१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्य

अबको संसार, मास्कसहितको संसार

डेभिड सुकम्यान, साइन्स एडिटर, बिबिसी
कोरोना भाइरसको संक्रमण रोक्नका लागि बढीभन्दा बढी मानिसले फेसमास्क लगाउनु पर्छ ? यो प्रश्नको उत्तरम अब विश्व स्वास्थ्य संगठनका केही विशेषज्ञले खोज्नेछन् ।

विशेषज्ञहरुको यो समूहले अब कोरोनाभाइरसले हाच्छ्यूँ गर्दा कति टाढासम्म फैलिन सक्छ भनी अध्ययन गरिरहेका छन् । केहीको भनाइ छ, हामीले गरेको हाच्छ्यूँका कारण कोरोनाभाइरस ६ देखि ८ मिटर टाढासम्म पुग्नसक्छ ।
अमेरिकामा भएको एउटा अध्ययनले कोभिड-१९ भाइरस हाच्छ्यूँ गर्दा ६ देखि ८ मिटर टाढासम्म पुगेको देखिएको छ ।
यो अध्ययन समूहको अगुवाई गर्ने प्राध्यापक डेभिड हेम्यानले बिबिसीलाई भने, ‘नयाँ शोधबाट मास्क लगाउनै पर्ने निर्देशन र सल्लाहमा परिवर्तन आउन सक्छ ।’

विश्व स्वास्थ्य संगठनका पूर्व निर्देशक प्राध्यापक हेम्यानले भने, ‘नयाँ प्रमाणहरुलाई हेर्दै गर्दा हामीले अबका दिनमा मास्क लगाउने तरिकामा परिवर्तन गर्न जरुरी छ कि छैन भन्ने स्पष्ट हुने दिन आउँदैछ ।’

अहिलेको अवस्था के छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणको खतरा रोक्नका लागि खोक्ने वा हाच्छ्यूँ गर्ने व्यक्तिले एक मिटरको दुरी बनाउनै पर्छ । संगठनले कोरोना संक्रमणको लक्षण भएका व्यक्तिले त अनिवार्य रुपमा मास्क लगाउनै पर्ने उर्दी जारी गरेको छ । अहिले त संक्रमणको आशंका भएका वा संक्रमित व्यक्तिको रेखदेख गरिरहेकाहरुलाई मात्र मास्क लगाउने सुझाव दिइएको छ ।

मास्क त्यो ठीक हुन्छ, जुन केही समयपछि परिवर्तन गरिन्छ । अर्थात्, प्रयोग गरेको केही घण्टामा त्यसलाई फ्याँकिन्छ, ठीक तरिकाले डिस्पोज गरिन्छ र पटक पटक हात धोइन्छ ।

अहिले संसारभरि नै सोसल डिस्टेन्सिङको नियम पालना गराउन सरकारहरु लागिपरेका छन् । यसको मूल कारण के छ भने कोरोना भाइरस नाक र मुखबाट निस्कने र्‍याल वा सिँगानमार्फत फैलिने गरेको छ । यस्ता चिजहरु भुइँमा खस्छन् र भुइँमा हाम्रो सम्पर्कमा आएका बेला हामीलाई पनि कोरोनाभाइरस सर्ने सम्भावना हुन्छ ।

नयाँ शोधले के भन्छ ?
क्याम्ब्रिजमा एमआइटीका शोधकर्ताहरुले कसैले खोक्दा वा हाच्छ्यूँ गरेपछि के हुन्छ भनी जान्न एउटा हाइस्पिड क्यामेरा र अन्य सेन्सर प्रयोग गरी हेरेका थिए ।

यसमा उनीहरुले के पाए भने श्वास लिँदा ग्यासको एउटा धुँवा उत्पन्न हुन्छ, जसको गति निकै तीव्र हुन्छ । उक्त ग्यासमा केही बेग्लाबेग्लै आकारका केही थोपा पनि हुन्छन् ।

जुन सानो थोपा हुन्छन्, हाच्छयूँ गर्दा ती सबैभन्दा टाढासम्म पुगने क्षमताका हुन्छन् । प्रयोगशालामा गरिएको यस अध्ययनले के पत्ता लाग्यो भने खोक्दा निस्कने थुक वा खकारका  थोपा ६ देखि ८ मिटर टाढासम्म पुगे ।

यसको बेफाइदा के छ ?
यस शोधको अगुवाई गर्ने प्राध्यापक लिडिया बरोयिबा चाहिँ ‘सुरक्षित दुरी’का बारेमा अहिले जेजस्तो धारणा छ, त्यो निकै गलत हुनसक्नेमा उनी चिन्तित छिन् ।

