७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

आत्मबल नै कोरोनाको भ्याक्सिन

विश्व कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लडिरहेको बेला सबै नागरिकलाई घरभित्रै बस्न आग्रह गरिएको छ । विश्व अर्थतन्त्र डामाडोल भएको छ । सबैजसो मुलुकको पर्यटन र आर्थिक क्षेत्र चौपट भएको बेलामा कोरोना कहरले मानिसको मनोविज्ञानमा  असर पारेको देखिन्छ । 

भारत,  अमेरिका, स्पेन, इटाली लगायत मुलुकले कोरोना भाइरसको  कहर खेपिरहेका छन् । नेपाल पनि कोरोनाविरुद्धको लडाइँमा  उपलब्ध साधन स्रोत परिचालन गरी होमिएको अवस्था छ । अरू मुलुकमा जस्तै संक्रमण फैलिए नेपालमा भयावह स्थिति सिर्जना हुने र यसले नेपालमा ठूलो क्षति गराउन सक्ने चिकित्सकको अनुमान छ ।  यस्तो बेलामा सामाजिक र मनोवैज्ञानिक अवस्था खलबल हुन नदिने र आत्मबल बढाएर बस्नुपर्ने चिकित्सकको सुझाव छ । चिकित्सकका अनुसार  आत्मबल र सकारात्मक  सोचाइ नै कोरोनाको भ्याक्सिन हो । त्रिवि शिक्षण अस्पतालका मनोचिकित्सक डा. सरोज ओझाले यस्तो बेलामा उत्पन्न हुने मानसिक अवस्थालाई बढी ख्याल गर्नुपर्ने बताउँछन् । उनले सामाजिक र मानसिक विचलन आउन नदिई सबै मिलेर महामारीलाई परास्त गर्न जुट्नुपर्ने बताए । ‘यो समयमा मानिस फाल्तु बस्नुपरेको छ । बाहिर हिँड्डुल र मनलाग्दी गर्न पाइँदैन, अरू उपाय पनि छैन । त्यसकारण, घरभित्रै बसी मन–मस्तिष्कलाई ताजा राख्न जरुरी छ,’ उनले भने । 

उनका अनुसार यतिबेला आफू र परिवारलाई सुरक्षित राख्नुको विकल्प नै छैन । तर, अरू बेला परिवारका लागि समय दिन नभ्याउनेलाई यो अवसर हो ।  स्वस्थ रहन घरभित्रै शारीरिक अभ्यास गर्ने, दिमाग ताजा राख्ने काम गर्ने, तनावबाट मुक्त हुने, अध्ययन गर्ने, चलचित्र हेर्ने, भलाकुसारी गर्ने, मन लागेको कुरा घरभित्रै बनाएर खाने जस्ता कार्य गर्न  ओझाको सुझाव  छ ।

यस्तो बेलामा बाहिर ननिस्कनु नै ठूलो उपचार हो । तोकिएको समयसम्म घरभित्रै बसियो भने कोरोना फैलिँदैन र  यसले क्षति पनि गर्दैन ।

लकडाउनको बेला  एकै ठाउँमा बसिरहेका मानिसले  आफूलाई जतिबेला पनि फ्रेस र खुसी राख्न आवश्यक रहेको मनोचिकित्सक डा.  कपिलदेव उपाध्यायले बताए । उनले यस्तो बेलामा छोराछोरीलाई असर नपर्ने गरी सम्झाई बुझाई गर्ने, अनावश्यक डर नदेखाउने जस्ता कार्य गर्न आवश्यक रहेको जानकारी दिए । त्यसो त यो भाइरसले जसको रोगसँग लड्ने क्षमता कम छ, त्यसैलाई बढी प्रभावित पार्ने भएकाले स्ट्रेस हर्मोन घटाउने, राति मात्रै सुत्ने, दिउँसो भलाकुसारी गर्ने, नकारात्मक समाचार नहेर्ने, आत्मबल बढाउने कार्य  गर्न उनको सुझाव छ । मनलाई सफा र सकारात्मक बनाउनु  कोरोनाको भ्याक्सिनसरह हुने उनको भनाइ छ ।

विपद् विज्ञ र चिकित्सकका अनुसार कोरोना भाइरसको महामारी नेपाल जस्ता मुलुकका लागि ठूलो विपत्ति हो । नेपालमा अहिले कोरोना भाइरसको दोस्रो चरण देखा परेको छ । कोरोना भाइरसको संक्रमण तेस्रो र चौथो चरणमा पुग्दा  सरकार र जनशक्तिले नधान्ने चिकित्सकको भनाइ छ ।

