१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

कोरोना महामारी र नेपाली मनोबल

सन् २०१८ नोभेम्बरमा अमेरिकाका व्यावसायिक पोकर बखेलाडी रिच अलातीले ३० दिनसम्म सम्पूर्ण रूपमा अँध्यारो कोठामा एक्लै बस्न सक्छु भनेर आफ्नै साथीसँग १ लाख अमेरिकी डलरको बाजी लगाए । फ्रिज र बाथरुम सुविधासहित एउटा कोठामा उनलाई फरक–फरक समयमा दैनिक खानाको व्यवस्था गरियो । तर उनी २० दिनभन्दा बढी त्यो अँध्यारो कोठामा टिक्न सकेनन्, उनले ६२ हजार ४ सय अमेरिकी डलर लिएर त्यो बाजी तोडे । 

यस्तै, अमेजनको जंगलमा एक्लै हप्तौंसम्म बाँच्न सफल इजरायली साहसिक यात्री तथा लेखक योसी घिन्सवर्गलाई जंगलमा हुँदा एकांकीपन सबैभन्दा बढी बिझेको थियो भने उनले एक्लै गफ गर्न काल्पनिक साथीसमेत बनाएका थिए । अन्टार्कटिकामा एक्लै अनुसन्धान क्रममा रहँदा एकांकीपन नै सबैभन्दा कठिन हुने गरेको अनुभव धेरै अनुसन्धानकर्ताको छ । 

उल्लिखित सबै उदाहरणले मान्छे एक्लै बस्न नसक्ने र कोभिड–१९ प्रकोपयता अपनाइएको आइसोलेसन तथा सामाजिक दूरी कायम गर्नेजस्ता विषय पनि मानव स्वभाव, व्यवहार र प्रकृति अनुकूल छैनन् भनेर प्रमाणित गर्छन् । सामाजिक प्राणी भएका कारण मानव जातिलाई आइसोलेसन थेग्न त्यति सजिलो छैन । प्रसिद्ध ग्रिक दार्शनिक अरिस्टोलले आफ्नो किताब ‘पोलिटिक्स’मा धेरै अघि भनेका थिए– ‘सामाजिक प्राणी भएकाले मानिस स्वाभाविक रूपमा एक्लै बाँच्न सक्दैन र ऊ बाँच्नका लागि आवश्यक  प्राकृतिक आवश्यकता पूरा हुनैपर्छ ।’ 

यथार्थमा रोग नियन्त्रण र सम्भावित महामारीबाट जोगिन यस्ता उपायले काम पनि गरिरहेका छन्, तर यसबापत मानवले अन्य मूल्य चुकाउनुपर्ने निश्चित छ ।

सामाजिक आइसोलेसनका कारण मानिसको दिमाग र शरीरमा प्रभाव पर्छ, जस्तै: निद्रामा गडबडी, दुःस्वप्न  अर्थात् हेलोसिनेसन एवं अन्य मानसिक बैचेनी । अमेरिकी पोकर खेलाडी अलाती यसका अपवाद बन्न सकेनन् । उनी १० दिन थप बस्न सकेका भए पूरै १ लाख डलरको बाजी मार्थे, तर त्यो निस्पट्ट अँध्यारो कोठामा उनी टिक्न सकेनन् । 

गत वर्ष डिसेम्बर अन्तमा चीनको उहानबाट सुरु भएको कोभिड–१९ को चपेटामा अहिले विश्व समुदाय नै रन्थनिएको छ । यो नयाँ तथा डरलाग्दो कोरोना भाइरसबाट यो लेख लेख्दासम्म विश्वका २५ लाख संक्रमित भइसकेका छन् भने पौने २ लाख व्यक्तिको ज्यान गइसकेको छ । यो महामारीका कारण यतिबेला विश्व नै ठप्प भएको छ । नेपाल पनि १ महिनायता बन्दाबन्दी (लकडाउन) मा छ । स्कुल, कलेज, कारखाना, यातायात सबै कुरा बन्द हुँदा जनजीवन पूरै ठप्प छ । यो रोगको उपचारका लागि निश्चित भ्याक्सिन र औषधिको निक्र्योल भइनसकेको अवस्थामा यसले गर्ने क्षति कति हुने र यसको प्रभाव कहिलेसम्म परिरहने हो, कुनै ठेगान छैन । 

