गर्ने स्वास्थ्यकर्मी र दिनरात सुरक्षामा खटिने सुरक्षाकर्मीलाई धन्यवाद दिन्छु। आउनुहोस् हामी सबै मिलेर कोरोना विरुद्ध लडौं।
प्रकाशित: ३० वैशाख २०७७ १०:२५ मंगलबार