‘हामी अरू मुलुकजस्तो सम्पन्न छैनौं । यहाँ स्रोत र साधनको अभाव छ । हामीसँग पर्याप्त जनशक्ति छैन । यस्तो महामारीको बेला हामीले आफूलाई सुरक्षित राख्नु भनेको लकडाउनको पालना गर्नु नै हो,’ ध्यान तथा योग प्रशिक्षक डा. नम्रता पाण्डेले भनिन्, ‘यस्तो बेलामा बाहिर ननिस्कनु नै ठूलो उपचार हो । तोकिएको समयसम्म घरभित्रै बसियो भने यो रोग फैलिँदैन र  क्षति पनि गर्दैन ।’

 उनका अनुसार सरकारले लकडाउन गरेपछि भने मानिसलाई एकै ठाउँमा बस्न कठिन भइरहेको छ । तर, एकै ठाउँमा बसेर  आफूलाई व्यस्त राख्ने थुप्रै कामहरू गर्न सकिने डा. पाण्डेले बताइन् । उनले घरभित्रै व्यायाम गर्ने, पारिवारिक छलफल र मायाममता आदानप्रदान गर्ने, इन्टरनेट तथा कम्प्युटरबाट कार्यालयका काम गर्ने, अध्ययन गर्ने, ध्यान र योगा गर्ने जस्ता कार्य  गर्न सकिने जानकारी दिइन् । 

त्यस्तै, पारिवारिक रूपमै बसेर कुराकानी गर्दा एक्लोपन महसुस नहुने उनको भनाइ छ । ‘हामी नियममा घरभित्रै बस्यो, मानसिक अवस्थालाई खलबल हुन दिएनौं भने पुरानो अवस्थामा पुग्न कुनै समस्या हुँदैन ।  लकडाउनपछि यो बिस्तारै सहज हुँदै जानेछ । हामी काममा फर्कन सक्नेछौं,’ उनले थपिन् । 

सरकारले तीनपटक लकडाउन थप गरिसकेको छ । नयाँ संक्रमित थपिँदै जाँदा लकडाउन अनिश्चित देखिन्छ । तोकेको अनुशासन पालना गर्नु नै कोरोना संक्रमणबाट बच्नु हो । पाटन अस्पतालका मानसिक रोग विशेषज्ञ वासुदेव कार्कीले लकडाउनयता केही मानसिक रोगी बढ्ने अनुमान गरिएको बताए । उनले यस्तो समयमा परिवारले आफ्ना छोराछोरीलाई घरभित्रै बसेर ख्याल गर्नुपर्ने, उनीहरूलाई धेरै एकान्तमा बस्न दिन नहुने, पारिवारिक कुराकानी आदानप्रदान गर्ने, बाहिरी भय र हल्लाको पछि नलाग्ने जस्ता उपाय अपनाउन आवश्यक रहेको बताए । ‘अहिले मानसिक रोगीको संख्या थपिएको छैन । तर, केही बिरामी बढ्न सक्ने अनुमान गरिएको छ,’ उनले भने ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र समीरले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा  डर, त्रास तथा असुरक्षाको बादल मडारिएकाले सतर्क र सजगता अपनाएमा विकराल स्थिति नआउने बताए । उनले अरू मुलुकमा कोरोनाले भयावह स्थिति निम्त्याउँदा  नेपालमा ४२ जना (बुधबारसम्म) मात्र संक्रमित देखिनुलाईलाई डरको विषय नमान्नुपर्ने जानकारी दिए ।

‘इम्युनिटी पावर धेरै छ भन्नु अनुसन्धानको विषय हो । हामी सतर्क भयौं भने हिजोको अवस्थामा फर्कन अरू मुुलुकलाई जस्तो कठिन हुनेछैन,’ उनले भने । 

विपन्न वर्गलाई यतिबेला दैनिकी चलाउन असहज भएको छ । दिनभर काम गरेर साँझ–बिहान छाक टार्ने व्यक्तिको  दैनिकी अस्तव्यस्त भएको  छ । यस्तो बेलामा हुनेखानेले गरिब र विपन्नको सेवा गर्नुपर्ने बताउँछन्, सामाजिक अभियन्ता राज घिमिरे । उनले यस्तो विपत्ति बारम्बार सिर्जना नहुने भएकाले परेको बेला दुःखी र गरिबलाई सेवा गर्नुपर्ने बताए । ‘खानेकुरा तथा पैसा प्रशस्त हुनेलाई कुनै समस्या छैन । तर, विपन्न वर्गको  अहिले बिचल्ली भएको छ । त्यसकारण, उनीहरूलाई सहयोग गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित: ११ वैशाख २०७७ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App