महामारीको फैलावट रोक्न अहिले विश्वका सरकारले सम्भावित संक्रमितलाई क्वारेन्टिन, रोगीलाई अस्पतालका आइसोलेसनमा राखेर उपचार गरिरहेका छन् भने संक्रमण रोकथाम गर्न सामाजिक दूरी कायम गर्न भनिरहेका छन्, जसका कारण मानिस अहिले घरभित्रै सीमित भएका छन् । लकडाउनमा छन् र जीवनमा यसअघि कहिलै खेप्नु नपरेको संकटमा छन् । आम मानिसमा यतिबेला निराशा र डर दुवै छ ।  ठीकै हो, यो संक्रामक रोगबाट बच्न डर मान्नैपर्छ र डरले हामीलाई बच्न र बचाउन सजिलो पारेको वैज्ञानिक यथार्थ पनि छ । तर त्यसो हुँदाहँुदै पनि भाइरसको सम्भावित संक्रमण रोक्न अहिले अवलम्बन गरिएका लकडाउन, आइसोलेसन र सामाजिक दूरीजस्ता उपायले हाम्रो सामाजिक, आर्थिक तथा राजनीतिक जीवनलाई प्रभाव पारिरहेको छ र सँगसँगै मानसिक पाटो पनि यसबाट अछुतो रहन सकेको छैन । यथार्थमा रोग नियन्त्रण र सम्भावित महामारीबाट जोगिन यस्ता उपायले काम पनि गरिरहेका छन्, तर यसबापत मानवले अन्य मूल्य चुकाउनुपर्ने निश्चित छ । मानसिक स्वास्थ्ययमा पर्ने असरका दीर्घकालीन प्रभाव हुन्छन्, जुन कम आँक्न गर्न मिल्ने विषय होइन । 

एक नेपाली अध्ययन
नेपालको सन्दर्भमा हालै एक गैरसरकारी संस्थाले कोरोना भाइरसका कारण नेपालीमा परेको मानसिक प्रभावबारे अध्ययन गरेको छ । बहुसांस्कृतिक मनोसामाजिक संस्थाको प्राविधिक सहयोगमा अनुसन्धानकर्ताको एक समूहले गरेको १ हप्ता लामो सोसियल मेडिया सर्वेक्षणले १ हजार ६ सय १८ जनालाई सहभागी गराएको थियो । तीमध्ये २० प्रतिशतले भाइरस संक्रमणको सन्त्रासले बैचेनी बढेको, २४ प्रतिशतले डरको अनुभव गरेको, २४ प्रतिशतले चिन्ताले सताएको  र अर्का २४ प्रतिशतले उदासीनता अनुभव गरेको बताएका थिए । यस्तै अध्ययनले ४२ प्रतिशत उत्तरदाताले कम्तीमा एउटा र २६ प्रतिशतले बेचैनी, डर, चिन्ता, उदासीपन एवं दिक्दारीजस्ता दुई वा सोभन्दा बढी मनोसामाजिक समस्याबाट आफूहरू पीडित भएको उल्लेख गरेका थिए । यस्तै सो अध्ययनले आफ्नो निष्कर्षमा– कोभिड–१९ का कारण अन्य अवस्थामा भन्दा बढी मनोसामाजिक समस्या देखिएको र यस्तो बेला सरकार र सम्बन्धित निकायले आवश्यक कदम चालेर समयमै तिनलाई सम्बोधन गर्नुपर्ने देखिन्छ भनेर सुझाव दिएको छ । 

यस्ता अनपेक्षित घटनाक्रम र संकट झेल्न नेपालीको उच्च मनोबलले काम गरेको विभिन्न अध्ययनले देखाएका छन् । संकट र विपद्पछि पूर्वअवस्था ग्रहण गर्ने क्षमता अर्थात् रिजिलेन्सीमा नेपाली समाजको प्रशंसा अन्तर्राष्ट्रियस्तरमै भएको छ ।