उनले भनिन्, ‘जब हामी श्वास लिन्छौँ, खोक्छौँ र हाच्छ्यूँ गर्छौं, यस्तो बेला निस्कने थोपा निकै टाढासम्म जान सक्छन् । यदि तपाईंले कोठामा खोक्नु वा हाच्छयूँ गर्नुभयो भने पूरै कोठाभरि तपाईंको छिटा फैलिन्छन् । त्यसैले दुई मिटरको दुरी भन्ने हाम्रो भ्रम त्यहीँ तोडिन्छ । सबै थोपा जमिनमा नै खस्छन् भन्ने हुँदैन ।’

उसो भए मास्क लगाउने तरिका बद्लिएला ?
प्रोफेसर लिडिया भन्छिन्, ‘केही परिस्थितिमा खासगरी बन्द कोठामा जहाँ राम्रोसँग हावा आउँदैन) त्यस्तो ठाउँमा मास्क लगाउँदा खतरा कम हुन्छ ।’

उदाहरणका रुपमा, तपाईं कुनै संक्रमित व्यक्ति नजिक हुनुहुन्छ । यस्तो बेलामा तपाईंले लगाउनु भएको मास्कले संक्रमित व्यक्तिबाट आइरहेको भाइरसलाई उतै मोड्न भूमिका खेल्न सक्छ ।

उनका अनुसार, ‘कमसल खालको मास्कबाट पूर्ण सुरक्षाको प्रत्याभूति त पाउन सकिदैन तर तीव्र गतिले आउने थोपा पूरै छिर्ने सम्भावना भने कम नै हुन्छ । र, भाइरस आउने दिशा पनि मास्कमा ठोक्किएर फर्कने सम्भावना बढीभन्दा बढी हुन्छ ।’

विश्व स्वास्थ्य संगठनका विशेषज्ञ के भन्छन् ?
विश्व स्वास्थ्य संगठनका पूर्व निर्देशक प्रोफेसर हेम्यान भन्छन्, ‘एमआइटीको नयाँ शोधले जे परिणाम ल्याएको छ, त्यसको मूल्याङ्कन गरिनेछ । तर यो शोधले यस्तो लागिरहेको छ, वास्तवमा मास्क लगाउनु सामाजिक दुरीभन्दा निकै प्रभावशाली होला जस्तो देखिइरहेको छ ।’ हुन त मास्क लगाउने भने ट्यास्स टाँसेर मात्र नहुने उनको भनाइ छ । यसका लागि मास्क लगाउने पनि उचित तरिका हुन्छ । सही तरिकाले लगाइएको मास्कले मात्र कोरोना वा अन्य यस किसिमका संक्रमणबाट मानिसलाई जोगाउन सक्छ ।

उनी भन्छन्, ‘मास्कमा नाकको ठाउँमा एउटा सिल हुनुपर्छ किनभने यदि त्यो भाग भिज्यो भने थोपा नाकमा टाँसिने सम्भावना हुन्छ । मास्क निकाल्दा पनि सावधानीपूर्वक निकाल्नुपर्ने हुन्छ । ताकि हातमा संक्रमण नसरोस् । मास्क लगातार लगाउनुपर्छ । आज लगाउने र भोलि नलगाउने गर्नु हुँदैन ।’

विश्व स्वास्थ्य संगठनको यस समूहको नाम स्ट्राटेजिक एन्ड टेक्निकल एडभाइजरी ग्रुप फर इन्फेक्सियस ह्याजर्ड्स हो । यो समूहले निकट भविष्यमा नै मास्क लगाउने विषयलाई लिएर एउटा निर्णय सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

यस्तै पब्लिक हेल्थ इंग्ल्यान्ड नामक संस्थाका प्रवक्ताको भनाइ छ, ‘घरबाहिर मास्क लगाउनुको बढीभन्दा बढी फाइदा हुन्छ भन्ने कुराको लागि सबुत भइरहनु पर्दैन । यो कामको चिज हो ।’ कोभिड-१९ संक्रमणको यो बेला स्वस्थ मानिस पनि मास्क लगाइरहेका छन् । यस्तोमा विश्व स्वास्थ्य संगठनको नयाँ शोधले मास्क लगाउने बानीलाई अझ पुट दिन सक्छ ।

 

 

प्रकाशित: २१ वैशाख २०७७ ०५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App