शाश्वतप्रसाद लाकोजू, कक्षा: ९
सूर्योदय माध्यमिक बोर्डिङ स्कुल,पनौती, काभ्रे।
लकडाउन भएको महिना दिन वितिसक्यो । विश्वभर कोरोना भाइरस कोभिड–१९ का कारण एक प्रकारको त्रास छ । विश्वका यही समस्यासँग जुधिरहेको छ । लाखौंको संख्यामा विश्वका मानिसले ज्यान गुमाइसकेका छन् । लाखौं संख्यामा विश्वभरका मानिस कोरोनाबाट प्रभावित छन् । केही मानिस पूर्णरूपमा निको भएर घर पनि फर्किसकेका छन् ।
कोरोना भाइरस मानिसको अदृश्य शत्रु हो । यसबाट बच्ने एउटै उपाय सावधानी हो । हाम्रो देशको सरकारले पनि गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ । लकडाउन अवधिभर हामी आफ्नै घरमा रहनु पर्दछ । अति आवश्यक काममा बाहेक बाहिर निस्कनु हुन्न ।
हरेक कुराको राम्रा र नराम्रा पक्ष हुन्छन् । लकडाउनका पनि नराम्रा मात्र होइन, राम्रा पक्ष पनि छन् । मान्छे भन्छन्, थुनिएर बस्नु प¥यो । जीवन जेल जस्तै भयो । गरी खानेलाई समस्या भयो । यी सबै कुरा सत्य हुन् । तर यो मानवले सिर्जना गरेको समस्या होइन । यसलाई प्रकोप भन्न सकिन्छ ।
संसारभर लकडाउन हुँदा देखिएको सबैभन्दा राम्रो पक्ष भनेको वातावरणीय सुधार हो जस्तो लाग्छ मलाई । लामो समयपछि सहरबाट निलो आकास देखिन थालेका छन् । नदिहरू सफा भए । समुन्द्रमा फोहर कम भयो । जङ्गली जनावर निडर भएर सहरमा घुमेका छन् । यो भयो प्रकृतिमा देखिएको परिवर्तन । लकडाउनमा बस्दा समय सदुपयोग गरेर केही कुरा सिक्ने, जान्ने बुझ्ने हुन सक्छन् । ज्ञानलाई फराकिलो बनाउन सक्छन् ।
लकडाउन सुरु भएपछि केही दिन त मलाई पनि दिक्क लाग्दो भयो । तर पछिल्ला दिनमा भने म रमाइरहेको छु । यस अवधिमा मैले केही एतिहासिक चलचित्र हेरेको छु जसबाट नेपाल, छिमेकी राष्ट्र भारत र केही विश्वका अन्य देशका बारेमा जान्ने मौका पाएँ । यस्ता चलचित्रबाट एकातिर मनोरञ्जन र अर्कोतिर ज्ञान पनि पाइने रहेछ । यो अवधिमा मलाई मन पर्ने राष्ट्रकविका केही कविता पढ्ने अवसर पनि पाएँ । उनका बैशाख, गाउँछ गीत नेपाली, घामपानी जस्ता कविता मैले पढें । उनका कविता लय भएको गाउन मिल्ने खालका हुन्छन् । उनका बालकवितामा प्रकृतिको वर्णन हुन्छ । देशलाई माया गर्नुपर्छ भन्ने सन्देश पनि उनका कवितामा हुन्छन् ।
राष्ट्रकविलाई उहाँकै निवासमा एकपल्ट भेट्ने अवसर पाएको छु । उनले कवितामा पनि नेपाल र नेपालीलाई प्रेम गरेका छन् । उनको यो कवितांशले यही भन्छ ।
यही नेपाली माटोमा दिलको फुल रोपेर
यही पहाडी शिलामा प्रीतिको गीत खोपेर
बाँचौला हामी नेपालमा चन्द्र र सूर्य ध्वजा लिई
नाचौला हामी हिमालमा ज्योतिको पङ्ख उचाली ।
मलाई मन पर्ने अर्को कवि क्षेत्रप्रताप अधिकारी पनि हुन । उनका फुटकर कविता पढेको छु । सरल भाषामा मीठो कविता लेख्ने कवि अधिकारीका कविता मनलाई छुने खालका हुन्छन् । उनका फूल, अर्ती शीर्षकका कविता लकडाउनमा पनि पढें । उनको कविताको एक पंक्ति पनि यहाँ राख्छु ।
धेरै पढ्नुपर्छ
थोरै खेल्नुपर्छ
उल्टो भयो भने
दुःख झेल्नुपर्छ ।
लकडाउनको समयमा मैले बाबा सूर्यप्रसाद लाकोजूका कवितासङ्ग्रहहरू साथी, कोपिला, फूलैफूल पनि पढें । तीनमा भएका बालकविताहरूमध्ये छोरा, पुतली, मौरी, असल बन्न सिक्छौं, मेरो एक दिन, देश ठूलो हो, कमिला, मेरी आमा, आकाशका तारा लगायतका मलाई मन परेका कविता हुन् । बाबाका कविता पनि सरल र सरस लाग्छन् । उनका कविताबाट पनि असल बन्नुपर्ने, देशलाई माया गर्नु पर्ने शिक्षा पाएँ ।
समय निरन्तर बगिरहन्छ । यसले कसैलाई पर्खँदैन । वितेको समय फर्कंदैन । त्यसैले लकडाउनको भरपुर सदुपयोग गर्नुपर्छ । लेख्नैपर्छ भन्ने पनि छैन । आफूलाई मनपर्ने पुस्तक पढ्ने, अन्य सिर्जनात्मक काम गरेर पनि लकडाउन उपयोग गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।
प्रकाशित: १५ वैशाख २०७७ ०४:४३ सोमबार