नेपालमा मानसिक स्वास्थ्यका क्षेत्रमा लगानी अत्यन्त कम छ । त्यसो त कूल वार्षिक बजेटको १० प्रतिशत रकम स्वास्थ्यमा लगानी गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता हुँदाहँुदै पनि नेपालमा यसको मात्रा ४ प्रतिशत हाराहारीमा छ । अन्य नसर्ने र सर्ने रोगको रोकथाम र नियन्त्रणमा समेत प्रभावकारी हुन नसकेको नेपालको स्वास्थ्य प्रणाली अहिलेको कोभिड–१९ महामारीको रोकथाम, उपचार र परामर्श सेवामा कति कमजोर रहेछ भन्ने उजागर भएको छ । विशेषगरी प्राकृतिक विपद् र महामारीका बेला निश्चित उमेर समूह र आर्थिक वर्गका व्यक्ति अत्यधिक जोखिममा रहन्छन् । विपद्ले निश्चित जातजाति भन्दा पनि बढी वर्गीय हिसाबले गरिब र विपन्नलाई बढी आहत पु-याउँछ । 

वि.सं. २०७२ को महाभूकम्पपछि पनि बालबालिका, महिला तथा उमेर पुगेका प्रौढमा गहिरो मानसिक प्रभाव परेको थियो भने भूकम्पपीडित जिल्लामा ३ प्रतिशत गरिबी बढेको अनुमान गरिएको थियो । आफ्नो मानसिक स्वास्थ्यबारे सामान्यतया मानिस त्यति खुलेर कुरा नगर्ने भएकाले पनि यसको प्रभावको स्तर एकिन गर्न कठिन हुन्छ भने यस विषयमा त्यति धेरै अध्ययन पनि भएका छैनन् । त्यसो त नेपालमा मानव संशाधनका हिसाबले पनि मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने जनशक्ति अत्यन्त कम छ ।  नेपालम ३० जना लाइसेन्स लिएका मनोचिकित्साविद्, १५० को हाराहारीमा मनोचिकित्सक र करिब २ सय मनोविद् छन् । विकसित देशको तुलनामा यो जनशक्ति ज्यादै कम हो । जापानमा प्रत्येक २० जना र अमेरिकामा हरेक १२ जनाका लागि १÷१ मनोचिकित्सक रहेको विश्व स्वास्थ संगठनको तथ्यांकले देखाउँछ । 

चिनियाँ अनुभव
बेलायतबाट प्रकाशन हुने इकोनोमिस्ट पत्रिकाले उहानमा भएको कोरोना महामारीका बेला पनि कल सेन्टर, हेल्पलाइन र अनलाइन परामर्श सेवाले बिरामी तथा सर्वसाधारणलाई प्रभावकारी मनोवैज्ञानिक सेवा दिएको समाचार सार्वजनिक गरेको थियो । महामारी सुरु भएको पहिलो २ महिनामा भाइरससम्बन्धी आउने खबरको बाढीले भाइरसको उत्पत्ति भएको उहान सहरमा  लकडाउनले घरमै थुनिएका मानिसलाई अत्यधिक बैचैन बनाएको थियो । सरुवा तथा संक्रामक यो भाइरस कारण मानिस धमाधम बिरामी भइरहेको र कतिको मृत्यु भएको तथा कतिपयको जीवनयापनका सम्भावना सीमित हुँदै गएको समाचारले उहानमा मानिस डराइरहेका थिए । लकडाउनले  उहानका १ करोड १० लाख मानिस आफ्नै घरबाट सोसियल मेडियामार्फत भाइरस कसरी फैलिन्छ भन्ने विषयमा प्रवाह भइरहने सही र गलत सूचना प्रशोधन गर्न सकस महसुस गरिरहेका थिए । 

वास्तवमा यो रोगभन्दा बढी संक्रामक यसबारे जनमानसमा उत्पन्न भयंकर त्रास र बैचैनी बनेको थियो, इकोनोमिस्टको त्यो समाचारमा भनिएको छ । यस्तो बेचैन मानिसलाई मनोचिकित्साविद् तथा स्वयंसेवीले सही सूचना दिने, मनोवेज्ञानिक रूपमा बलियो बनाउने र उपचारका लागि उचित परामर्श दिने काम गरेको थिए ।  परामर्शदाताले श्वासप्रश्वासको अभ्यास, व्यवहारगत थेरापी, इन्टरपरसनल थेरापी र मांसपेशी रिल्याक्स गर्ने विधि सिकाउने गर्थे र आत्मबल उच्च राख्न तिनलाई अनुरोध गर्थे । उहानमा पछि गरिएका विभिन्न अध्ययनले कोभिड–१९ ले दिमागसँग सम्बन्धित स्नायुजन्य प्रभाव पारेको देखाएका छन् । यस्तै सोसियल मेडियामा यत्रतत्र हुने विभिन्न समाचार तथा सूचनाले मानिसलाई झन् बढी आतंकित पार्ने गरेको पनि पाइएको छ । 

