९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

सधैं आमाको सम्मान

अनुपा केसी, कक्षा: ८ 
बुढानिलकण्ठ स्कुल, काठमाडौँ । 
          
                                                  
मातातिर्थ औंसीका दिन आमाको मुख हर्ने चलन छ । यो दिन सबैले आमालाई सम्झने, माया गर्ने, मिठो खुवाउने र उपहार दिने गरिन्छ । कसैले प्रत्यक्ष आमाको दर्शन गर्छन् भने कसैले भिडियो कल र फोन गरेर शुभकामना बाँड्छन् । कति त आमाको फोटो हेरेर चित्त बुझाउँछन् । आमा नहुनेहरू नजिकैको तीर्थमा गएर आमालाई सम्झन्छन् । 

यसपाला वैशाख ११ गते परेको थियो आमाको मुख हेर्ने दिन । म बिहानै उठेर सरसफाई सकेर आमा भएको ठाउँमा पुगें । आमा सबेरै उठेर हाम्रो लागि मिठो चिया नास्ता बनाउनु हुन्छ । उहाँ भान्छामै हुनु हुन्थ्यो । 

‘ह्याप्पी मर्दस डे !’, मैले उहाँलाई अघिल्लो साँझ बनाएको शुभकामना कार्ड दिएँ । कोरोना भाइरसका कारण हामी सबै लकडाउनमा छौं । त्यसैले बजारमा गएर उहाँका लागि उपहार किन्न सकिएन । पोहोर त मैले उहाँलाई छाता र कुर्तासुरुवाल उपहार दिएकी थिएँ । 

बाहिरका पसलमा पकाइएका थरिथरिका मिठाइ किनेर ल्याउन पनि सकिँन । बरु घरमै आमाले सिकाउनु भयो रसबरी बनाउन । दूध फटाएर रसबरी बनाएँ । सुजीबाट लालमोहन बनाएर आमालाई खुवाएँ । 

‘सयौंसयौं जन्मसम्म आमा तिम्रै काख परोस म यो धर्र्तीमा हुँदासम्म आमा तिम्रै साथ मिलोस्’ भनेर ढोगिदिएँ । अनि आमाको सु–स्वास्थ्य र दीर्घायूको कामना गरें । आमाले पनि मलाई आशिबार्द दिनु भयो ।  

आमालाई जीवनभर सम्मानका साथ हृदयमा राख्नेछु । वास्तवमा हामीले वर्षमा एक दिन मात्र होइन, हरेक दिन आमाको सम्मान गर्नु पर्छ । जति सकिन्छ उहाँलाई समय दिनु पर्छ । 

परिवारलाई खुसी राख्ने, सन्तानलाई सत्कर्म सिकाउने ममताकी खानी आमालाई हामीले सधैं सम्मान गर्नु पर्छ । 

आफ्ना लागि बाँच्ने त धेरै हुन्छन् । अरुका लागि बाँच्ने केवल आमा हुन्छिन् । आमा जसले हामीलाई नौ महिना गर्भमा राखेर कयौ पिडा सहेर पनि यो संसार देखाउनु भयो । नौ धारा दूध चुसाउनु भयो । तीन वर्षसम्म आफ्नै काखमा राखेर हुर्काउनु भयो । पहिलो शब्द ‘आमा’ भन्न सिकाउनु भयो । तातेताते भन्दै हिँडाउनु भयो । 

मेरो जीवनको पहिलो गुरु आमा हुनुहुन्छ । आमासँग विताएका बालापनका क्षणहरू सम्झँदा पनि मिठो लाग्छ । हरेक गल्तिहरू माफ गरिदिनु हुन्छ आमा । सन्तानका हरेक इच्छा पुरा गरिदिनु हुन्छ आमा । सधैं अरुको भलो चाहने मेरी आमा साक्षात् देवी हुनु हुन्छ । भगवान खोज्न कतै जानु पर्दैन । आमाकै सेवा गरे पुग्छ । 

आफ्ना सन्तानको प्रगतीमै खुशी देख्ने आमा महान हुन्छन् । म बिरामी हुँदा आमा आफैं बिरामी भएको सम्झनु हुन्छ । संसारमा आफ्नो परिवारलाई सधैं खुशी राख्ने, उज्यालो छर्ने प्रकाश आमा नै हन् । जब म आमालाई छाडेर विद्यालयको होस्टलमा पुग्छु, हरपल उहाँकै याद आइरहन्छ । आमाको न्यानो स्पर्स सम्झिरहन्छु । 

लकडाउनका कारण यतिबेला हामी सँगै छौं । खुशी छौं । आमाको ममता कसैसँग तुलना हुनै सक्दैन । जतिसुकै महान व्यक्ति र बदमाश सन्तान पनि आमाको सामुन्ने झुक्छन् । हरेक आमा सन्तानको भलाई चाहन्छन् । 

हामीलाई आपत बिपत पर्दा पुर्काने शब्द पनि ‘आमा’ नै हो । त्यसैले हामी सबैले आमाको ममता बुझेर असल नागरिक भएर उहाँलाई खुशी बनाउनु पर्छ ।

प्रकाशित: १३ वैशाख २०७७ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App