चीनमा मात्र होइन, अन्य विभिन्न देशमा भएका  अध्ययनले पनि कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएका लकडाउन तथा आइसोलेसनले मानसिक स्वास्थ्यमा प्रभाव पारेको देखाएका छन् । अमेरिकाका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले विशेषगरी उपचारमा संलग्न स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक तथा दीर्घरोगी, बालबालिका तथा किशोरकिशोरी, लागुपदार्थ प्रयोगकर्तालगायत पहिलेदेखि नै मानसिक समस्या भएकाहरू बढी जोखिममा हुने बताएको छ । यो महामारीका कारण हुने मानसिक अस्वस्थताका लक्षण फरक–फरक हुन्छन् । मूल रूपमा भाइरस संक्रमणको निरन्तर डर, आफन्त एवं परिवारबारेको चिन्ता, निद्रामा कठिनाइ, नराम्रा÷नकारात्मक सोच आइरहनु, आत्तिनु, छटपटिनु, असुरक्षित तथा अनिश्चतता महसुस गर्नु, टाउको दुख्नु, रक्तचाप बढ्नु, शरीर दुख्नु, स्वास्थ्यमा अन्य समस्या भए झन् बढ्दै जानु, पाचन प्रणालीमा असर पर्नु, बढी रिस उठनु, धूमपान तथा मद्यपान एवं लागुपदार्थ प्रयोग गर्नु यसका प्रमुख लक्षण हुन् । 

बेलायतको स्वास्थ्यसम्बन्धी प्रसिद्ध जर्नल लान्सेटका अनुसार आयआर्जनका बाटा अवरुद्ध हुँदा र आर्थिक संकट बढ्दै जाँदा मानसिक स्वास्थ्यमा यसको प्रभाव झन् बढी हुने गर्छ । सन् २००३ को सार्स प्रकोपपछि हङकङमा गरिएको एक अध्ययनले ६५ वर्षभन्दा माथि उमेरका मानिसमा आत्महत्या दर ३० प्रतिशत बढेको, निको भइसकेका ५० प्रतिशत बिरामीमा बचैनी र २९ प्रतिशत स्वास्थ्यकर्मीमा संवेगात्मक समस्या भएको देखाएको थियो ।  यस्ता डरलाग्दो बिमारीबाट निको भएकामा आघातजन्य घटनापछिको तनाव अर्थात् पोस्ट टाउमाटिक डिसअर्डर एवं डिप्रेसन हुने जोखिम सधैं रहिरहने पनि अध्ययनले देखाएको थियो । महामारी समाप्त भएको ६ महिनापछि पनि १६ प्रतिशत मानिसलाई आघातजन्य घटनापछिको तनाव देखिएको थियो ।  

संकट झेल्न सक्ने नेपाली मनोबल
नेपालको सन्दर्भमा धेरैअघि पुग्नु पर्दैन । वि.सं. २०७२ महाभूकम्पमा ९ हजार नेपालीको ज्यान गयो भने लाखौं मानिस घरबारविहीन भए । त्यस्तो भयंकर आर्थिक, सामाजिक र व्यक्तिगत पीडा नेपालीले झेले । त्यस्तै त्यही वर्षको मध्यतिर भारतले गरेको अघोषित व्यापारिक नाकाबन्दीले पनि जनजीवन संकटमा प-यो । १० वर्षसम्म भएको माओवादी जनयुद्धमा १७ हजार नेपालीले ज्यान गुमाए । जसले राजनीतिक भन्दा पनि सामाजिक जीवनमा पारेको नकारात्मक प्रभाव बढी र दीर्घकालीन छ ।

यसो हुँदाहुँदै पनि यस्ता अनपेक्षित घटनाक्रम र संकट झेल्न नेपालीको उच्च मनोबलले काम गरेको विभिन्न अध्ययनले देखाएका छन् । संकट र विपद्पछि पूर्वअवस्था ग्रहण गर्ने क्षमता अर्थात् रिजिलेन्सीमा नेपाली समाजको प्रशंसा अन्तर्राष्ट्रियस्तरमा पनि भएको छ । १२ वर्षदेखि सामुदायिक मानसिक स्वास्थ्य क्षेत्रमा क्रियाशील मनोविद् डा. नरेन्द्र ठगुन्नाका अनुसार पश्चिमाको तुलनामा नेपाली आप्mना दुःख÷पीडा अरूलाई सुनाउने गर्छन् र जसबाट मानसिक स्वास्थ्य सुदृढ पार्न मद्दत पुग्छ । यस्तै एकअर्कालाई सहयोग गर्ने सहयोगी भावनाका कारण पनि संकटलाई सामूहिक रूपमा झेल्न नेपालीलाई समाज सक्षम छ । अर्काे कुरा, नेपाली– अध्यात्मिक पनि उत्तिकै छन्, जसले गर्दा संकटका बेला भगवान्को भजन–किर्तन गर्ने गर्छन्  र भगवान्प्रतिको प्रगाढ विश्वासले पनि रिजिलेन्सीमा सहयोग पु-याएको मानिन्छ । ०७२ को महाभूकम्पको चरणपछि प्रभावित जिल्लामा भौतिक तथा सामाजिक पूर्ननिर्माणमा यिनै कारणले बल पु-याएको थियो ।

कोभिड–१९ को सन्दर्भमा सामाजिक दूरी अर्थात् सोसियल डिस्ट्यान्सिङ कायम गर्ने भनिए पनि यो वास्तवमा भौतिक दूरी मात्र हो । मानिस आफ्ना, आफन्त र साथीभाइसँग सामाजिक सञ्जाल तथा टेलिफोनमार्फत संकट थेग्न संवेगात्मक तथा भावनात्मक रूपमा सम्र्पकमा छन् र यही कारण पनि नेपालमा कोभिड–१९ का कारण मानसिक स्वास्थ्यको स्थिति त्यति धेरै विकराल नभएको तर्क मनोविद्को छ । त्यसो त स्वास्थ्य तथा .जनसंख्या मन्त्रालयले स्थापना गरेको हटलाइनमा पछिल्ला दिनमा दिनहुँजसो आउने ५ सय कलमा सरदर १० प्रतिशत मानिसले मानसिक स्वास्थ्यसँग सम्बन्धित लक्षण देखाउन गरेको कलसेन्टरमा खटिएका अधिकारीको अनुमान छ । भाइरसको संक्रमणपछि उपचारबाट स्वास्थ्य–लाभ गरेकी नेपालको दोस्रो संक्रमित प्रसिद्धि श्रेष्ठले अस्पतालबाट बाहिरिँदै गर्दा रोग परास्त गर्न रोगीलाई भेदभाव होइन, परिवार तथा  समाजको सहयोग चाहिने बताइरहेकी थिइन् । उनले भनेझैं सहयोगी र सहृदयी वातावरणले रोग परास्त गर्न सहयोग गर्छ, घृणा र बहिष्करणले होइन । 

प्रसिद्धिले भनेझैं ‘न्यु इगल्यान्ड जर्नल अफ मेडिसिन’  जर्नलमा हालै प्रकाशित लेखमा पनि भाइरसको संक्रमण उपचार प्रणालीसँग बिरामी, स्वास्थ्यकर्मी र आम नागरिकलाई मनोवैज्ञिानिक सहयोग चाहिन्छ र संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सामाजिक–मनौवैज्ञानिक विषयमा पनि शिक्षा र प्रशिक्षण दिन आवश्यक छ । यसैगरी यो आपत्कालीन समयमा गठन गरिएका र सक्रिय रहेका विभिन्न समितिले  मिलेर मानसिक स्वास्थ्यबारे प्रमाणमा आधारित विपद् सञ्चार रणनीति बनाउनपर्ने हुन्छ । मानसिक स्वास्थ्यमा काम गर्ने व्यवसायीले प्रभावकारी सन्देश निर्माणमा सहयोग गर्न सक्छन् । हामीले वैज्ञानिक तथ्यलाई अंगीकार गर्नुपर्छ र सही जानकारी हुँदा रोगबारेको डर कम हुन जान्छ । चिनियाँ अनुभवले के देखाएको छ भने कोभिड–१९ का सय बिरामीमध्ये ८० जना त घरमै निको हुन सक्छन् । बाँकी १६ प्रतिशत बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ र मात्र ३–४ प्रतिशत संक्रमितलाई मात्र सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने हुन्छ । त्यसैले आत्तिनुभन्दा होसियार हुनुपर्ने र रोगको उपचारभन्दा पनि फैलावट र संक्रमण रोक्न राज्य, स्वास्थ्य सेवा प्रणाली र समग्र समाजको ध्यान जानु अत्यन्त महत्वपूर्ण छ । 

मानसिक तनाव घटाउने तरिका
भाइरस संक्रमणबारे सोसियल मेडियामा र आमसञ्चार माध्यममा लगातारजसो आउने समाचारले हामीलाई झन् निराश र बेचैन बनाउँछन्, त्यसैले यिनको प्रयोग घटाउनुपर्छ । यस्तै सन्तुलित भोजन, नियमित व्यायाम, मस्त निद्रा तथा अल्कोहल र लागुपदार्थको सकेसम्म प्रयोग नगर्ने नगर्दा शरीरलाई सहयोग पुग्छ । यस्तो बेला सकारात्मक सोच राख्न आवश्यक छ । आफन्तजन र साथीभाइसँग मनका कुरा र आफ्ना सोच व्यक्त गर्नुपर्ने सुझाव विज्ञको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ कुनै भूगोल, जातजातिसँग सम्बन्धित छैन भनेर बारम्बार भनिरहेको छ । तसर्थ संक्रमितलाई सहानुभूति आवश्यक छ, घृणा होइन । यस्तै संगठनले आफूलाई सुरक्षित राख्न र स्वास्थ्यकर्मीलाई सम्मान गर्न जोड दिइरहेको छ । यस्तो संकटका बेला तनाव हुनु स्वाभाविक भएको तर यसको व्यवस्थापन आवश्यक रहेको संगठनले जनाएको छ । क्वारेन्टिन क्षेत्रमा काम गर्ने सबैले क्वारेन्टिनमा बसेकालाई कसरी संवेगात्मक तथा व्यावहारिक सहयोग गर्न सकिन्छ भन्ने कुरामा प्रशिक्षित हुन जरुरी छ । यस्तो बेला बालबालिका र पाका उमेरका मानिसको विशेष हेरचाह आवश्यक हुन्छ नै । विशेषगरी उमेर ढल्किएका जो बिर्सने रोगबाट ग्रस्त हुन्छन्, बढी जोखिममा हुन्छन्, उनीहरूको विशेष ख्याल गर्नुपर्ने हुन्छ भन्ने कुरामा विश्व स्वास्थ्य संगठनले जोड दिएको छ । 

निष्कर्ष
अमेरिकाबाट प्रकाशन हुने टाइम पत्रिकाको एक लेखमा लेखक तथा इतिहासविद् युवल हरारीले भनेका छन्– अहिलेको संकट मानवताभित्रको संकट हो । आपसी अविश्वास र अनेकतामा मानव जेलिने हो भने यो (कोरोना महामारी) युद्धमा भाइरसको विजय हुनेछ । जब मानिस आफ्नै कारणले लरखराउँछ, भाइरस बौरिन्छ । आपसी सहयोगले अहिलेको संकट मात्र होइन, भविष्यमा आउन सक्ने कुनै पनि संकट सामना गर्न मानव जाति सफल हुनेछ ।’ 

हरारीले भनेझै मानसिक स्वास्थ्यको विषय एउटा विस्तारै झागिदै जाने र दिर्घकालीन प्रभाव पर्ने विषय हो । विपद र महामारीले हाम्रो मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई समयमै सम्बोधन गर्दा जोखिम र खर्च दुवै कम हुन जान्छ । त्यसैले राज्य, स्वास्थ्य प्रणाली र समग्र समाजको ध्यान भाइरस नियन्त्रणको प्रमुख जिम्मेवारी सगैै यस्ले निम्त्याउने मानसिक स्वास्थ र मनोवैज्ञानिक पक्षलाई पनि उत्तिकै ध्यान दिन आवश्यक छ । सम्वद्ध सबैले उच्च मनोबलका साथ आ(आफ्नो भुमिका निर्वाह गरौ । 

प्रकाशित: ११ वैशाख २०७७ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App